पोर्न कत्तिको खराब ?

आइतबार, १९ कार्तिक २०७४, १२ : ०३ शुक्रवार
पोर्न कत्तिको खराब ?

जेसिका ब्राउन, बिबिसी फ्युचर
संसारभरि नै खानपिनदेखि लिएर भाषासम्म हेर्ने हो भने मानिसहरु फरक देखिन्छन् तर केही यस्ता कुरा छन्, ती हेर्दा भने मानिसको तात्विक भिन्नता भने छैन भन्न करै लाग्छ ।
यस्तोमा पोर्न पनि एउटा यस्तै विषय हो । यसको प्रयोग संसारभरि नै व्यापक रुपमा हुन्छ । तापनि समाजले यसलाई उति राम्रो मान्दैन । चाहे त्यो अमेरिकामा होस्, युरोपमा होस् या नेपालमा नै किन नहोस् ।
अमेरिकी राज्य युटाहमा एक जना नेताले पोर्न सामाजिक स्वास्थ्यका लागि खतरा भएको प्रतिक्रिया दिनु यसैको एउटा उदाहरण हो । नेपालमा त पोर्नलाई अपराध नै ठानिन्छ । उसो भए पोर्नका के के खराबी होलान् त, एक्कैछिन छलफल नै गरौँ न !
१. पोर्नले अपराध बढाउँछ ?
हिंसक यौन अपराध भएपछि जहिले पनि अपराधीले पोर्न हेर्ने गरेको कारणले यस्तो भएको भनी टिप्पणी गर्ने गरिन्छ । उसो भए बलात्कार तथा यौन अपराधलाई बढावा दिन पोर्न भिडियोको भूमिका हुन्छ त ?
सन् १९७० मा कोपेनहेगन विश्वविद्यालयका प्राध्यापक बर्ल कचिन्स्कीले साठ्ठीको अन्तिम तथा सत्तरीको सुरुवाती दशकमा डेनमार्क, स्विडेन र जर्मनीमा पोर्नमा लगाइएको प्रतिबन्ध हटाएपछि भएका यौन अपराधका बारेमा अध्ययन गरेका थिए ।
प्राध्यापक कचिन्स्कीले यौन अपराध र पोर्नमा कुनै पनि किसिमको सम्बन्ध नपाइएको बताएका थिए । यति मात्र होइन, त्यस बेला बलात्कार र बाल यौन शोषणजस्ता यौन अपराधमा निकै कमी पाइएको थियो ।
२. पोर्न हेर्नेहरुले महिलालाई भोगको वस्तु मान्छन् ?
सन् १९९५ मा मानिसहरुबीच बलात्कार तथा यौन हिंसालाई लिएर सोच्ने शैली र पोर्नका बीच सम्बन्ध के हुन सक्ला भनी ४ हजारभन्दा बढी मानिसमाथि अध्ययन गरिएको थियो । यी व्यक्ति २४ वटा बेग्लाबेग्लै देशबाट छनोट गरिएको थियो ।
यस अध्ययनमा बलात्कारसँग जोडिएको सोचको स्तर जान्ने प्रयास गरिएको थियो । अध्ययनमा सहभागी मानिसहरुलाई केही विशेष प्रश्न सोधिएको थियो । जस्तो, ‘कुनै महिला आफ्नो पहिलो भेटमा नै कुनै पुरुष साथीको घर या फ्ल्याटमा गई भने यसको अर्थ ऊ यौन सम्बन्धका लागि तयार हुन्छे ?’ अध्ययनमा सहभागीहरुमध्ये जो पोर्न फिल्म हेर्थे, उनीहरु भने तयार नहुने बताइरहेका थिए । जबकि पोर्न फिल्म नहेर्नेहरु भने यस कुरामा सहमत देखिएका थिए ।
पोर्न (यौन चलचित्र) को अर्थ
पछिल्लो समय पोर्न सामग्रीहरु हिंस्रक हुँदै जान थालेको केहीको धारणा छ । यसको असर मानिसको दैनिकीमा पर्न थालेको केही बताउँछन् । जस्तो कि पछिल्लो समय सर्वसाधारणको ओछ्यानमा हुने यौन गतिविधि पनि हिंस्रक हुन थालेको केहीको दाबी छ ।
पोर्न डकुमेन्ट्रीमा आबद्ध एक जना अनुभवी पोर्न स्टार भन्छन्, ‘१९९० ताका पोर्नको अर्थ सामान्य यौन सम्बन्ध मात्र हुन्थ्यो ।’ त्यसपछिको एक दसकमै पनि पोर्न भिडियोहरुमा यातनाका कुराहरु ह्वात्तै बढेको छ । सन् २०१० मा शोधकर्ताहरुले ३०० पोर्न भिडियो अध्ययन गरेर के पत्ता लगाए भने ८८ प्रतिशत भिडियोहरुमा शारीरिक रुपमा बल प्रयोग गरिएको पाइयो ।
पोर्न र यौन हिंसा
यौन सम्बन्धमा बल प्रयोग गर्ने पात्रहरुमा अधिकांश पुरुषले महिलामाथि आफ्नो शक्ति प्रदर्शन गरेको देखाइएको हुन्छ । यति मात्र होइन, सामान्यतः महिला पोर्न स्टारहरुले बल प्रयोग गर्दाका बेला आनन्दको अनुभूति गरेको वा तटस्थ भावले त्यसलाई स्वीकारेको देखाउने गरेको छ ।
सन् २००९ मा भएको ८० भन्दा बढी अध्ययनहरुको समीक्षाले के देखाएको छ भने पोर्नको प्रयोग र हिंसाका बीच यौन सम्बन्ध राख्ने निकै कम देखिएका छन् । यसका साथै यसबारे आएका जति पनि निष्कर्ष छन्, ती निष्कर्ष मिडिया र राजनीतिक नेताहरुले बढाइचढाइ पेस गर्ने गरिएको छ । यी अध्ययनमा समीक्षकहरुले लेखेका छन्, ‘अब समय आइसकेको छ, पोर्नोग्राफीले यौन हिंसा बढाउन सहयोग पु¥याइरहेको छ भन्ने निष्कर्षलाई खारेज गर्ने बेला आइसकेको छ ।’
पोर्न सामग्री
क्यालिफोर्निया विश्वविद्यालयको समाजविज्ञानका प्राध्यापक नील मलेमथले पोर्न र यौन हिंसामाथि केही अध्ययन गरेका छन् । मलेमथले ३०० पुरुषहरुमा गरेको अध्ययन के पाए भने, कुनै यौन आक्रामकता भएको पुरुषले सोही किसिमको भिडियो बढीभन्दा बढी हेर्ने गरेको छ भने उसले पनि यौन सम्बन्धका बेला आक्रामकता देखाउने सम्भावना बढीभन्दा बढी हुन्छ ।
तर मलेमथले सन् २०१३ मा बिबिसी रेडियो ४ मा कुरा गर्दै भनेका थिए, ‘पोर्न सामग्री हेर्नु रक्सी पिउनुजस्तै खतरनाक होइन । जो मानिस पहिलेदेखि नै यौन रुपमा आक्रमक छ, उसले त्यस्तै खालको भिडियो हेर्नु भने खतरनाक हुन सक्छ ।’
३. पोर्नले तपाईंको सोच्ने शक्ति खियाउँछ ?
सन् २०१४ मा भएको एउटा अध्ययनअनुसार बढी पोर्न हेर्ने मानिसको आनन्द अनुभूत गर्ने दिमागी अंश स्ट्रिएटम खुम्चन सक्छ । त्यस्ता मानिसले पछि यौन आनन्द लिन वा यौनमा सक्रिय हुनका लागि दृश्य हेर्न आवश्यक पर्न सक्छ भन्ने भ्रम थियो ।
अध्ययनकर्ताहरुले भने यस किसिमको भ्रमको कुनै प्रमाण फेला पार्न सकेनन् । लगातार र बढीभन्दा बढी पोर्न हेर्ने मानिसमा खुम्चिएको स्ट्रिएटम त पाइएन नै खुम्चिएको एस्ट्रिएटमको मूल कारक पोर्न नै हो भन्ने प्रमाण फेला पार्न सकेनन् । अत्यधिक पोर्न हेर्नेहरुमा भने त्यस्तो सम्भावना बढी हुनसक्नेमा अनुसन्धानकर्ताहरु चुप छन् । हुन पनि सक्छ भन्ने पक्षमा उनीहरु छन् ।
यसका साथै यौन सम्पर्कका बेला इरेक्टाइल डिसफङ्सनका लागि प्रायः पोर्नलाई नै जिम्मेवार ठहराइन्छ तर पोर्नकै कारण यस किसिमको समस्या हुने विषयमा भने अझै बढी अनुसन्धान आवश्यक पर्ने अनुसन्धाताहरुको धारणा छ ।
४. पोर्नले तपाईंको वैवाहिक सम्बन्ध बिगार्छ ?
प्रायः लोग्नेस्वास्नीबीच सम्बन्ध बिगार्न पोर्नको ठूलो भूमिका हुन्छ भनी टिप्पणी गर्ने गरिएको छ । तर पोर्नको यस पाटोमाथि गरिएका कैयौँ अध्ययनले विरोधाभास जन्माएको छ ।
सन् १९८९ मा भएको डगलस केनरिकले गरेको अध्ययनमा के पाइएको थियो भने पोर्न हेर्ने पुरुषले आफ्नो पार्टनरमाथि देखाउने रुचि कम हुन थालेका थिए । हुन त गएको वर्ष मात्रै वेस्टर्न ओन्टेरियो विश्वविद्यालयका पिएचडी विद्यार्थी रोन्डा बल्जरिनीले गरेको अध्ययनले भने त्यस किसिमको कुरा काटेको थियो । बल्जरिनीले महिला र पुरुष सहभागीहरुलाई नग्न म्यागेजिन देखाइन् र कपडा लगाएको तस्बिर देखाइन् । यी दुवै तस्बिर हेरेर आफ्ना पार्टनरलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको अध्ययनमा देखिएको थियो ।
हुन त १० वर्षअघि जुन किसिमले पोर्नको उपलब्धता थियो, त्यसबेला मानिसको सोच्ने शैली र अहिलेको सोच्ने शैलीमा निकै फरक आइसकेको हुनसक्छ भनी बल्जरिनीको धारणा छ । सन् २०१४ मा गरिएको एउटा अध्ययनले के देखाएको छ भने यदि अमेरिकी पुरुषहरुले पोर्न भिडियो हेर्न थाल्यो भने उसको वैवाहिक पारपाचुकेको समय नजिकिदैछ भन्ने सङ्केत दिन्छ ।
५. पोर्नले यौन जीवन बर्बाद गर्न सक्छ ?
पौर्नले मानिसको यौन जीवनलाई नै असर पारेको आरोप लाग्ने गर्छ । तर यसबारेमा गरिएका अधिकांश शोधले पुरुषहरु एक्लै पोर्न हेर्न थाले भने उनीहरु यौन जीवनमा उति सन्तुष्ट नभएको प्रमाण पेस गर्छ । महिलाहरु भने बढीभन्दा बढी पार्टनरसँग पोर्न हेर्न रुचाउँछन् । यस्तो अवस्थामा उनीहरु सन्तुष्ट हुन्छन् । सँगै बसेर पोर्न हेर्ने दम्पतिको यौनजीवन बढी सन्तुष्ट हुन्छ ।
६. पोर्नको लत लाग्छ ?
क्याम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनले के देखाएको छ भने पोर्न हेर्ने बानी र लागू औषध लिने लत उस्तै हो । यी दुवैका बेला दिमागमा एकै किसिमको प्रतिक्रिया आउने गर्छ । त्यसैले ‘पोर्न एडिक्सन’ हो ।
७. पोर्नले महिलामाथिको दृष्टिकोण बिगार्छ ?
क्यालिफोर्निया विश्वविद्यालयमा यस विषयमाथि भएको शोधले के देखाएको छ भने पोर्नोग्राफिक सामग्रीले लैंगिकवादी (सेक्सिस्ट) विचारहरुलाई बढावा दिन्छ ।
पोर्न हेर्नेको बढ्दो संख्या
विडुली नामक कम्पनीले संसारभरि नै कसले कति मात्रामा पोर्न साइट हेर्छ भनी हिसाबकिताब राख्ने गर्छ । सन् २०१६–१७ मा नेपाल, भारत, पाकिस्तान, बाङ्लादेशजस्ता मुलुकमा पोर्न भिडियो हेर्नेको संख्या लगभग दोब्बरले वृद्धि भएको छ । विडुलीकी संस्थापक तथा प्रमुख कार्यकारी सुब्रत कौर भन्छिन्, ‘सस्तो स्मार्टफोनको उपलब्धता र सस्तो इन्टरनेटका कारण पोर्न हेर्ने बानी ह्वात्तै बढेको छ ।’
पोर्न हबको डाटाअनुसार विश्वमा प्रतिदिन पोर्न हेर्ने औसत समय ८.५६ मिनेट र नेपालको ८.२२ मिनेट छ ।

Leave A Comment