गुणस्तर र सेवाले सफलता

मङ्गलबार, १४ कार्तिक २०७४, ०१ : ५२ दिलीप पौडेल
गुणस्तर र सेवाले सफलता

भारतको राजस्थान उद्गम थलो रहेका मनिष गोयलका परिवार लामो समयदेखि नेपालमा विभिन्न व्यवसाय गर्दै आएका छन् । पुस्तौनी व्यवसायलाई निरन्तरता दिँदै आएका गोयल अहिले मोडुलर किचनको व्यवसायमा तल्लिन छन् । भान्सा के कस्ता सामान प्रयोग गर्ने लगायतका विषयमा क्लासिक मेकरका प्रबन्ध निर्देशक मनिष गोयलसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँले के सेवा दिनुहुन्छ ?
आफ्नो भान्सा आकर्षक, गुणस्तरीय होस् भन्ने सबैको चाहना छ । उपभोक्ताको बजेटको क्षमता अनुसार मोडुलर किचनको सेवा दिँदै आएका छौं । मुख्यगरी चिम्नी, चुला, माइक्रोओभन, डिसवासर लगायतका समान उचित मूल्यमा बिक्री गर्छौं । मोडुलर किचनका पार्टहरु उपलब्ध गराउँछौं । चिम्नी बिग्रिएपछि सामानको अभाव हुन्छ तर हामीले १० वर्षसम्म पार्ट उपलब्ध गराउँछौँ ।
एउटा किचनको लागि कति खर्च लाग्छ ?
राम्रो एउटा किचन दुई लाखदेखि १० लाख रुपैयाँसम्म खर्च लाग्छ । उपभोक्ताको रुचि र बजेटमा भरपर्छ ।
अन्यको तुलनामा यहाँले दिने सेवामा के फरक छ ?
हामीले मोडुलर किचन बनाएर दिँदैनौं । उपभोक्ताले छनोट गरेका सामान उपलब्ध गराउँछौं । प्रयोगकर्तालाई सधैँ सामान ठीक प्रयोग भयो कि भएन भन्ने चिन्ता हुन्छ । उपभोक्ताले आफ्नै हातले सामान किनेर लगेर आफैँ बनाएपछि ढुक्क हुन्छ । उचित सामान प्रयोग गरिएन कि भन्ने आशंका हुँदैन । हामीले सामानमा एक वर्षको वारेन्टी पनि दिएका छौँ ।
प्रयोगकर्ताले किन क्लासिक मेकरका सामान प्रयोग गर्ने ?
एक दसक लामो यो क्षेत्रको अनुभवबाट हामी परिपक्क भएका छौँ । प्रयोगकर्तालाई गुणस्तरीय सामान उपलब्ध गराउने हाम्रो पहिलो प्राथमिकता हो । हामीले बिक्री गर्ने सामान ब्रान्डेड र टिकाउ रहेका छन् । किचनमा प्रयोग हुने सामान छिटो–छिटो फेर्न नमिल्ने भएकाले हामीले ब्रान्डेड सामान उपलब्ध गराउँछौं । जस्तै हामीले बिक्री गर्ने स्टिलको ग्रेड ३ सय ४ रहेको छ । यसको लाइफटाइम वारेन्टी छ । बजारमा भने तपाईंले २ सय २ ग्रेडका सामान पनि पाउनु हुन्छ । ग्रेडको अन्तरले मूल्यमा करिब २५ हजार रुपैयाँ फरक पर्ला तर हामीले गुणस्तरमा सम्झौता गर्दैनौं ।
बजार कस्तो रहेको छ ?
मोडुलर किचन हाइप्रोफाइलले मात्र गर्न प्रयोग गर्ने मान्यता भए पनि अहिले यसमा सबैको आकर्षण बढेको छ । किचनका सामग्रीको बजार बढ्दै गएपछि प्रतिस्पर्धा निकै बढेको छ । उपभोक्तामा चेतनाको अभाव रहेको छ । पछिल्लो समय गुणस्तरीय सामान खोज्नेको संख्या बढ्दो छ । प्रयोगकर्ता इन्टरनेट सर्च गरेर सामान र कम्पनीको लिस्ट बोकेर आउँछन् । त्यो सेवा पूरा गर्न सक्नुपर्छ ।
यो व्यवसायका जटिलता के छन् ?
व्यवसाय गर्न निकै प्रतिस्पर्धा छ । खतिपय सामानमा घाटा खाएर बेच्नुपर्ने अवस्था छ । बाहिरबाट देखेजस्तो छैन । प्राविधिक कामदारको अभाव पनि उत्तिकै छ ।
कहाँबाट सेवा दिनुहुन्छ ?
काठमाडौंको त्रिपुरेश्वर र पुतलीसडकमा हाम्रो आफ्नै आउटलेट छन् । इटहरी, बिराटनगर, बिर्तामोड, बुटवल लगायतका ठाउँमा रहेका हाम्रा डिलरबाट सेवा लिन सकिन्छ ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
वस्तु तथा सेवाको बजार नै मुख्य हो । गुणस्तर र सेवाले सफलता दिलाउँछ । धैर्य गर्न सक्नुपर्छ । समय लाग्छ । तर सफलता सुनिश्चित छ ।  
व्यावसायिक यात्रालाई कसरी अघि बढाउनु भएको छ ?
हाम्रो पुस्तौनी व्यवसाय हो । हार्डवेयर, होटल, टायल, सेनेटरी सामानको व्यापारपछि मोडुलर किचनमा आएका हौं । मोडुलर किचनको सम्भावना र भविष्य देखेपछि यो व्यवसायलाई बिस्तार गरिरहेका छौं ।
यहाँको नयाँ योजना ?
एउटै छानामुनि पूर्ण रुपमा इन्टेरियर सेवा दिने । डिजाइन र सामान उपलब्ध गराएर उपभोक्तालाई सन्तुष्टि हाम्रो उद्देश्य हो ।

Leave A Comment