२ सयको पेसिन्जर बोक्दा ५ सयको चिट

मङ्गलबार, २१ कार्तिक २०७४, ०१ : १३ शुक्रवार
२ सयको पेसिन्जर बोक्दा ५ सयको चिट

चालक बिक्रम लामा,चालक

(जोरपाटी)                                                                                                         

गुरुजी सन्चै हुनुहुन्छ ?
आरामै छु ।
घर कहाँ पर्यो नि ?
मेरो घर काभ्रे हो ।
राजधानी आउनु भएको कति भयो ?
भयो आठ दस वर्ष  ।
अनि ट्याक्सी चलाउन थाल्नु भएको कति भयो ?
तीन/चार वर्ष जति भो ।
ट्याक्सी आफ्नै हो कि साहुको ?
आफ्नै हो ।
उसो भए कमाइ त राम्रै होला ?
ठीकै छ । परिवार पाल्न सुखदुःख पुगेको छ भन्नु पर्यो ।
ट्याक्सी चलाउनुभन्दा पहिला के गर्नु हुन्थ्यो  ?
म होटलमा कुकको काम गर्थें । कुकको काम छोडेर अहिले ट्याक्सी चलाइरहेको छु ।
कुक चाहिँ किन छोड्नु भयो ? तलब त राम्रै थ्यो होला त ?
ठूलो स्टार होटलमा भएको भए हुन्थ्यो होला । आफू त सानो होटलको कुक परियो । ठूलोमा जान सोर्सफोर्स चाहिँदोरहेछ । त्यो सोर्स लगाइदिने कोही थिएनन् । त्यसैले कम आम्दानी हुने ठाउँभन्दा ट्याक्सी चलाउनु नै ठीक लाग्यो ।
ट्याक्सी चालकले त मनपरी भाडा लिन्छन् भन्ने आरोप छ नि ?
एउटा खराब मान्छे भो भनेर सबैलाई दोष त मिल्दैन नि हैन ? मिटरमा जति उठे अनुसारको त लिनु हो । त्योभन्दा माथि अहिलेसम्म कसैलाई मागेको छैन ।
तपाईहरुका लागि अहिले मुख्य समस्या के छ ? कि समस्यै छैनन् ?
समस्या छ नि, किन नहुनु ? ट्राफिकको समस्या छ । पेसेन्जर जहाँ भेटिन्छ त्यहीँबाट उठाउने व्यवस्था छ । ट्याक्सीको आफ्नो स्टेसन छैन । २ सयमा पेसिन्जर लिएर हिँडेको होइन्छ, ट्राफिकले ५ सयको चिट काटिदिन्छ ।
ट्याक्सी व्यवसायीको हितका लागि काम गर्ने संस्था र ट्राफिकसँग गुनासो गर्नुभएको छैन ?
कुरा गरेर के गर्नु ? सुनुवाई नै हुँदैन ।
यस्तो हुँदा विदेश जाउँजस्तो लाग्दैन ?
लाग्दैन । यहीँ केही गरौँ भनेर बसेको मान्छे । विदेश त सोच्नै हुँदैन नि !
यो लाइनको रमाइलो पक्ष के होला ?
घुम्न जान पाइन्छ । यही त हो, अरु के हुनु र ?
तपाईं फुर्सदको समयमा के गर्नुहुन्छ ?
म गीत संगीत सुन्छु, फिल्म हेर्न जान्छु ।
कस्ता कस्ता गीत संगीत सुन्नुहुन्छ ?
म सबै खाले गीतसंगीत सुन्छु । मन छुने खालका ।
पछिल्लो समय कुन फिल्म हेर्नु भयो ?
‘छक्का पञ्जा २’ र ‘रुद्रप्रिया’ ।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment