२०१८ का बहुप्रतिक्षित फिल्म

शनिबार, १८ कार्तिक २०७४, ०३ : ३२ शुक्रवार
२०१८ का बहुप्रतिक्षित फिल्म

बलिउडका लागि २०१७ खासै उपलब्धिमूलक हुन सकेन । वर्षको सुरुवाततिर प्रदर्शनमा आएका ‘काबिल’, ‘रईस’ र ‘जोली एलएलबी–२’ ठिकै व्यापार गरे पनि वर्षका बहुप्रतिक्षित भनिएका ‘ट्युबलाइट’, ‘जग्गा जासूस’ र ‘जब हेरी मेट सेजल’ बक्स अफिसमा फ्लप भए । तैपनि बाँकी दुई महिनामा चमत्कार होला नहोला भन्न अफ्ठ्यारो छ । नयाँ वर्ष आउन करिब दुई महिना समय रहेको अवस्थामै २०१८ लागि राम्रा कहलिएका र लामो समयदेखि बहुप्रतिक्षित फिल्मको सूची आइसकेको छ । यसै मेसोमा यहाँ २०१८ का बिग रिलिज फिल्महरुबारेको जानकारी प्रस्तुत गरिएको छ ।
राजी
मेघना गुल्जारको बहुप्रतिक्षित फिल्म हो ‘राजी’ । आलिया भट्ट र विक्की कौशलको अभिनय रहेने फिल्मको सम्पूर्ण सुटिङ सकिएको छ । आलियाले केही दिनअघि सामाजिक सञ्जालमा फिल्मको ¥यापअप बारेको जानकारी राखेकी छन् । २४ वर्षे अभिनेत्रीले इन्स्टाग्राममा निकै नै भावुक सन्देशसहित आफू फिल्मको सुटिङताका निकै रमाएको र आफूले निभाएको पात्रले आफूलाई केही महिनासम्म नछाड्ने लेखेकी छन् । जंग्ली पिक्चर्स र धर्मा प्रोडक्सन निर्माता रहेको यो फिल्म ‘कलिङ सेहमत’ नाउँको उपन्यासमा आधारित छ ।
प्रदर्शन मिति : २०१८ मे ११

रेस–३
निकै नै रुचाइएको र सफल रेस फ्रेन्चाइजको तेस्रो शृंखला २०१८ मा आउने पक्का भएको छ । फिल्म बन्ने भनेर आएको खबरले नै धेरैको ध्यान खिच्दै आइरहेको छ । ‘रेस–३’मा सलमान खान र ज्याकलिन फर्नान्डेजलाई सँगै देख्न पाइनेछ । फिल्मलाई रेमो डिसुजाले निर्देशन गर्नेछन् । फिल्ममा सलमानसँगै बबी देवल र विक्की कौशलको अभिनय देख्न पाइनेछ । पोजेटिभ रोलमा देखापर्ने विक्की पहिलोपटक एक्सन अवतारमा आउनेछन् । ‘रेस–३’ सलमान खानको ब्यानरमा बन्ने पक्का भइसकेको छ ।
प्रदर्शन मिति : २०१८ जुन १५
राजकुमार हिरानीको नयाँ फिल्म
राम्रा फिल्मका लागि प्रख्यात फिल्ममेकर राजकुमार हिरानी आजभोली सञ्जय दत्तको बायोपिकको काम गर्दैछन् । फिल्ममा सञ्जय दत्तका रुपमा रणविरक कपुर देखिनेछन् । यही फिल्मपछि हिरानीले बलिउडका बादशाह शाहरुख खानलाई लिएर नयाँ फिल्म गर्ने कुरा बलिउड वृत्तमा छाएको छ । ‘मुन्ना भाई एमबिबिएस’, ‘थ्रि इडियट्स’ र ‘पिके’ बनाएका हिरानी शाहरुखको नयाँ फिल्मसँगै १४ वर्ष पछि सँगै काम गर्नेछन् । गसिपलाई सही मान्ने हो भने हिरानीले ‘मुन्ना भाई’ र ‘थ्रि इडियट्स’ शाहरुखलाई नै पहिलोपटक अफर गरेका थिए ।
चन्दा मामा दुर के
सञ्जय पुरन सिंह चौहानले बनाउने ‘चन्दा मामा दुर के’ पहिलो भारतीय अन्तरिक्ष फिल्म हुनेछ । साइफाई फिल्ममा सुशान्तसिंह राजपुत, आर महादेवन र नवाजुद्दिन सिद्धिकीलाई प्रमुख भूमिकामा देख्न पाइनेछ । अन्तरिक्ष यात्री बन्नका लागि सुशान्तले सबै तयारी गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा केही झलकहरु सबैसामु सेयर पनि सकेका छन् । फिल्मकै लागि उनी नासा पुगेर अन्तरिक्ष यात्री बन्ने सबै तयारी गरिसकेका छन् उनले । फिल्मले भारतको अन्तरिक्ष अभियान र चन्द्रमा पुग्ने पहिलो भारतीयको क्रियाकलापलाई पर्दामा चित्रण गर्नेछ । फिल्मका लागि विदेशी टेक्निसियन समेत मगाइएको छ ।
प्रदर्शन मिति : २०१८ जनवरी २६
अयारी
निरज पाण्डेले निर्देशन गर्ने ‘अयारी’ मा सिद्धार्थ मल्होत्रा र मनोज बाजपेयी प्रमुख भूमिकामा देखा पर्नेछन् । वास्तविक कथामा आधारित क्राइम ड्रामाले मिलिटरी मेन्टरको बारेको कथा भन्नेछ । यो फिल्मबाटै सिद्धार्थ र मनोज पहिलोपटक सँगै पर्दामा देखिन लागेका हुन् । फिल्म दिल्ली, काश्मिर र लन्डनमा खिचिएको छ ।
प्रदर्शन मिति : २०१८ जनवरी २६(अपेक्षा गरिएको)
सञ्जय दत्त बायोपिक
सञ्जय दत्तबारेको बायोपिक राजकुमार हिरानीले बनाउँदै छन् । फिल्ममा दत्तका रुपमा रणवीर कपुरलाई देख्न पाइनेछ । फिल्ममा मनिषा कोइराला, परेश रावल, दिया मिर्जा, तब्बु पनि देख्न पाइनेछ । मनिषाले नरगिसको र परेशले सुनिलको भूमिका निभाउने छन् । स्टार परिवारमा जन्मेर सुपरस्टार बनेका दत्त कसरी लागु औधषको नशामा परे र हातहतियारको कारोबारमा परे भन्ने कुरा आम दर्शकलाई जिज्ञासु बनाउने घटना हुन् । फिल्ममा यी र यस्तै कुरा देखाइएलान्, नदेखाइएलान् त्यो त समयले नै बताउला ।
प्रदर्शन मिति : २०१८ मार्च ३०

प्याडम्यान
‘ट्वाइलेट : एक प्रेम कथा’ बाट दर्शक रिझाएका अक्षय कुमार आगामी वर्ष सामाजिक सन्देश सहितको फिल्म ‘प्याडम्यान’मा देखा पर्नेछन् । फिल्मको कथा अरुणाचलम मुरुगनाथमको वास्तिक जीवनबाट प्रेरित हुनेछ । अरुणाचलमले महिलाहरुका लागि कम मूल्यमा आवश्यक सेनेटरी प्याड निर्माण गरेर सबैबाट वाहवाही पाएका थिए । फिल्ममा वास्तविक कथामाझैं अक्षयले प्याड लगाएको दृश्य समावेश हुने कुरा बाहिर आएको छ । आर बाल्कीको फिल्ममा अक्षयलाई सोनम कपुर र राधिका आप्टेले साथ दिनेछन् । फिल्ममा अमिताभ बच्चन स्पेशल अपिरियन्समा प्रस्तुत हुनेछन् । फिल्मलाई ट्वींकल खन्ना र गौरी सिन्धेले निर्माण गर्नेछन् ।
प्रदर्शन मिति :२०१८ अप्रिल १३

मनिकर्णिका : द क्विन अफ झाँसी
झाँसीकी रानी लक्ष्मीबाई धेरै बलिउड मेकरहरुका लागि लामो समयदेखि मनमा बसेको पात्र हो । लामो समयदेखि सुस्मिता सेन, महेश मन्ज्रेकर र केतन मेहताले समेत यसबारेमा फिल्म बनाउन चाहेको बताउँदै आइरहेका थिए । निर्देशक कृषले कंगना रनावतलाई लिएर फिल्म बनाइरहेका छन् । केही दिनअघि कंगनाको रानी लुक्ससमेत बाहिर आएको थियो । फिल्ममा अतुल कुलकर्नी, अंकिता लोखन्डेलाई समेत देख्न पाइनेछ ।
प्रदर्शन मिति : २०१८ अप्रिल १७

गोल्ड
‘स्पेशल २६’, ‘रुस्तम’ र ‘एयरलिफ्ट’ जस्ता देशभक्तिपूर्ण फिल्म गरिसकेका अक्षय कुमार रिमा काग्तीको ‘गोल्ड’ मा फेरि एकपटक देशभक्तिपूर्ण भावनाले भरिपूर्ण पात्रका रुपमा प्रस्तुत हुँदैछन् । फिल्मले स्वतन्त्र भारतको पहिलो गोल्ड मेडलिस्ट बारेको १९४८ को लन्डनको घटनालाई प्रस्तुत गर्नेछ । फिल्ममा अक्षयका अलबा अमित शाद र कुनाल कपुरलाई पर्दामा देख्न पाइनेछ । यो फिल्मबाटै टेलिभिजन डिभा मौनी रोयले बलिउड डेब्यु गर्नेछिन् । पछिल्लो समय धडाधड फिल्म खेल्दै आएका अक्षयको करियरलाई यो फिल्म प्लस प्वाइन्ट हुने बलिउड पण्डितहरु बताउँछन् ।
प्रदर्शन मिति : २०१८ अगस्ट १५
केदारनाथ
अभिषेक कपुरको निर्देशन रहने यो फिल्ममा शैफ अलि खान पुत्री सारा अलि खानले डेब्यु गर्दैछिन् । फिल्ममा उनी सुशान्त सिंह राजपुतको अपोजिट प्रस्तुत हुनेछिन् । मेकरहरुले केही समयअघि फिल्मको मोन पोस्टर रिलिज गरिसकेका छन् । फिल्ममा सुशान्तले वृद्धवृद्धाहरुलाई मन्दिर र धाम डुलाउने टुर गाइडको चरित्र निभाउनेछन् । फिल्ममा साराले धनी पर्यटकको भूमिका निभाउने बताइन्छ । फिल्ममा साराको डेब्युको इस्युले अहिलेदेखि नै निकै चासोका साथ हेरिएको छ ।
आनन्द एल राईको नयाँ फिल्म
शाहरुख खानका फिल्मले पछिल्लो समय बक्स अफिसमा राम्रो नजिता दिलाउन सकेका छैनन् । तर उनी आनन्द एल राईको नयाँ फिल्ममा बामपुड्के अवतारमा प्रस्तुत हुने कुराले अहिले नै तरंग ल्याइदिएको छ । फिल्ममा शाहरुखले अनुष्का शर्मा र कट्रिना कैफसँग रोमान्स गर्नेछन् । फिल्मको कथाबारे खासै कुरा बाहिर नआए पनि आनन्दले फिल्ममा शाहरुखको बाबुको रुपमा अभिनय गर्ने कुरा पक्का भएको छ । फिल्ममा शाहरुखलाई दोहोरो भूमिकामा देख्न पाइनेछ । एनिमेसन प्रचुर मात्रामा प्रयोग गरिने फिल्मलाई आनन्द एल राई र गौरी खानले निर्माण गर्दैछन् ।
प्रदर्शन मिति : २०१८ क्रिसमस

Leave A Comment