‘वर्षको एकचोटि गोसाइँकुण्ड’

मङ्गलबार, १४ कार्तिक २०७४, ०२ : ५९ रेणु त्वानाबासु
‘वर्षको एकचोटि गोसाइँकुण्ड’

कृष्णप्रसाद प्रजापति, भक्तपुर
बा २ ख
८१७३

तपाईंले यो गाडी चलाउनु भएको कति वर्ष भयो ?
साढे ८ वर्ष जति भयो ।
योभन्दा पहिला के गर्नुहुन्थ्यो ?
यो काम गर्नुभन्दा पहिला माटोको काम गर्थें ।
यो पेसा नै किन रोज्नुभयो ?
मलाई घुम्न जान खुब रमाइलो लाग्छ । अरुअरु पेसामा सजिलै घुम्न जान पाइँदैन । आफूले पढेको पनि छैन, नत्र गाइड बन्न पाइथ्यो । सजिलै घुम्न पाउने पेसा नै गाडी चलाउनु हो जस्तो मनमा आयो । अनि घुम्ने लोभले ड्राइभर बनेँ ।
गाडी चलाएपछि घुम्न जान पाइन्छ त ?
हो नि ! किनभने आफूलाई जुन ठाउँमा घुम्न मन छ, त्यहीँको गाडी चलाउने अनि काम पनि हुने, खान पनि पाइने र घुमेर रमाइलो पनि गर्न पाइन । भएन त मज्जा !
तपाईंले त अहिले इँटा भट्टाका लागि गाडी चलाइरहनु भएको रहेछ, अरु कुन कुन गाडी चलाउनु भयो त ?
धेरै किसिमका गाडीहरु चलाएँ मैले । टिपर, भ्यान, बस के के हो के के !
सबैभन्दा रमाइलो चाहिँ कुन गाडी चलाउँदा भयो त ?
मलाई गुड्ने जति सबै चिज गुडाउँदा रमाइलो लाग्छ । गाडी चलाउनु नै मेरो पहिलादेखिको सपना थियो । छान्नु पर्यो भने चाहिँ टिपर रमाइलो भन्छु ।
टिपर चाहिँ किन रमाइलो नि ?
खासगरी म मेरो टिपरमा धान लिन तराईतिर गइरहनु पर्छ । काठमाडौँबाट तराईसम्मको यात्रा हुन्छ । त्यहाँको वरपरको वातावरण हेर्न, घुम्न पाइन्छ नि त !
तपाईं आफू मात्र घुम्नु हुन्छ कि परिवारलाई पनि घुमाउनु हुन्छ ?
म आफू मात्र जान्छु । म घुम्ने भनेको कामको सिलसिलामा नै हो । अरुसँग घुम्ने भनेको वर्षको एकचोटि हो । भर्खरै मात्र परिवारसहित गोसाइकुण्ड गइयो ।
तपाईं आफूमात्रै घुम्दा तपाईंकी पत्नी रिसाउलिन् नि त !
ऊ त घरकै काममा व्यस्त हुन्छ, घुम्ने फुर्सद नै हुँदैन । अनि किन रिसाउनु नि !
अनि वर्षको एकचोटि पैदल यात्रामा जाने चाहिँ किन ?
अँ, वर्षभरि गाडी चलाउँदा खुट्टालाई एक्सरसाइज पुगेको हुँदैन । त्यसैले त्यत्तिकै त हिँड्न मन लाग्दैन । बरु धर्म पनि हुने र कसरत पनि हुने भनेर टाढा हिँड्नुपर्ने ठाउँमा गइन्छ ।
ड्राइभरको जातै बेमान भन्छन् नि ?
होइन, हामीले त मिहिनेत गरेर खाने हो । चोरेर, ठगेर खाने होइन ।
किन सोच्छन् त त्यस्तो ?
खै, मेरो विचारमा हामीले सफा लुगा लगाएको हुँदैन, त्यसैले हो कि !
यो काम गरेर सन्तुष्ट हुनुहुन्छ ?
अँ, यही कामले घर चलाएको छु ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सद त हुँदैन । भए पनि १–२ घन्टाको हुन्छ । यत्तिकै बित्छ । हाम्रो काममा फुर्सद नै हुँदैन भन्दा पनि हुन्छ । फुर्सद हुनलाई त बिरामी नै पर्नुपर्छ । अफिसको जस्तो हाम्रो १०–५ को फिक्स समय हुँदैन । जहिले टिप भयो, त्यति बेला हिँड्नुपर्छ ।
गाडी चलाउनेका अहिले समस्या के रहेछ ?    
ट्राफिक नै हो समस्या त ! जे कुरामा पनि फाइन तिर्न मात्र लगाउँछन् । हामी त मान्छे नै होइन जसरी व्यवहार गर्छन् । गाडी चलाउने चलाकप्रतिको दृष्टिकोण नै नराम्रो हुने ।
 

 

Leave A Comment