नपिउने एक्लिदै

मङ्गलबार, १४ कार्तिक २०७४, १२ : ५८ शिक्षा रिसाल
नपिउने एक्लिदै

युवावस्था विशेष अवस्था हो । यो तन्नेरी काल नयाँ नयाँ अनुभव लिने मात्र नभई आफ्नो नयाँ सर्कल बनाउने अवसरको रुपमा धेरैले लिन्छन् । कलेज पढ्ने, करियर सुरु गर्ने, घुमघाम गर्ने मात्र नभई नयाँ नयाँ लत सुरु पनि यस्तै समयमा हुन्छ ।
अघिल्ला पुस्ताहरु गाउँघरमा रोदीघरमा रम्थे । पिउन मन पराउनेहरु र समाजले वर्जना नलगाएकाहरु खुलमखुला रोदीघरमै लोकल रक्सी पिउन थाल्थे भने पिउन चाहने तर वर्जित समुदायकाहरु लुकीलुकी पिउँथे । अहिलेको पुस्तामा भने यस किसिमको परिदृश्य फेरिएको छ । सहरका युवाहरुमाझ क्लब जाने, पार्टी गर्ने, गेट टुगेदर गर्ने, मस्त पिउने र मस्ती गर्ने चलन बढ्दै छ । यस्तै मस्तीमा रम्नेहरुको आफ्नो सर्कल पनि ठूलो हुने गरेको देखिएको छ ।
आउटिङ मन पराउने र ह्यांगआउट गर्नेहरुको साथी र नेटवर्क विस्तारै बढ्न थाल्छ । पार्टी र क्लब जाँदा नयाँ नयाँ मान्छेहरुसँग भेटघाट हुन्छ र विस्तारै आफ्नो सर्कल बढ्दै जान्छ । पहिले नै चिनिरहेका वा नजिक रहेकाहरुसँगको यो सामीप्यलाई यस्तो अवसरले झनै नजिक ल्याउने अहिलेका युवा पुस्ताहरु बताउँछन् । खासगरी बाहिर ह्यांगआउट गर्न नरुचाउनेहरु भने आफ्नै कलेजका सहपाठी, अफिसका सहकर्मी वा यस्तै एउटा सीमित घेरामै सीमित हुने उनीहरु बताउँछन् ।
काठमाडौंको नयाँ बजारमा बस्ने सिर्जना लामालाई पार्टी, ग्यादरिङ, नाइट आउट एकदमै मन पर्छ । यी ठाउँमा जाँदा जहाँ पनि यस्ता कोही न कोही साथी बनिहाल्ने उनको अनुभव छ । ‘लिबरल फ्यामिलीमा जन्मे हुर्केको भएकाले पनि सानैदेखि ह्यांगआउट गर्ने बानी थियो । ठमेल, दरबारमार्ग, पोखरा, सबैतिरका पवहरुमा ह्याङआउट गरिसकेको छु साथीहरुसँग’, उनी भन्छिन् । नयाँ वर्ष, क्रिसमसजस्ता विशेष अवसर त भइहाल्यो, अरुबेला पनि उनी आफ्नो ग्रुपका पाँच जना साथीहरुसँग रातभर पव जान्छिन्, रमाउँछिन् र मजा लिन्छिन् । ‘जीन्दगी यसरी रमाइलो लाग्छ’, उनी हाँस्दै भन्छिन् ।
पार्टी जान रुचाउने अर्की तन्नेरी हुन् रोशनी बराल । काठमाडौंको धापासीमा बस्ने उनी हप्ताको दुई दिन त पार्टी गरिरहेकी हुन्छिन् । साथीहरुसँग उनी पबमा पनि जान्छिन् र रमाउँछिन् पनि । मदिरा बिनाको पार्टी त के पार्टी र ? ‘साथीहरुको ग्यादरिङमा पनि रक्सी भोड्का हुन्छ हुन्छ नै । अहिलेको बद्लेको समाजमा साथीहरुसँगको जमघटमा पार्टी नभइ रमाइलो हुन्न पार्टीमा दारु’, उनी भन्छिन् । ‘दारु’ अहिलेको नयाँ जेनेरेसन मा ट्रेन्ड नै भइसकेको बराललाई लागेको छ । विदेशी संस्कृति, टेलिभिजन, इन्टरनेटबाट प्रभावित भएर पनि मदिराप्रतिको आकर्षण बढेको हुन सक्ने उनको अनुमान छ । ‘हामी त दिदीबहिनी र परिवारसँग बसेर पनि रमाइलो गर्छौ’, उनी थप्छिन् ।
अहिलेका तन्नेरीहरुको पार्टी मोह र ‘दारु’ मोह देख्दा कोही यसबाट अछुतो छन् जस्तो लाग्दैन । कुनै खुसियाली भयो भने ‘लु, दारु खाम्’, केही दुःख प¥यो भने ‘उफ् लोधर लाग्यो, दारु खाम्’ भन्ने चलन छ । ‘दारु’ खान बहाना खोज्नेहरुको जमात पनि बढ्दो छ । यही ‘दारु’ ले साथीहरुको सञ्जाल पनि बढाएको पिउनेहरु बताउँछन् ।
तर यही सहरमा ‘दारु’ नखानेहरु पनि प्रशस्तै छन् । व्यक्तिअनुसार मानिसको स्वभाव फरक हुनु स्वभाविक हो । अन्य मानिस जे गर्छन्, त्यही भिडमा कुद्नुपर्छ भन्ने उनीहरुलाई लाग्दैन । काठमाडौंको कलंकी बस्ने प्रशान्त गौतम आफ्ना साथीहरु मनोरञ्जन गरिरहँदा आफू अध्ययन गरेर वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रमबारे जानकारी लिएर रमाइरहेका हुन्छन् । उनलाई यसैमा आनन्द लाग्छ । अन्य मानिसहरु भन्दा फरक स्वभाव अर्थात अन्तरमुखी हुनुको अर्थ सामाजिक भइँदैन भन्ने कुरा गलत भएको उनलाई लाग्छ । ‘बरु जो मानिसले अरुको लहलहैमा लागेर काम गर्छ र साथीभाइको मात्र भर पर्छ, त्यस्तो मानिस कुनै बेला गलत बाटोमा पनि जान सक्छ । साथीभाइको भिडमा नरमाउने मानिस असामाजिक हुन्छन् भन्ने आरोप मध्यपान, धुम्रपान गर्ने तथा पब, डान्सबार तथा डिस्कोमा रमाउनेहरुको हो’, गौतम भन्छन् ।
त्यसो त गौतम आफू पनि एक दुई पटक डिस्कोमा नगएका होइनन् तर त्यहाँको वातावरण, भिडभाडमा एक छिन पनि बस्न सकेनन् । त्यसपछि त्यस्तो ठाउँ मेरो लागि उपयुक्त होइन भन्ने लागेरै गएनन् । जाँड रक्सी, चुरोट खाने त कहिल्यै उनको बानी नै परेन । बरु प्रकृतिसँग निकट हुनु, आधुनिक प्रविधिबारे जिज्ञासु हुनु, कुनै गहन विषयमा अध्ययन गर्नु उनका रुचिका विषय हुन्, जुन विषयप्रति उनका अन्य साथीहरु खासै रुचि राख्दैनन् । बरु जसले जीवनमा बढी मोज मस्ती गर्छन्, उनीहरुको महत्वपूर्ण सयम यस्तै गरेरै बित्छ भन्ने लाग्छ उनलाई । नयाँ पुस्तामा रमाइलो गर्नैपर्ने जुन प्रवृत्ति देखिएको छ, यसले उनीहरुको सिर्जनशीलतालाई हत्या गरिरहेको उनी आरोप लगाउँछन् ।
दाङका शरद केसीका पिउने साथीहरु छन् तर उनी आफूले भने पिउँदैनन् । पहिले पहिले साथीहरुले उनलाई पिउन कर पनि गर्थे तर उनले पिएनन् । सँगै बसेर गफ गर्ने, उनीहरुसँग रमाउने भए पनि पिउन भने कहिले पिएनन् । ‘अचेल साथीहरुले कर गर्न छोडिसके । मन नपर्ने भएकाले अहिलेसम्म खान मन पनि लागेन र खाँदिन पनि’, उनी भन्छन् । उनलाई घुम्न जान, प्रकृतिसँग रमाउन मन पर्छ, र उनी यसैमा आनन्द लिने गर्छन् । नपिएपछि उनलाई कसै कसैले असामाजिक भन्छन् तर पनि उनलाई फरक पर्ने गरेको छैन । ‘आफ्नो आफ्नो इच्छाको कुरा हो, इच्छा लागेको भए त अवश्य म पनि पार्टी गर्ने खाने गर्थे होला तर मन बाट नै नआएपछि म यस्तै नै हो जस्तो लाग्छ’, केसी भन्छन् । सामाजिक हुन त्यस्तै प्रवृत्ति अपनाउनु पर्छ जस्तो पनि उनलाई लाग्दैन ।
मानवशास्त्री सुरेश ढकाल युवाहरुका लागि पार्टी जाने, क्लब जाने भनेको सोसलाइजेसनको माध्यम भएको बताउँछन् । तन्नेरीहरुले शिक्षाको एक्सपोजर र सञ्चार गर्ने माध्यमको रुपमा यस्ता ह्यांगआउटको अवसर प्रयोग गर्ने उनी बताउँछन् । ‘अहिलेका युवाहरु पहिलेजस्तो आफूलाई एउटा सानो सर्कलको रुपमा मात्र सीमित राख्न रुचाउँदैनन्,’ भन्छन्  ‘उनीहरु आफूलाई ग्लोबल युथ बनाउने विधिको रुपमा पनि यस्तो आउटिंग प्रयोग गर्छन् ।’
पार्टी, क्लबजस्ता माध्यम ग्लोबल युथसँग जोडिने माध्यमको रुपमा युवाहरुले लिएका छन् । सँगै यो एउटा क्लाससँग जोडिएको उनको धारणा छ । तर अहिले यसबाहेक पनि पब, बार नजाने युवाहरुले विभिन्न सामाजिक कामहरुमा पनि सामेल भएको उनी बताउँछन् ।
विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्ने युवाहरु ह्यांगआउटमा अभ्यस्त हुने गरेका छन् । डिस्को थेक र मिक्स कल्चर भएका ठाउँका युवाहरुमाझ पार्टी गर्ने चलन बढ्दो भएको समाजशास्त्री सुरज भट्टराईले देखेका छन् । विदेशी फिल्म, अन्तर्राष्ट्रिय मिडियाको प्रभावसँगै साथीहरुको लहडमा लागेर पनि तन्नेरीहरु पार्टी कल्चरमा लाग्ने उनको विचार छ । तर डान्स बार, क्लब, डिस्को जानेहरु मात्र सोसल हुने र नजाने अनसोसल हुने भन्ने कुरामा भने उनी सहमत छैनन् । ‘कोही कोही एक्लोपनले विरक्तिएकाहरु त्यता गयो भने साथी बन्छन् भनेर समेत जाने गर्छन्’, उनी भन्छन् । त्यसबाहेक, विपरीतलिंगीलाई साथी बनाउने र सेक्सुअल नेटवर्कसमेत विस्तार गर्न पनि युवाहरुले पार्टी, क्लबिंगको सहायता लिने गरेको भट्टराई बताउँछन् ।
पहिले पहिले बुबाआमाले छोराछोरीलाई नियन्त्रण गर्थे । कहाँ जाने वा नजाने भन्ने कुरा पनि वयस्कहरुकै निर्णय हुन्थ्यो । तर अहिले बुबाआमाले नियन्त्रण गर्ने चलन पनि कम भएको छ भने छोराछोरी पनि आफ्नो मर्जीमा चल्छन् । जीवनशैली परिवर्तन हुँदै जाँदा यसो भएको भएपनि आमाबुबाले नजर भने राखिराख्नु पर्ने भट्टराई सल्लाह दिन्छन् । तर आफू डिस्को, क्लब वा पार्टी नजाने भन्दैमा आफूलाई अनसोसल ठान्न नहुने उनी बताउँछन् । मान्छेको प्रकृति र स्वभावसँग पनि यस्ता कुरा जोडिएको उनको भनाइ छ ।

Leave A Comment