खेलाडीको खडेरीमा पूर्वाञ्चल

आइतबार, १९ कार्तिक २०७४, १२ : २६ शुक्रवार
खेलाडीको खडेरीमा पूर्वाञ्चल

चुमन बस्नेत/विराटनगर
नेपाली फुटबल जगतमा पूर्व क्षेत्रले विशेष महŒव बोकेको छ । फुटबल खेलाडीको उर्वर क्षेत्र भनेर पूर्व क्षेत्रलाई चिन्ने गरिन्थ्यो तर पछिल्लो समय यस क्षेत्रमा कुनै ठूला खालका प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट वञ्चित हुँदै आएको छ ।
पूर्व क्षेत्रमा विशेष गरेर मोरङ, झापा र सुनसरीलाई फुटबल खेलाडीको उर्वर क्षेत्र मानिथ्यो । त्यसमा पनि मोरङले छुट्टै पहिचान ओगटेको छ । नेपालको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने टोलीमा अधिकांश खेलाडी मोरङका रहेका थियो । त्यस इतिहासलाई कायम गर्दै अहिलेसम्म पनि राष्ट्रिय टोलीमा मोरङका खेलाडी पर्ने गरेका छन् ।
फुटबल खेलको विकास गर्ने जिम्मा बोकेर स्थापना भएको अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको राजनैतिक खिचातानीले गर्दा पूर्वमा खेल विकास होइन कि आफ्नो पद टिकाउने र फाइदा लिने कसरत गर्दा खेल विकास हुन सकेको छैन । एन्फाले जसरी काठमाडौँमा जुन गतिमा फुटबलको विकास गरेको छ, उपत्यका बाहिरका जिल्लामा विकासका त्यो गति चल्न नसक्दा भने जस्तो खेलाडी उत्पादन हुन छाडेको छ । एन्फाले उपत्यकाभित्रका ठूला र साना क्लबलाई जसरी च्यापेर हिँडेको छ, बाहिरी जिल्ला र त्यहाँका क्लबका कुरा नगरौं, ता कि स्वंय जिल्ला फुटबल संघलाई समेत त्यहाँका क्लब जस्तो सेवा सुविधा दिएको छैन ।
कुनैै समय फुटबलको क्षेत्रमा अब्बल खेलाडी दिएको मोरङ यतिबेला खेलाडीको खडेरी नै देखापरेको छ । फुटबलमा मोरङका खेलाडीको दबदबा नै थियो । मोरङले फुटबल क्षेत्रलाई विष्णु बराल, अमर थापा मगर, देवनारायण चौधरी, पारस चौधरी, दीपक राई, भरत खवास, विजय धिमाल, रजिन धिमाल लगायतका धेरै उत्कृष्ट खेलाडी दिएको छ । तर, पछिल्लो समय मोरङमा खेलाडीको अभाव देखिएको छ । प्रतियोगिता र प्रशिक्षणको अभावमा खेलाडी अभाव देखापरेको हो । खेलाडी अभाव हटाउन र खेल क्षेत्रमा भविष्य देख्ने गाउँका बालबालिका तथा युवाहरुलाई अवसर जुटाउन मोरङको बेलबारीस्थित एम्ब्रीयो युवा क्लबले राधा नगरमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको छ । क्लबले पहिले पनि एकेडेमी चलाएको थियो ।
एकेडेमीबाट विभिन्न उमेर समूह र सिनियर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको क्लबका संस्थापक अध्यक्ष रवीन थापाले बताए । आर्थिक अभावमा एकेडेमीलाई निरन्तरता दिन नसकेको बताउँदै, अब निरन्तर रुपमा एकेडेमी सञ्चालन गर्ने र खेलाडी उत्पादन गर्ने बताए । ‘१० वर्षअघि एकेडेमी चलाएका थियौं, त्यसबाट केही ‘ए’ डिभिजन र १४ वर्षमुनिका राष्ट्रिय खेलाडी तयार पार्न सफल भयौं,’ थापाले भने, ‘उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका छन् । हामीले आर्थिक र प्राविधिक सहयोग कतैबाट पाएनौं र हामीसँग त्यसबेला भएको साधन स्रोतबाट सकुञ्जेल चलायौं । २०७४ वैशाखबाट फुटबल एकेडेमी सञ्चालनमा पुनः ल्याएका छौं ।’ अहिले पनि क्लबलाई बाहिरी सहयोग नआए पनि, स्थानीय साधन स्रोतको प्रयोग गरेर एकेडेमीलाई निरन्तरता दिने गाउँले कसिएपछि सञ्चालन गरेको थापाले बताए । एकेडेमीको मुख्य उद्देश्य युवालाई कुलत, विकृतिविसंगतीबाट बचाउँदै खेलकुदको माध्यमबाट राष्ट्रको गरिमालाई उच्च राख्ने तथा युवालाई सकारात्मक सोचबाट गाउँको विकास र परिचय तथा पर्यटन प्रर्वद्धन विकासका लागि खेलकुद एकेडेमी सञ्चालन गर्ने गरेको थापाले बताए ।
राष्ट्रिय खेलाडीहरुले एकेडेमीको अवलोकन गर्दै यस्ता खालका एकेडेमीले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अवसर र प्रशिक्षण नपाउँदा क्षमता भए पनि गाउँस्तरका खेलाडीले खेल क्षेत्रमा आफ्नो पहिचान बनाउन नसकिरहेको अवस्थामा गाउँ–गाउँमा एकेडेमी सञ्चालन हुँदा उत्कृष्ट खेलाडी उत्पादन हुने बताए ।
२०५१ सालमा स्थापना भएको क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीबाट विक्रम लिम्बू, नवीन गुरुङ, छिरिङ लामा, अरुण लिम्बू लगायतका खेलाडी उत्पादन गरेको छ । अहिले एकेडेमीमा २५ जना युवाहरुले नियमित प्रशिक्षण गरिरहेको भए पनि छिट्टै महिला खेलाडीलाई ल्याउने सोच रहेको क्लबले जनाएको छ ।

चर्चित खेलाडीको सुझाव
राष्ट्रिय खेलाडी विमल घर्ती मगरले भने, ‘राम्रो अवसरको सदुपयोग गर्न सिक्नु पर्छ । सधैं अवसर आउँछ भन्ने छैन । एकेडेमीमा बस्न पाउनु एउटा राम्रो कुरा हो, यो अवसर सबैले पाउँदैनन् । एकेडेमीमा बस्ने तिमीहरुले ट्रेनिङमा विशेष ध्यान दिनु पर्छ । तिमीहरुले राम्रो कोच पाएका छौ । उहाँ राम्रो खेलाडी हो र धेरै खेल खेलेर अनुभव बटल्नु भएको छ । अब देशलाई चाहिने राम्रो खेलाडी तिमीहरु नै हो । राम्रो खेल प्रर्दशन गर्न सक्यो भने देशमा मात्र होइन कि अन्तर्राष्ट्रिय जगतमा पनि आफनो नाम प्रख्यात गर्न सक्छौ । धेरै मिहिनेत, लगनशील र अनुशासित हुँदै खेल्न जरुरी छ । एकेडेमीले मात्र सबै कुरा पु¥याउन गाह्रो हुने भएकाले आफनो अभिभावकलाई आफूलाई चाहिने खानेकुरादेखि अन्य कुरामा ध्यान दिन आग्रह गर्नु पर्छ ।’
त्यस्तै अर्का चर्चित खेलाडी अन्नत तामाङले भने, ‘म पनि तिमीहरु जस्तै नै सानो थिएँ । मैदानमा ठूला दाइहरुले फुटबल खेलेको देखेर मलाई खेलुँ खेलुँ लाग्थ्यो । टिभीमा हेर्दा र दाइहरुले खेलेको देख्दा मलाई पनि त्यो ठाउँमा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने सधैँ लागि रहन्थ्यो । फुटबल मात्र होइन कुनै पनि कुरामा लक्ष्य लिएर अघि बढ्नु पर्छ अनि मात्र सफल हुइन्छ । त्यही भएर फुटबल खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्दा खेललाई राम्रोसँग ध्यान दिने, मिहिनेत, अनुशासनलाई पालन गर्नु जरुरी हुन्छ । म पनि एउटा लक्ष्य लिएर हिँडेकाले अहिले यो ठाउँसम्म आउन सके । भाइहरुले पनि मैदानमा छिरेपछि खेललाई मात्र ध्यान दिनु पर्छ । राम्रो खेल्न सक्यो भने यहाँ मात्र होइन विदेशी क्लबले लैजान्छ ।’
 राष्ट्रिय खेलाडी सुजल श्रेष्ठले भने, ‘म पनि तिमीहरुजस्तै एकेडेमीमा बसेर फुटबल खेल्न जान्ने भएँ । तिमीहरुले पनि राम्रोसँग ध्यान दिएर खेले पछि राम्रो प्येलर बन्न सक्छौ । खेलको साथै पढाइलाई पनि ध्यान दिनु पर्छ । दुवै चिजलाई बराबरी लैजान सक्यौ भने राम्रो हुन्छ । आफ्नो खानपान, रहनसन र ध्यानलाई केन्द्रीत गरेर राम्रोसँग अघि बढ्नु पर्छ ।’

Leave A Comment