सवारी लापरवाही, मारमा सर्वसाधारण

बिहिबार, १६ कार्तिक २०७४, ०१ : ३६ शुक्रवार
सवारी लापरवाही, मारमा सर्वसाधारण

छठ सम्पन्न गरेर राजधानी फर्कंदै गरेका सप्तरीका सर्वसाधारण बस दुर्घटनाको सिकार बने । सप्तरी तिलाठीका रामनाथ झा सन्तान वियोगको पीडामा छन् अहिले । छठ मनाएर राजधानी बिदा गरेका २ छोरा, १ बुहारी र एक नातिको वियोगमा छन् उनी । नियतिले उनको घरपरिवार उजाड बनाएको छ । सप्तरीबाट काठमाडौं आउँदै गर्दाको बस त्रिशूली खस्दा ३१ जनासँगै रामनाथको पनि सानो संसार उजाडिएको हो । त्रिशूली दुर्घटनाको तेस्रो दिन गुल्मीको दरबार गाउँमा माइक्रो दुर्घटनामा १० जनाले ज्यान गुमाए । त्यस्तै उदयपुरको कटारीमा सडकबाट जिप खस्दा ९ जनाको ज्यान गएको छ ।  सप्तरीको राजविराजबाट छुटेको बस त्रिशूलीमा खस्नुका पछाडि तीव्र गति भनिदैछ र चालकले मादक पदार्थ सेवन गरेका थिए भन्दैछन्, दुर्घटनाबाट बचेका यात्रु । दुई दिनमा भएका दुर्घटनाबाट ५० जनाको ज्यान गएको छ । लगातारका घटनाका कारण जिम्मेवारहरूमा केही सक्रियता देखिन्छ, छानविन समिति गठन गर्ने औपचारिकता निर्वाह भएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरूले आफ्नो इहलीला समाप्त गरे, अकालमा उनीहरूको जीवन समाप्त भयो । घटनाको चोट भने परिवारजनमा परिरहेको हुन्छ । रामनाथ एउटा त्यस्तै प्रनिनिधिपात्र हुन् । बर्सेनि हजाराँै रामनाथहरू रोइरहेका हुन्छन् । पीडितहरू रोदन सुनिदिने संवेदनशील धेरै कम मात्र छन् । त्यसैले दुर्घटना नियमित आकस्मिकता बनिरहेको छ हाम्रो समाजमा ।
राज्य भनेको आम जनताको अभिभावक हो । त्यसैले दुर्घटनामा परेर ज्यान गुमाएकाहरूप्रति ऊ संवेदनशील हुनुपर्छ । यस्तै अपेक्षा आम नागरिकको हुन्छ । तर हामीकहाँ प्रत्येक दिनजसो सानाठूला दुर्घटना भइरहन्छन्, मर्नेहरू मरिरहन्छन्, जिम्मेवारहरू औपचारिकता निर्वाह गर्दै पन्छिरहेका हुन्छन् । प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष सानाठूला गरेर १५ हजारको हाराहारी दुर्घटना हुन्छन् र हरेक वर्ष सवारी दुर्घटनामा परेर दुई हजार बढीको ज्यान जाने गरेको छ । दुर्घटनामा परेर घाइते हुनेको ठूलो संख्याको हिसाब कतै भेटिदैन ।
किन हुन्छ दुर्घटना ? यसका पछाडि को–को जिम्मेवार छन् ? आम जनताको सरोकार राख्ने यस्ता प्रश्नको उत्तर पाइँदैन । हामीकहाँ सडक, यातायातका साधन, लापरवाही गरेर सवारी चलाउने चालकका कारण दुर्घटना हुन सक्छ । घटनापिच्छे फरक कारण हुन सक्छ तर कारण पत्ता लगाएर त्यसको निरुपण गर्नुपर्ने भए पनि त्यसमाथि कार्यान्वयन गरिँदैन । सरकारी निकायको सुस्तता, ऐन नियमको पालनामा हुने ढिलासुस्ती तथा नेपालमा जमेको सिन्डिकेट प्रणालीबारे खासै कुरा गरिँदैन । सवारी धनीले थोत्रा गाडीहरू चलाउने, चालकहरूलाई दिनरात खटाउने प्रवृत्ति आम रुपमा छ । नेपालले आर्थिक उदारीकरणको नीति अख्तियार गरेको करिब चार दशक हुन लाग्यो तर अहिलेको गणतान्त्रिक राजनीतिक व्यवस्थासम्म आइपुगदा सिन्डिकेट कम हुनुको सट्टा व्यापक हुँदैछ । विभिन्न नामधारी यातायात व्यवसायीहरू विभिन्न राजनीतिक पाटीसँगको आबद्धताका कारण खुलेआम सिन्डिकेट चलाइरहेका छन् । नियम, कानुनमा सिन्डिकेट गर्न पाइँदैन तर आम प्रचलनमा त्यही अराजक व्यवस्था छ ।  सवारी ऐनमा यातायात निरीक्षकको व्यवस्था छ तर त्यो कार्यान्वयन हुँदैन । सरकारले बर्सेनि दुर्घटना अध्ययन गर्छ । ठूला दुर्घटनामा अध्ययन समिति बनाइन्छ, ती समितिले सुुझाव दिन्छन्, सुझाव कार्यान्वयन गरिँदैन, दराजमा थन्क्याइन्छ । सरकारले नियम बनाउँछ कार्यान्वयन गर्दैन । दुर्घटनाका पछाडि मानवीय लापरवाही, यान्त्रिक गडबडीका साथसाथै मनपरितन्त्र बढी जिम्मेवार छ । कुन बाटोमा कस्ता सवारी साधन चल्ने, सवारी साधनको प्राविधिक पक्ष ठीक छ÷छैन जाँच्ने, चालक कति सिपालु छन् त्यसको लेखाजोखा राख्ने र सडक अनुसार सवारीको चलाउने, गति तोक्ने जस्ता काम ग¥यो भने दुर्घटना स्वाट्टै घट्ने हुनसक्छ तर व्यवसायी, राजनीतिकर्मी, प्रहरी र कर्मचारीको आपसी लेनदेनको चक्रव्यूहमा आम नागरिक परिरहेका छन् ।
हामीकहाँ पैसाले लाइसेन्स किन्न पाइन्छ, नियम मिच्नेहरू पैसाको बलमा उम्कन सक्छन् । त्यसैले सवारी दुर्घटनाको कारक हाम्रो भ्रष्ट मनोवृत्ति एउटा सशक्त कारक हो । दक्ष जनशक्तिको कमी पनि अर्को कारण देखिन्छ । यातायात, उद्योग लगायतका धेरै क्षेत्रमा अहिले सिपालु कामदारको अभाव छ । विदेशमा कमाउने जानेहरूको लर्कोमा दक्ष सवारी चालकको संख्या पनि ठूलो छ । दक्ष सवारी चालक पलायन भएको अवस्थामा अदक्ष युवा यस क्षेत्रमा जमेका छन् । किनेको लाइसेन्स र कलिलै उमेरमा स्टेयरिङ समाएका हातहरू पनि दुर्घटनाको कारण हुन सक्छन् । मुलुकका लागि कस्तो जनशक्ति आवश्यक छ र त्यसको आपूर्ति कसरी गर्ने भन्नेबारे सरकार, व्यवसायी दुवै संवेदनशील हुन आवश्यक छ । सिन्डिकेटको अन्त्य, दक्ष चालकहरू, दुरुस्त सवारी,  राम्रा बाटाघाटा, इमान्दार कर्मचारी र ट्राफिक प्रहरी हुने हो भने दुर्घटना दूर हुन बेर लाग्दैन ।

 

Leave A Comment