मोडलको खडेरी

मङ्गलबार, १४ कार्तिक २०७४, ०१ : ४६ मनोज घर्तीमगर
मोडलको खडेरी

म्युजिक भिडियो होस् वा कुनै विज्ञापन मोडलिङ । मोडल खोज्नका लागि धेरैको रोजाई बनेको थियो पोखरा । मोडलिङमै करियर बनाउने योजनाका साथ पोखरामा एकताका मोडलहरु निकै जुर्मुराए । सबैलाई सोचेजस्तो कहाँ हुनु र ? मोडलिङमा हाम फाल्ने मोडलमा पनि यो कुरा अपवाद बन्न सकेन । पछिल्लो समय पोखराका मोडलहरु धमाधम पलायन भएका छन् ।
एकताका मोडलिङको मानक बनेको पोखराको समयले कोल्टे फेरेको छ । यतिबेला पोखरामा मोडलको खडेरी परेको छ । कुनै बेला पोखरामा बसेर धेरै मोडलले राम्रो अवसर पाए पनि सोचेजस्तो नभएको भन्दै उनीहरु धमाधम पलायन भएका हुन् । मोडलिङ क्षेत्रमा हाम फालेकाहरु अहिले पोखरामा हैन कोही विदेश पुगिसकेका छन् भने कोही पोखरामै निस्क्रिय छन् ।
सुन्दर युवतीहरूको सहर पोखरा यतिबेला भने मोडेलकै अभाव बेहोर्दैछ । र्याम्पमा हिँड्ने उत्कृष्ट मोडेल भेट्नै गाह्रो छ अहिले । पेपर मोडलिङमा उपस्थिति नै छैन । फाट्टफुट्ट भिजुअल मोडलिङमा केही अनुहार देखिए पनि निरन्तरता छैन । पोखराका मोडलहरू धेरै पलायन भइसकेका छन् ।
एकताका चर्चामा रहेका मोडलहरु अहिले पोखरामा देख्न पाइँदैन । ‘अहिले त पोखरामा म्युजिक भिडियो सुटिङ गर्दा पनि मोडल पाउनै गाह्रो भएको छ,’ निर्देशक नेत्र गुरुङ भन्छन्, ‘नाम चलेका मोडल पलायन भइसकेका छन् ।’ मोडलिङका लागि नामी सहरका रुपमा चिनिए पनि एकताकाका हट मोडल यस क्षेत्रबाट पलायन भइसकेका छन् । सोचेजस्तो अवसर पनि नपाइने अनि आम्दानीले समेत धान्न नसकेपछि उनीहरु यो क्षेत्रबाट बिदा लिएका हुन् । त्यति मात्रै हैन पोखरामा पछिल्लो समय मोडलिङप्रतिको आकर्षण पनि घट्दै गएको देखिन्छ ।
पुराना मोडल पलायन भएपछि पछिल्लो समय देखिएका केही नयाँ अनुहारले पनि मोडलिङलाई निरन्तरता दिन सकेका छैनन् । पोखराबाटै मोडलिङ राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएकी बबिना शर्मा हराएको धेरै भइसक्यो । मोडलिङमा लागेर नाम पाए पनि दाम नपाएपछि रेखा पुरी जापान पुगिसकिन् । धेरैले मोडलिङ गराउँदा पारिश्रामिक कम दिए भने कतिले त सित्तैमा काम गराउन खोजेको रेखाले सुनाइन् । ‘मोडलिङमा भविष्य नदेखेर यो क्षेत्रबाट टाढा भएकी हुँ ।’ थुप्रै म्युजिक भिडियो, ब्युटी कन्टेस्ट, फेसन सो रेखाबिना खल्लो हुन्थ्यो भने धेरै राष्ट्रिय पत्रपत्रिकामा उनी आवरण मोडलका रुपमा समेत देखा परिन्, तर अहिले उनी यो क्षेत्रबाट टाढा भएकी छन् ।
मोडलिङमै राम्रो भविष्य बनाएकी अपेक्षा केसी पनि हराइसकेकी छिन् । केही चलचित्रमा समेत अभियन गरेर दर्जनौँ फेसन सोमा क्याटवाक गरेकी केसी विवाह गरेर बेलायत पालायन भएकी हुन् । मोडलिङबाटै आफ्नो पहिचान बनाएकी प्रिया हिराचल पनि यो क्षेत्रबाट निराश भएर बेलायत पुगेकी छन् । यस क्षेत्रमा लागेर कुनै उपलब्धि नदेखेपछि आफू विदेश पलायन हुनुपरेको उनको दुखेसो छ । सुन्दरी प्रतियोगितामा उपाधि जित्ने अधिकांश मोडल मोडलिङ क्षेत्र छाडेर विदेश पलायन भइसकेका छन् । पहिलो मिस टिन पोखरा सरिना गुरुङ पनि अध्ययन गर्न विदेशिएपछि मोडलिङमा फर्किनन् । मिस टिनकै उपाधि जितेर केही गीतमा मोडलिङ गरेकी अनु ढकाल पनि अमेरिका पलायन भइन् ।
गतिविधि सुस्तायो
मोडलहरुको पलायनसँगै पोखरामा मोडलिङसम्बन्धी गतिविधिमा समेत हुन छाडेका छन् । साता बिराएर हुने फेसन सो कम भए तर ब्युटी कन्टेस्ट बढे । नियमित रुपमा फेसन सो गर्दै आएको पोखराको आइएफसी फेसन कलेजले अहिले फेसन सोहरु गर्न छाडिसकेको छ । ‘फेसन सो गर्न पोखरामा मोडलहरुको अभाव छ,’ फेसन सेन्टरका प्रबन्धक तथा फेसन डिजाइनर नवीन पाख्रिनले भने, ‘मोडलहरुको पलयानले फेसनसम्बन्धी कार्यक्रममा कमी आएको छ ।’ पुराना मोडलको पलायन र नयाँ अनुहारहको आगमन नहुँदा मोडलिङको चहलपहल घटेको हो ।
कुनै बेला पोखराको मोडलिङलाई उचालेका सकिला गुरुङ, श्रृजु उदास, कोमल हिराचन, रोशनी गुरुङ, हिमा गुरुङ, लक्ष्मी गुरुङ, रिना गुरुङ, सोनम विष्ट लागायतका दर्जनौं मोडलले यो क्षेत्र छाडिसकेका छन् । केही म्युजिक भिडियो र सुन्दरी प्रतियोगितामा सहभागिता जनाएकी मोडल कोमल हिराचन यो क्षेत्रमा लागेर खासै उपलब्धि हासिल हुन नसकेको बताउँछिन् । उनी बेल्जियम पुगिसकेकी छन् । उनले मोडलिङमा लागेर सफलता हासिल गर्न नसकिएको बताइन् । पोखरामा हुने फेसनसम्बन्धी कार्यक्रममा मोडललाई काम लगाउने आयोजकहरुले पारिश्रामिक नदिने काम मात्र लगाउने गरेको मोडलहरुको आरोप छ । कमाउने उद्देश्य राखी कार्यक्रम गर्ने र कोहीले मोडललाई प्रयोग गर्दै आम्दानी बटुले पनि त्यसको आम्दानी नबाँड्ने गरेको नवीन बताउँछन् ।
फोटो सेसनका लागि मोडलहरुको लाम लाग्ने पोखराका वेभवसाइटहरुमा अहिले मोडलहरुको तस्बिर राख्न समेत हम्मे परेको छ । ‘केही वर्षअघिसम्म फोटोसेसन गर्न आउनेहरुले हामीलाई हैरान गर्थे,’ जक्सन डटकमका सिइओ भूपालकुमार गुरुङ भन्छन्, ‘अहिले त मोडल खोज्दै हिँड्दा हैरान छ ।’ उनले मोडलहरुमा आएको हैरानी र नैराश्यता अनि पलायन गर्दा मोडलिङमा कमी आएको बताए ।पोखरामा हुने मोडलहरु प्रायगरी मंगोलियन अनुहार भएको र उनीहरु पछिल्लो समय विदेश जाने लहर चलेकाले पनि पोखरामा मोडलहरुको कमी आएको हो । मिस कल्चरको उपाधिसँगै थुप्रै ब्युटी कन्टेस्टहरुमा सहभागिता जनाएकी लक्ष्मी गुरुङ पनि हङकङ पलायन भएकी छन् । उनले मोडलिङमा भविष्य नदेखेर विदेशिनु परेको बताइन् ।

Leave A Comment