शिक्षा नै पछाडि धकेलियो !

बुधबार, १५ कार्तिक २०७४, ११ : २६ शुक्रवार , Kathmandu
शिक्षा नै पछाडि धकेलियो !

घिमिरे ‘मैदेली’

पछाडिबाट धकेलेको भए पो अगाडि जान्थ्यो । नेताहरूले अगाडिबाटै धकेलेपछि पछाडि नगएर कता जाओस् शिक्षा ? शिक्षामन्त्रीले नै नुनको सोझो भन्दै कानुनलाई लोझो बनाउँदा रहेछन् ! सदनमा ऐन पास गराउन कतै सधनको आस त देखाएनन् ? सदनमा हर्सपावर प्रयोग हुन्छ भन्थे कतै २५ हर्स पावरले ठेलेर त शिक्षा २५ वर्ष पछाडि धकेलिएको होइन ? त्यत्रा हर्सपावरले त महँगी, भ्रष्टाचार, चोरी डकैती आफ्ना भत्ता सुविधालाई पछाडि ठेल्नु धकेल्नुपर्ने हो, सकेनन् कि चाहेनन् ? आम जनअधिकारको शिक्षालाई पोपछाडि धकेल्न सकेछन् ?
मन्त्रीहरूका गाडीलाई कसैले ओभरटेक ग¥यो भने त्यसलाई रोक्ने–छेक्ने गर्छन् । महँगी र भ्रष्टाचारले त्यसरी ओभरटेक गरेकोलाई त्यो हर्सपावरले पछाडि धकेल्न सक्यो, चाह्यो ? कसैलाई नसकेर जनताका शिक्षालाई पो पछाडि धकेलेछन् ? पढेलेखेकाहरू भए पो अगाडि बढाउँथे । अग्रगामी शिक्षा उनीहरूलाई के काम ! मन्त्री समेतका पैँसठ्ठी जनाले अग्रगामी शिक्षानीति बनाएपछि सबै जनता टाठाबाठा हुने डरमा पो मन्त्रीजी सांसदहरूतिर फरक्क फर्केर शिक्षामा नवौँ संशोधनको ऐनबाट नेतालाई चैन गराएका रहेछन् !
यसरी शिक्षालाई पछाडि ठेल्दा नेतालाई दुईथरी फाइदा !
१. थोत्रा, पुराना, अयोग्य शिक्षकहरूले पढाउँदा शैक्षिक जनशक्ति कम हुने र सत्ता टिकिरहने । (यो राणाकालदेखिकै परम्परा हो ।)
२. जति मौका दिए पनि अयोग्यै देखिने शिक्षकहरू भनेका पाटी–पाटीले नियुक्ति गरेका झोले शिक्षकहरू रहेछन् । तिनलाई स्थायी गराएर स्कुले राजनीति सफल पार्न पाइने ।
यो गाँठी कुरो जनताले बल्ल राम्ररी बुझे । लोभभित्र पाप पस्नु स्वाभाविक हो । शिक्षा सुधारौँ भन्ने आयोगमा माथि बसेका माथेमाको मथिङ्गलले मापन ग¥यो । लोभी र पापी मिल्दा अर्थको अनर्थ भएको ! अर्का वाग्लेको ओकालत थियो ‘यो ऐनले शिक्षाको इतिहासमै सर्वाधिक नोक्सानी ग¥यो ।’ शिक्षाको समुद्रमा पसेर ज्ञानको मोती चिन्ने र चिनाउनेहरू अज्ञानको बगरमा छटपटाएर बस्न नचाहेर नै आयोगबाट हात धुने निर्णय गरेका रहेछन्, ती दुई विद्वानले ? अनि पो मन्त्री मख्ख ऐन पारित गर्ने अबुझ नेताहरू अक्क न बक्क भएका रहेछन् ! जनता कुरो पहिले बुझ्छन् नेता पछि बुझ्छन् भनेको यही हो ।
इतिहासमै सर्वाधिक नोक्सानी भयो भन्नुमा चन्द्रशमशेरले त्रिचन्द्र कलेज खोलेर राम्रा योग्य शिक्षकहरू राखेका थिए । यिनीहरूले त अर्काले खोलिदिएको विद्यालयमा पनि सात लाख योग्य विद्वान् व्यक्तिहरूले शिक्षक हुन प्रतिस्पर्धा गर्न खोजे भनेर थोत्रा पुराना अयोग्यलाई नै स्थायी गरेर बूढो गोरुलाई गाई ओगट्न लगाएका रहेछन् ?
हेर राजनीतिमा लिप्त नेताहरूका लोभीपापी बुद्धि ! ती थाकिसकेका पुराना, केही अयोग्य गुरुहरूलाई खुसी हुने गरी रकम सुविधा दिएर तपाईँहरू आरामसित बस्नोस् । हामी नयाँ योग्य आधुनिक जनशक्तिलाई शिक्षक हुने मौका दिन्छौँ  भन्दा नेताका भोटबैँक चिप्लिने रहेछ । अनि ती पुरानालाई आर्थिक सुविधा दिएर कदर र नयाँ योग्यलाई शिक्षक हुने मौका दिएर शिक्षानीतिलाई नै सदर गर्न किन चाहन्थे नेताहरू ?
बूढो गोरुलाई गाई ओगट्न दिनु भनेको बलिया बहरहरूलाई आपसमा जुधाउनु त हो । यहाँ यस्तै भएको देखिन्छ । विचरा ती वीर्यशक्तिहीन बूढा गुरुलाई त जीवनमा जतिसक्यौ, जोतियौ अब राम्ररी आराम गर भनेर मीठो खाना पो दिनुपर्ने । फेरि किन जोतिने बनाएका हुन् ? गुरुहरूले पनि बुझ्नुपर्ने हो, अब हामी जोतिदैनौँ । नेताका झोला बोकेर खोलाखोला  कुद्दैनौँ । बरु ऐलेसम्म अस्थायी रूपमै सेवा गरेको मेवा अलि बढाएर देऊ किन नभनेको ? नेताका पछि जिउधनको खती भनेको बुझेनन् कि के हो गुरुहरूले ?
जेमा पनि भागबन्डा ? अब यो शिक्षक स्थायी र नयाँ दरबन्दीमा पनि भागबन्डा गरेर पो नेता–नेताका भागमा पच्चीस–पच्चीस सर्वसाधारणलाई पच्चीस गरेर पो नयाँ दरबन्दीलाई पच्चीस र स्थायीको वहानामा पचहत्तर गरेका रहेछन् ?
यसरी किन जनतालाई छिपाएको? बरु हामीले चुनाव जित्ने सिलसिलामा  जस्तालाई पनि शिक्षक बनायौँ । उनीहरूलाई हामीले स्थायी गरिदिने कबुल गरेका छौँ । त्यसैकारणले शिक्षालाई पछाडि धकेलेका हौँ भन्नु प¥यो । होइन भने बहर गुरुलाई नजोतेर फेरि यिनै बूढा गुरुलाई किन जोत्न खोजेको ? जनता बुझ्न चाहन्छन्, नेता बुझ पचाउँछन् ।

Leave A Comment