यौन रोगको संक्रमण

शनिबार, १८ कार्तिक २०७४, ०३ : २७ शुक्रवार
यौन रोगको संक्रमण

यौनरोगीहरुमध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस एउटा प्रमुख यौन रोग हो । यस रोगलाई नेपालमा भिरंगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम भन्ने जीवाणुले गराउँछ । यो जीवाणुको संक्रमण भएपछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ । साधारणतः ९ देखि ९० दिन यसको संक्रमण काल हुन्छ । कहिलेकाहीँ यसका लक्षण नदेखिन सक्छन् तर थाहा हुँदानहुँदै यसको जीवाणुहरुले शरीरका विभिन्न अंगमा असर गर्न सक्छ । यो रोग लाग्दा सुरुमा विमिरा वा खटिराजस्तो देखिन्छ वा एउटा दुई वटा नदुख्ने घाउको रुपमा देखा पर्न सक्छ ।
विभिन्न प्रकारको यौन सम्पर्कको प्रकृतिअनुसार यौन सम्पर्कबाट हुने यस्ता घाउ यौन अंगहरुमा ओठ मुख गुद्द्वारमा पनि आउन सक्छ । साथै यो घाउ आउँदा एकापटी वा दुवै पटटी काछमा गिर्खा आउन सक्छ । सुन्निने र दुख्ने पनि हुन सक्छ । घाउहरु केही समयपछि आफैँ हराउन सक्छन् र केही समयपछि पुनः देखा पर्न सक्छन् । यो एउटा जटिल गम्भीर यौन रोग हो । पुरुषमा देखिने यसका लक्षणहरु पिसाब नलीबाट पातलो पानी वा बाक्लो पीप निस्कने, पिसाब गर्दा पोल्ने–दुख्ने वा चाँडै चाँडै पिसाब लाग्ने, अण्डकोष सुन्निने र दुख्ने हुन्छ । यौन अंगमा वा यौन अंग वरिपरि धेरै मात्रामा सेतो काई पदार्थजस्तो जाने, विमिरा खटिरा पानी फोका वा घाउहरु देखा पर्ने, लिंगको वरिपरि मुसा वा मासु पलाउने, तिघ्राको काछमा रहेको गन्थ्रीहरु सुन्निने, दुख्ने, फुटेर घाउ हुनेजस्ता लक्षण देखिन्छन् ।
महिलामा देखिने यस रोगको लक्षण योनीबाट धैरै मात्रामा अस्वाभाविक सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बाराम्बार बग्ने पिसाव लाग्ने, यौन सम्पर्क गर्दा योनी भित्रपट्टि दुख्ने, तल्लो पेट दुख्ने हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउ खटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा काछमा गन्थ्रीहरु सुन्निने, दुख्ने वा फुटेर घाउ हुनेजस्ता लक्षणहरु देखिन्छन् । समयमा नै उपचार गर्दा यो रोग निको हुन्छ तर उपचार नभएमा भने यसले शरीरको जुनसुकै अंगलाई पनि प्रभावित गर्न सक्छ र गम्भीर असर गर्न सक्छ ।
यस किसिमको रोगबाट प्रभावित गर्भवती आमाबाट जन्मने बच्चामा पनि यो रोग सर्न सक्छ । साथै बच्चा गर्भमा नै मर्न सक्ने वा विकलांग जन्मन सक्ने हुन्छ । यो रोगबाट नेपाललगायत धेरै देशका मानिसहरु सक्रमित छन । संसारका अधिकांश देशमा यौन रोग व्यापक रुपमा फैलिरहेको छ । यौन रोग असुरक्षित यौन सम्पर्कको प्रमुख सूचक हो । कुनै देशमा यौन रोग कति व्यापक छ भन्ने तथ्यांकले त्यस देशमा कति असुरक्षित यौन सम्पर्क हुने गर्छ भन्ने झल्काउँछ । यौन क्रियाकलापमा सक्रिय १५ देखि ४९ वर्षा उमेरका व्यक्तिहरुमा यौन रोग हुने अत्यधिक जोखिम समूहमा पर्छन् । यस्तै १५ देखि २४ वर्षका युवायुवतीमा सबैभन्दा जोखिम समूह हो । यो रोगको लक्षण पुरुषमा चाँडै र महिलामा ढिला देखिन सक्छ ।
यौन रोगबाट बच्ने उपाय
अन्य संक्रामक रोगहरुजस्तै यौन रोग हावा पानी खानाबाट सर्ने रोग हैन । यौन रोग नचाहँदा नचाहँदै सर्दैन । यो मुख्यतः जोखिमपूर्ण असुरक्षित यौन व्यवहारबाट सर्छ । सुरक्षित यौन व्यवहारले यौन रोग सजिलै बच्न सकिन्छ । जस्तै पतिपत्नी वा एक जना विश्वासिलो यौन रोग नभएको यौन साथीसँग मात्र यौन सम्पर्क राख्नु पतिपत्नी वा विश्वासिलो यौनसाथीबाहेक अरुसँग यौन सम्पर्क राख्दा सही तरिकाले कण्डमको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क हुँदा वा यौनरोगको शंका लाग्नासाथ तुरुन्तै जँचाउने र स्वास्थ्यकर्मीले बताएअनुसार पूरा औषधि खाने, आफ्नो यौनसाथीको पनि उपचार गराउने, अपुरो उपचारले यौनरोग पुनः बल्झिन सक्छ । अविवाहित युवायुवतीले सकभर यौन सम्पर्क नगर्ने, निर्मलीकरण नगरेको सुई औजार उपकरण प्रयोग नगर्ने, जाँचेको रगत वा रगतबाट बनेको पदार्थको मात्रै प्रयोग गर्ने, यौन र यौन रोगका बारेमा संकोच तथा लाज नमानी जानकारी लिने, सुरक्षित यौन व्यवहार अपनाउने, यौन अंगको नियमित सरसफाइ गर्नुपर्छ । जोखिम यौन व्यवहार भए वा आफू जोखिममा परेको शंका लागेमा तुरुन्तै जँचाउनु पर्छ । यौनरोग उपचार नगरी निको हुँदैन । लक्षण हराएर गए पनि औषधि नगरी पूरा निको हुँदैन । यौन रोगको उपचार सधैँ तालिमप्राप्त वा स्वास्थ्यकर्मीबाट गराउनु पर्छ । दिएको औषधि पूरा मात्रामा नियमित सवेन गर्नुपर्छ । पूर्ण रुपमा निको हुन र फेरि दोहो¥याएर संक्रमण हुन नदिन यौनसाथीको पनि उपचार गराउनु पर्छ ।

 

Leave A Comment