राम्रो बानी बसाउने ६ वटा सामान्य तरिका

शनिबार, १८ कार्तिक २०७४, ०३ : २१ शुक्रवार
राम्रो बानी बसाउने ६ वटा सामान्य तरिका

पिटर इकोनमी
ठूला सपना पूरा गर्न, आफूले चाहेको आवश्यकतालाई परिभाषित गर्नुपर्छ र कसरी हासिल गर्ने पूरा चित्र बनाउनु पर्छ । हामीले जे काम गर्छौं, हेर्दा त्यसको उति महत्व नहुन सक्छ । हामीले ध्यानपूर्वक हाम्रो कामलाई नहेरेका हुन सक्छौं । तर हरेक दिन हामीले गरिरहेका कामले नै हाम्रो अद्वितीय बानी (ह्याबिट) बनेको हुन सक्छ । हामीले जे काम दोहोर्याई तेहोर्याई गर्छौं, त्यही काम हाम्रो बानी बन्न पुग्छ । बानी बन्ने अवस्थासम्म हामीलाई त्यस कामको उति ध्यान पनि हुँदैन । बारम्बार कमसल काममा हामी टाँसिइरहनाले हाम्रो बानी पनि कमसलकै बन्न थाल्छ । अनि उम्दा कामलाई हामीले बानीका रुपमा विकसित गर्न सक्यौं भने त्यो बानीले हामीलाई जीवनको महान् उद्देश्यतर्फ प्रेरित गर्दछ । हामीले जीवनमा ठूलो सोच्न सक्छौं । ठूलो काम गर्न सक्छौं । उसो भए अद्वितीय बानी, गज्जबको ह्याबिटलाई कसरी विकसित गर्ने त ?
१. लक्ष्यलाई परिभाषित गर्नुहोस्
अद्वितीय बानी विकसित गर्नुअघि तपाईंले जीवनको लक्ष्य के हो भनी स्पष्टसँग परिभाषित गर्नुपर्छ । तपाईं अन्तिममा कस्तो व्यक्तिका रुपमा उदाउन, बन्न र चिनिन चाहनुहुन्छ भन्ने लक्ष्य बनाउनु हुन्छ, त्यसका लागि तपाईंले योजनाबद्ध रुपमा आफ्नो बानी विकसित गर्न सक्नुहुन्छ ।

‘बारम्बार दोहोर्याएर हामीले जे गर्छौंं, हामी त्यही हुन्छौं । त्यसैले सर्वोत्कृष्टता कार्य होइन, यो त एउटा बानी हो । – अरस्तु

त्यो लक्ष्य हासिल गर्नका लागि तपार्इंले बानीको प्रणाली विकास गर्न थाल्नु हुन्छ । उदाहरणका लागि मानौं तपाईं कुनै कम्पनीको राम्रो व्यवस्थापक बन्न चाहनुहुन्छ, तपाईं आफ्ना कर्मचारीहरुलाई दिनदिनै राम्रोसँग चिन्न र उनीहरुलाई जान्न चाहनुहुन्छ, हरेक दिन उनीहरुका कुरा सुन्न र तिनका समस्या समाधान गर्न इच्छुक हुनुहुन्छ, उनीहरुसँगै मिलेर काम गर्न चाहनुहुन्छ भने यस्तो बानी रातारात विकसित हुँदैन । झन् तपाईं आफ्नै कुरा ठीक भन्ने किसिमको हुनुहुन्छ भने त समूहमा मिलेर काम गर्न तपाईंलाई गाह्रो हुन्छ । यसका लागि तपाईंले अवश्य पनि अरुका कुरा सुन्ने, मिलेर काम गर्ने बानी विकसित गर्नुपर्ने हुन्छ । अरुका समस्या सम्बोधन गर्ने बानी विकसित गर्नुपर्ने हुन्छ ।
२. अर्को खुड्किलो तयार पार्नुपर्छ
पहिलो खुड्किलो अरुलाई चिन्ने, समूहमा काम गर्ने बानी विकसित भइसकेपछि अर्को नयाँ बानी विकसित गर्नुपर्ने हुन्छ । यो अलि विशिष्ट किसिमको बानी हो । कुन समयमा के काम गर्ने, कति लामो समयसम्म गर्ने भन्ने तपाईंले बानी विकसित गर्नुपर्छ । उदाहरणका लागिः मानौं तपाईं कुनै कम्पनी चलाइरहनु भएको छ, कति समय ग्राहकका गुनासा सुन्ने, के के कुरा सुन्ने भन्ने कुराको विशिष्ट मार्गनिर्देशन हुनुपर्छ । यो मार्गनिर्देशनबाट नै तपाईंले चाहेजस्तो परिणाम पाउन सक्नुहुन्छ । मानौं, तपाईंले सुस्पष्ट तरिकाले मार्गनिर्देशन के गर्नुभयो भने, म दिनमा १० जनाको गुनासो सुन्छु र त्यसका लागि दुई बजेदेखिको समय छुट्याउँछु भन्नु भयो र त्यसैअनुसार काम गर्नुभयो भने त्यसले तपाईंको बानी बसाउँछ र लक्ष्य हासिल गर्ने गतिलो खुड्किलो साबित हुन्छ ।
३. सुरु गर्नुस्
काम थालिहाल्नुजस्तो कठिन कुरा केही होइन । नेपालमा सारा कुरा तयार हुन्छ, गफ हुन्छ, योजना हुन्छ, तर काम सुरु हुँदैन । त्यस्तै काम थालिहाल्नु पनि एउटा कठिन नयाँ बानी हो । केही योजना बन्छ भने त्यसमा काम थालिहाल्नु, काम थाल्नुअघि पहिलो पाइला चाल्नु पनि कठिन कुरा हो । तर जसै एक पटक काम सुरु हुन थाल्छ, त्यसपछि यो बानीको रुपमा विकसित हुन्छ । साना साना काम गर्ने बानी विकसित हुनु भनेको ठूलो काम गर्ने बानी बस्नु हो । ‘मैले धेरै थोक गर्नु छ तर क्यै गर्न सक्या हैन’ भन्ने अवस्थाबाट निस्किएर ‘यो सानो काम भए पनि पूरा गर्नु भनेको मेरो ठूलो उद्देश्यलाई फलिभूत गर्ने अर्को पाइला हो’ भन्ने अवस्थासम्म पुग्नु निश्चिय नै तपाईंका लागि सुखद् पक्ष हो ।
४. वातावरण परिवर्तन गर्नुस्
तपाईं स्वस्थ हुन चाहनुहुन्छ भने तपाईंको भान्सामा स्वस्थकर खानेकुरा पकाउन थाल्नुहोस् भन्ने सुझाव त तपाईंले सुन्नु भएकै होला । यो कुरा तपाईंको स्वास्थ्यमा मात्र होइन, कार्यालयीय कुरामा पनि लागू हुन्छ । तपाईं अफिसको वातावरण स्वस्थ भएको हेर्न चाहनुहुन्छ, तपाईं अफिसका कर्मचारीहरुको व्यवहार स्वस्थ भएको हेर्न चाहनुहुन्छ भने त्यस्तै वातावरण बनाउन भूमिका खेल्नु पर्छ । कार्यालयमा राम्रो बानी बसाउन, तपाईंले राम्रो दृश्य सिर्जना गर्नुपर्छ । हरेक साँझ अफिसबाट निस्कनुअघि तपाईंको टेबुल सफा देखिनु पर्छ । कम्पनीका राम्रा कुराहरु के के भए, सुस्पष्ट रुपमा कार्यालयको सूचना बोर्डमा आउनेबित्तिकै टाँस्नु पर्छ । तपाईंको अफिस काम गर्न सहज किसिमको हुनुपर्छ । उद्देश्य पूर्ति गर्न अप्ठेरो हुने नीतिनियम लाद्नु हुँदैन । सहज किसिमले काम होस् भन्नेतर्फ तपाईंले ध्यान दिनुपर्छ ।
५. आफैँप्रति कडा नहुनुहोस्
कतिपय बानी विकसित हुन निकै लामो समय लाग्छ । बानी विकसित भएन भन्दैमा आफूले लिएको उद्देश्य र लक्ष्य पूरा नहुने भयो भनेर त्यसलाई पोको पारेर नथन्क्याउनुस् । बरु त्यो लक्ष्य पूरा कसरी हुन्छ भन्ने कुरामा नै आफ्नो ध्यान केन्द्रित गर्नुस् । आफैँलाई आफ्नो लक्ष्य र सफलताको दृश्याङ्कन सम्झाउनुस् । योजना बनाउनुस्, कहिले, के र कसरी त्यसलाई हासिल गर्न तपाईंको बानी परिवर्तन गर्दै हुनुहुन्छ । नयाँ बानी बसाउन कम्तिमा पनि ६० दिन लाग्ने शोधकर्ताहरुले पत्ता लगाएका छन् । २१ दिनमै कुनै नयाँ बानी बस्छ भन्ने हावा कुरामा विश्वास नगर्नुस् । यसले तपाईंलाई निराश बनाउन सक्छ । नयाँ बानी विकसित गर्न समय लाग्छ, त्यसलाई समय दिनुस् ।
६. पुनःमूल्याङ्कन गर्नुहोस्
तपाईंले विकसित गर्नुभएको नयाँ बानीले तपाईंलाई सफलताको बाटोसम्म पु¥याउँछ । आउने परिणाम सोचअनुरुपकै हुन्छ । मानौं, तपाईंले आफ्नो व्यवसायका लागि नयाँ १० जना ग्राहक थप्ने योजना थियो, त्यो पनि ६ सातामा । तपाईंले बनाउनु भएको योजना सही दिशामा छ कि छैन भन्ने कुरा जाँच गर्नुस् । १० जना ग्राहक थप्नका लागि तपाईं कति समय विज्ञापन गर्नु भयो, कति समय आफैँ त्यसको प्रचारका लागि दौडिनु भयो, कति जनालाई भेट्नु भयो आदि कुरामा ध्यान दिनुस् । जस्तो कि, १० जना ग्राहक तान्नका लागि कम्तिमा पनि ४० जना ग्राहकलाई लोभ्याउनु पर्छ । अनि मात्र १० जना थपिन्छन् । यदि तपाईंले सोचेजस्तो परिणाम आइरहेको छैन भने ठूलो लक्ष्यलाई सानो सानो भाग लगाउनुस् । हप्तामा १० जना नयाँ ग्राहकको सट्टा ५ जनाबाट सुरु गर्नुस् । यसो गर्दा तपाईंलाई काम गर्न सहज महसुस हुनेछ ।

Leave A Comment