औषधिमा पनि विदेशकै भर

सोमबार, १३ कार्तिक २०७४, ०१ : २० दिलीप पौडेल
औषधिमा पनि विदेशकै भर

व्यापार घाटा कम गरेर औषधि आयात घटाउने सरकारले नीति लिए पनि औषधिमा विदेशकै भर पर्नुपर्ने अवस्था छ । औषधि उद्योगमा आत्मनिर्भरताको दिशातर्फ उन्मुख गराउन सरकारले स्वेदशी उद्योगलाई प्रोत्साहन गरे पनि ५६ प्रतिशत औषधि विदेशबाट आउने गरेको छ । ४४ प्रतिशतमात्र स्वदेशी उद्योगको हिस्सा रहेको छ ।
५३ वटा एलोपेथिक औषधि उद्योग, ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा भए पनि भ्याक्सिन, बायोटेक्नोलोजी प्रोडक्ट, क्रिटिकल केयर लगायतका अत्यावश्यक औषधि विदेशबाटै आयात हुँदै आएको छ । नेपालमा औषधिको बजार करिब ४० अर्ब रुपैयाँ पुगेको औषधि उत्पादक संघले जनाएको छ ।
करिब ३२ अर्ब रुपैयाँ औषधि बजार दुई÷तीन वर्षको अवधिमा बढेर ४० अर्ब रुपैयाँ पुगेको औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । ‘सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन नगर्दा औषधि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ,’ घिमिरेले भने, ‘सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ ।’
पछिल्लो पटक तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले ३६ वटा औषधि विदेशबाट आयातमा रोक लगाउने निर्णय गरेका थिए । यो निर्णयले थप अवसर सृजना भएको औषधि उत्पादक संघका अध्यक्ष घिमिरेले बताए । ‘नयाँ उद्योग पनि आउने क्रममा छन्,’ घिमिरेले भने, ‘पुराना उद्योगले पनि क्षमता बिस्तार गरिरहेका छन् ।’ सरकारले वातावरण बनाए नेपाललाई चाहिने ७५ प्रतिशत औषधि स्वदेशी उद्योगले पूरा गर्न सक्ने बताए ।
नेपालमा वार्षिक अर्बौं रुपैयाँको औषधि आयात भैरहेको अवस्थामा पछिल्लो समय स्वदेशी लगानीकर्ताले औषधि उद्योगमा लगानी बढाउन थालेका छन् । हरेक वर्ष विदेशबाट औषधि आयात र बजार बढेपछि उद्योगीहरु लगानी गर्न उत्सुक देखिएका छन् ।
नेपालमा ६२ उद्योग दर्ता भए पनि  ५३ उद्योग मात्र सञ्चालनमा भएको औषधि व्यवस्था विभागले जनाएको छ । औषधिको बजार बढेसँगै पछिल्लो पटक करिब एक दर्जन उद्योग आउने क्रममा रहेको औषधि उत्पादक संघले जनाएको छ । स्वदेशी उद्योगले भ्याक्सिन उत्पादन सुरु गर्नु सुखद् भएको विभागका फर्मासिस्ट सुपरभाइरज सञ्जिव कट्टेलले बताए । ‘ट्याबलेट, क्याम्पुल, सिरप मात्र नभएर इन्जेक्सन पनि बनाउन सुरु भएको छ,’ उनले भने ।
यहाँ प्यारासिटामोल, बु्रफिन, एन्टिबायोटिक लगायतका औषधिको उत्पादन सन्तोषजनक रहेको उनले बताए । ‘औषधिको बजार दिनानुदिन बढ्दै गएको छ,’ उनले भने, ‘विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न आवश्यक छ ।’ नेपाली उत्पादनले गुणस्तर कायम गर्न सकेकाले आशालाग्दो सम्भावना भएको बताए ।
यहाँ भारत, चीन, बंगलादेश, अमेरिका, युरोपेली मुलुकका देशबाट औषधि आयात हुन्छ । पछिल्लो पटक केही कम्पनीले न्यून रुपमा औषधि विदेश निर्यात गर्न सुरु गरेका छन् । गत आर्थिक वर्षमा नेपालबाट ७० करोड ८५ लाख रुपैयाँको औषधि विदेश निर्यात भएको भन्सार विभागले जनाएको छ । औषधिको कच्चा पदार्थमा सरकारले कर लगाउँदा उत्पादन लागत बढेकाले प्रतिस्पर्धा गर्न कठिनाइ भएको बताउँछन् । पवलजंग पाण्डेको लोमुस ग्रुपको औषधि उद्योगले उत्पादन गरेको नाभी मलम अफ्रिका, पाकिस्तान, अफगानिस्तान लगायतका मुलुकमा निर्यात भएको छ ।
उद्योगमा लगानी भित्राएर उत्पादन बढाउन सके रोजगारीसँगै आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ । औषधि उद्योगमा करिब ३० अर्ब रुपैयाँ लगानी भैसकेकोले सरकारले कच्चा पदार्थ लगायतका विषयमा उपयुक्त वातावरण सृजना गरेर उत्पादन बढाउन सकिने औषधि उत्पादक संघले जनाएको छ । ‘मानवीय उपचारमा प्रयोग हुने वस्तुलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेर उत्पादनमा सहुलियत दिनुपर्छ भन्ने हाम्रो माग हो,’ घिमिरेले भने, ‘अहिलेसम्म नेपालमै उत्पादन हुन सक्ने औषधि पनि विदेशबाट आयात भैरहेका छन् ।’
विदेश र स्वदेशमा उत्पादन गरेका औषधिहरुले मानव स्वास्थ्यमा खेलवाड गरेको पाइएको छ ।
नेपालमै उद्योग सञ्चालनको तयारी गरिरहेको भारतीय योग गुरु रामदेवले सञ्चालन गरेको बहुराष्ट्रिय कम्पनी पतञ्जली आयुर्वेद केन्द्र प्रालि औषधि गुणहस्तरहीन भेटिएका छन् । पतञ्जलि (दिव्या फार्मेसी उत्तराखण्ड इन्डिया)ले नेपालमा बिक्री गरिरहेका एक दर्जन औषधि गुणस्तरहीन भेटिएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले बजारबाट पतञ्जलिका औषधि ल्याएर प्रयोगशालामा परीक्षण गर्दा यस्तो भेटिएको हो ।
करिब एक सय ८१ औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो । नेपाली बजारमा बिक्री भैरहेका करिब दुई दर्जन औषधि उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका औषधि पनि गुणस्तरहीन (प्रयोग गर्न नमिल्ने) भेटिएका छन् ।  लोमोस फर्मास्युटिकले उत्पादन गरेको (रम्बोमेज–२०)रम्ब्रेप्राजोल सोडियम ट्याबलेट आइपी, नेसनल हेल्थकेयर प्रालि बाराको रोल्फास्ट–२०, डा. रेड्डी ल्याब्रोटोरी प्रालि भारतका रजो–२०, अमटेक मेड प्रालि मोरङको रबीफास्ट–२०, युनिर्भसल फर्मुलेसन प्रालि रुपन्देहीको पेनगार्ड–४०, क्युरेक्स फर्मास्युटिकलको एसिफक्स, एपेक्स फर्मास्युटिकल बीरगञ्जको रबीपेक–२०, पेन्टाजोल–४० लगायतका औषधिले मापदण्ड पूरा नगरेका हुन् । यी औषधि ग्यास्टिकमा प्रयोग गरिन्छ ।  तोकेको सीमाभन्दा बढी मात्रामा जीवाणु पाइएमा औषधिको गुणस्तर कम भएको ठहर्छ । औषधिमा जुन स्पेस्फिकेसन हुनुपर्ने हो त्यो नभएपछि गुणस्तरहीन हुने विभाग अन्तर्गतको परीक्षण शाखाकी निमित्त निर्देशक भावा राजभण्डारीले बताइन् । ‘नमुना परीक्षणमा रिकल गरेपछि सम्बन्धित कम्पनीको त्यो ब्याचका सबै औषधि फिर्ता गर्ने गरिएको छ । नेपालमा स्वदेशी ५३ र विदेशी तीन सय ८१ कम्पनीका औषधि बिक्री हुँदै आएका छन् ।

 

Leave A Comment