युद्ध कथालाई अवार्ड

बिहिबार, २३ कार्तिक २०७४, १२ : ३२ शुक्रवार
युद्ध कथालाई अवार्ड

ललितपुरमा सम्पन्न एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रुपमा बेस्ट फिल्म अवार्ड हात पारेका छन् । भारतीय निर्देशक तुषार माधव र सार्भनिक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’ तथा श्रीलंकाली निर्देशक जुड रत्नमले निर्देशन गरेको ‘डेमोन्स इन प्याराडाइज’ले संयुक्त रूपमा उक्त अवार्ड जितेको हो । दुई हजार अमेरिकी डलर राशिको यो पुरस्कार दुवै फिल्मले दामासाहीमा बाँडेका छन् ।
समापन समारोहमा फिल्म ‘सोजः ए ब्यालेड अफ मालाडिज’ले संगीतको माध्यमबाट हेरिएको कस्मिर द्वन्द्वलाई र ‘डेमोन्स इन प्याराडाइज’ले अढाई दसकको श्रीलंकाली गृहयुद्धलाई समीक्षात्मक रूपमा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा स्टाजिन दोर्जाई र क्रिस्टियन मोर्डेलेटले निर्देशन गरेको भारतीय फिल्म ‘सेफर्ड अफ ग्लासियर्स’ले एक हजार अमेरिकी डलर राशिको ‘फस्ट रनर अप’ पुरस्कार सुरक्षित ग¥यो । भारतीय प्रख्यात शास्त्रीय गायक उस्ताद अब्दुल रसिद खानको कथा पेश गर्ने फिल्म ‘रसन पिया’का लागि निर्देशक निहारिका पोप्लीले एक हजार अमेरिकी डलर राशिको ‘तारिक मसुद बेस्ट डेब्यु फिल्म अवार्ड’ चुम्यो ।
साथै, युनिसेफको प्रायोजन रहेको ‘बेस्ट फिल्म अन चिल्ड्रेन अर सोसियल इस्यु’ को अवार्ड भारतीय निर्देशक चन्द्रशेखर रेड्डीको फिल्म ‘फाइर फ्लाइज इन द एबिस’ प्राप्त ग¥यो । सो फिल्मले एक हजार अमेरिकी डलर पुरस्कार पोल्टामा पा¥यो । त्यसैगरी म्यानमारका साइन खामले निर्माण गरेको फिल्म ‘३२ सोल्स’ले पाँच सय अमेरिकी डलर पुरस्कारसहितको ‘द बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ पायो ।
फिल्म साउथ एसियाका निर्देशक कनकमणि दीक्षितले उच्च गुणस्तरमा बनाइएका दक्षिण एसियाली नन फिक्सन वृत्तचित्र दर्शकका लागि खुल्ला दृश्यावलोकनको माध्यम बनेको बताए । ‘यी फिल्महरू एसियाली उपमहाद्विपमा हुने घुमन्ते फेस्टिभलमा देखाइनेछ । त्यहाँका दर्शकका नजरमा पनि यी सिर्जना अवश्य पर्नेछन्,’ उनले भने ।
फेस्टिभलकी निर्देशक मितु वर्माले वृत्तचित्र हेर्न आएका दर्शकहरूले अर्को वर्ष पुनः वृत्तचित्र हेर्न आउने कुरा बताउँदा आफूलाई खुसी लागेको जनाइन् । ‘काठमाडौंका दर्शक महान् छन् । हामीले अन्य दक्षिण एसियाली मुलुकमा घुमन्ते फेस्टिभल गर्दा पनि यति धेरै दर्शक देखेका थिएनौं,’ उनले भनिन्, ‘दक्षिण एसियाली वृत्तचित्रको सहभागिताको लहरले पनि नयाँ हौसला दिएको छ ।’
भारतीय पत्रकार शशि कुमारले उद्घाटन गरेको मेलाको जुरीमा ‘नेपाली टाइम्स’का सम्पादक कुन्द दीक्षित, पाकिस्तानी फिल्मकर्मी फरजाद नबी र भारतीय पत्रकार राजाश्री दासगुप्ता थिए । फिल्म साउथ एसियामा सहभागिताका लागि तीन सय वृत्तचित्रले आवेदन दिए पनि निर्णायक समितिले ६३ वटा मात्र वृत्तचित्रलाई छनोट गरेको थियो । जसमध्ये ४५ वृत्तचित्र पुरस्कारका लागि प्रतिस्पर्धी थिए ।
मेलामा विद्यार्थीहरूले निर्माण गरेका ‘सोल्स’, ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भेम्पायर्स’,‘ड्रिम्स अफ वेल्स’ र ‘पोइन्ट एन्ड सट’ सँगै गैर विद्यार्थीले बनाएका ‘डटर्स अफ द कभ्ड मुन’, ‘लास्ट डेः लास्ट सट’, ‘होली काउ’, ‘क्याम्पस राइजिङ’, ‘हिमालयन रेफ्युजी’, ‘श्रीलंका, गोस्ट अफ वार’, ‘सवारी’, ‘द सिनेमा ट्राभलर्स’, ‘अफगानिस्तान नाइट स्टोरिज’, ‘मेसिन्स’, ‘वोर्कस् भोइस’ र ‘हस्पिटल’ लगायतका वृत्तचित्र प्रदर्शन गरिएका थिए ।

 

Leave A Comment