चिहानको चर्को समस्या

सोमबार, १३ कार्तिक २०७४, ०१ : ०७ शुक्रवार
चिहानको चर्को समस्या

मानिस नचाहेर जन्मन्छ, नचाहेरै मर्छ । नचाहँदा–नचाहँदै भएको कामले अहिले सोच्नै नसकिने गरी नयाँ झन्झट थपेको छ– कहाँ गाड्ने ? मरेपछि गाड्ने ठाउँको अभाव चर्किएपछि विभिन्न धार्मिक सम्प्रदायमा नयाँ–नयाँ चलन चल्न थालेको छ । क्रिस्चियन (नेपाली भाषामा ख्रिस्चियन) धर्मावलम्बीले समेत जलाउन थालेका छन् । पुष्पा सुवेदी र  भाेला अधिकारीले काठमाडौँमा चर्किदै गरेको चिहान समस्याबारे खोतलेकी छन् ।

‘मारेपाछि काँ लागेर गाड्ने हुन् कुन्नी, देशाँ ठामै छाइन !’ स्वयम्भु कोरा (परिक्रमा) लगाउँदै गरेका वृद्ध ग्वाल्वा डेका शेर्पाले शुक्रवारकर्मीलाई भने, ‘हाम्लाई ता रिन्पोछेले गाड्नुपार्चा भानेपाछि जासारी नि गाड्नैपार्च, नात्रा आत्माले साताउँछ ।’
नेपालमा शेर्पा समुदायमा मानिस मरिसकेपछि रिन्पोछेले गहन ध्यानमा बसी मृत व्यक्तिलाई कसरी सत्गत् गर्ने भनी सुझाउँछन् । सोही आधारमा कसैलाई गाड्ने, कसैलाई जलाउने त कसैलाई काटेर टुक्राटुक्रा पारी चिल–गिद्धलाई भोजन गराउनेसम्मको सुझाव दिने गरेको छ ।
‘जास्लाई जास्तो देखाउँछ, त्यासैगारी आन्तिम सांस्कार नागारे आत्माले दुःखा दिन्छा,’ ग्वाल्वाले गम्भीर हुँदै पाँच वर्षअघिको घटना सम्झिए । एक दिन उनी र उनकी पत्नी स्वयम्भूमा कोरा लगाउँदै थिए । ठ्याक्कै १३ कोरा र १० करोड मन्त्र जपिसकेपछि चक्कर लाग्यो भनेर ढलेकी उनकी पत्नी सदाका लागि बिदा भइन् । पछि रिन्पोछेले हेर्दा उनलाई त काटेर चिललाई भोजन गराउनुपर्ने भयो । पुख्र्यौली ताप्लेजुङको सबै छाडेर काठमाडौं नै बस्न आएका उनीहरुलाई काटेर चिललाई भोजन गराउन साह्रै मुस्किल प¥यो र शव गन्हाउन थालिसकेकाले स्वयम्भूमा जलाए । क्षमा पूजादेखि गर्नुपर्ने सबैकुरा गरिसक्दा पनि आत्मा भट्कन छाडेन । मृतकको आत्माले नातिलाई खुब सताएपछि समस्या समाधानका लागि उनी रिन्पोछेको शरणमा पुगेका छन् । उनले लामो श्वास लिँदै भने, ‘रिन्पोछेसाँगा कुरा ता गारिराहेका छौं, आशा गरौं नातिलाई आत्माले नलैजाओस् ।’

आत्माको झमेला जहाँतहीँ
ओखलढुङ्गाकी एक राई समुदायकी युवती पहिले बाहिर घुलमिल गर्न खुबै रुचाउँथिन् । तर पछिपछि कोठाबाट बाहिर निस्कनै छाडिन् । दिनभर कोठामा बसिरहने र एक्लैएक्लै गुन्गुनाइरहन थालेपछि उनको परिवार डरायो । उपचारका लागि विभिन्न अस्पताल पु¥याई उपचार गराइयो तर उनलाई पटक्कै ठीक भएन । धेरैपछि उनीसँग बल्लतल्ल कुरो फुस्काउन सकियो, उनी दिनभर एक सुन्दरी साथीसँग बात मारेर बस्थिन् । ती सुन्दरी आउँदाखेर मुस्किुराउँदै देख्ने गरेर आउँथिन्, जाँदा पछाडि फर्कन लगाएर पत्तै नदिई सुट्टै जान्थिन् र साह्रै मीठामीठा गफ गर्थिन् । यो कुरो चाल पाएपछि गाउँका जान्ने मान्छेले उनलाई एक धागो दिए र त्यस साथीलाई बाँध्न भने । उनले कसैगरे पनि मानिनन् । साथीले आफूसँग गफ गरेको कुरा कसैलाई नभन्न भनेको भन्दै उनले धागोले बाँध्ने कुरा त असम्भवै जस्तो मानिन् । बल्लतल्ल मनाएपछि उनले एकदिन ती सुन्दरी केटीलाई धागोले बाँधिन् । सुन्दरी तिमीले मलाई चिन्यौ भन्दै रुन थालेपछि धागो निकालिदिइन् र ती जान्ने मानिसलाई दिइन् । जान्ने मानिसले धागो हेराउँदा थाहा भयो, युवतीकी आमा सुन्दरीको भेषमा छोरीसँग गफा मार्न आउँदिरहिछन् ।
आत्मा किन त्यसरी भड्किएछ भन्ने कुरा जान्नेले हेरेपछि थाहा भएछ, बाबु पैसा कमाउन विदेश गएका बेला आमाको अर्कै केटोसँग नाजायज सम्बन्ध बसेछ र त्यसै सम्बन्धबाट उनी गर्भवती भइछन् । गर्भपतन गर्नका लागि गाउँघरमै पाइने जडिबुटीको मात्रा बिग्रिएपछि उनको पेटमा समस्या देखिएछ र त्यसैले उनको ज्यान गएछ । नराम्रो काम गरेको मृत शरीरलाई गाढ्दा आत्मा भड्किएर छोरीलाई दुःख दिन गएछ । चिहानमा गाडेको शवदेखि बाँकी कङ्काल निकालेर जलाएपछि ती सुन्दरी केटी आउन छाडेको राई परिवारको दाबी छ । यो घटना आजभन्दा सात वर्षअघिको हो ।
यस्ता अनौठाअनौठा घटना गाउँघरतिर सुन्न र देख्न पाइनु नौलो कुरा होइन । यसले हाम्रो संस्कृति र परम्परालाई समेत जोडेको छ । नराम्रो काम गरे नर्क र राम्रो काम गरे स्वर्ग जान्छ भनेर मानिसलाई नराम्रा काम गर्नदेखि टाढा राखिएको हुन्छ, जसका कारण मानिसहरु मरेपछि पाइने दुःखको कल्पनामा बाँचुञ्जेल राम्रो काम गर्छन् । अझ कतिपय मानिस त अहिलेदेखि नै परलोक सुधार्न दान दिने गर्छन् । त्यसो त आत्मा, भूतप्रेतका कुरा नेपालमा मात्रै होइन विश्वभर नै प्रख्यात छ, हलिउडका भूताहा विधाका ‘हरर’ फिल्ममा प्रायः भुतप्रेतले नै मानिस सताइरहेको देखाइन्छ ।

आ–आफ्नै संस्कार
२०६८ सालको जनगणना अनुसार नेपालमा २५ भाषा बोल्ने राईहरु छन् । सबैका संस्कृति फरकफरक छन् । वान्तवा राईका सन्तोष निरा भन्छन्, ‘हाम्रो जातका मानिस मरेपछि डाँडामा लगेर गाड्ने चलन छ, जहाँबाट धेरै टाढाटाढासम्म देखियोस् । तर हिजोआज सबै मानिस गाउँ छाडेर सहर पसेकाले गाउँ खाली छ, सहरमा शव गाड्ने ठाउँको समस्या छ,’ उनले गुनासो गरे । केही समयअघि सन्तोषका फुपाजूको काठमाडौंमा निधन भयो । पशुपतिमा गाड्ने ठाउँको अभाव भएपछि शव गाड्न समस्या बेहोर्नुप¥यो । पछि सोर्सफोर्समा शव त गाडियो तर त्यो पनि अरुकै चिहानमाथि परेको परिवारजनको आशंका छ ।
तामाङ समुदायका बौद्धमार्गीको अन्त्येष्टि फरक छ । कुनै तामाङ बौद्धमार्गीको निधनपछिसुरुमा लामा गुरुद्वारा फो (आत्मा र शरीर छुट्याउने कार्य)  गरिन्छ । घरबाहिर निकालिसकेपछि नाचगान गरिन्छ, जसलाई च्योई भनिन्छ । च्योई भन्नाले आत्मा र शरीर छुट्याइसकेपछि भुतप्रेतलाई शरीर दान गर्ने प्रक्रिया हो । लामा गुरु थुप्तेन तामाङका अनुसार भुतप्रेतलाई शरीर दान गर्नाले पुण्य प्राप्त हुन्छ । आत्मा छुट्टिएको शरीरलाई हेराउँदा कहिले डाँडामा, कहिले खोला किनारमा त कहिले जंगलमा गाड्नुपर्ने देखिन्छ, जे देखिन्छ त्यहीअनुसार शव गाड्ने र त्यहाँ साना–साना स्तुप बनाउने चलन भएको तामाङको भनाइ छ ।

क्रिस्चियनले जलाउन थाले
थरीथरीका संस्कृति भएको मानव समाजमा आ–आफ्नै मृत्युसंस्कार छ । जसमा गाड्ने संस्कृतिका मानिसको संख्या पहिलेको तुलनामा बढिरहेको छ । पहिले हिन्दु धर्मावलम्बीको बाहुल्य रहेको देशमा धर्मनिरपेक्ष राष्ट्र भएसँगै ख्रिस्टियन समुदाय पनि बढिरहेको छ । उनीहरुको संस्कारअनुसार मानिस मरेपछि, काठको बाकसमा राखेर गाड्ने र त्यसमाथि बिरुवा रोप्ने चलन छ । ठाउँ अभावका कारण भने केही ख्रिस्टियन समुदायले भने नजिकको आर्यघाटमा जलाउन सुरु गरिसके । काठमाडौं जोरपाटी बस्ने रोहित राई ख्रिस्टियन भएको नौ वर्ष भयो । उनको समुदायका कुनै मानिसको मृत्यु भए जलाइन्छ । ‘जसको जहाँ पायक पर्छ, त्यहीँ जलाउन लैजान्छौं’, राईले भने ।
‘हालै काठमाडौंका कोही पनि पिता, पुत्र र पवित्र आत्मा मान्ने मानिस प्रभुको शरणमा जानुभएको छैन, त्यसैले हाल जलाउनुपरेको छैन तर धरानमा अस्ति भर्खरै एकजना प्रभुको शरणमा जानुभो, उहाँलाई जलाइयो भन्ने सुनेको छु,’ राईले भने ।   

सहरी क्षेत्रमा चिहान समस्या
हिन्दुको पवित्र तीर्थस्थल पशुपतिमा बेलाबेला विवाद परिरहन्छ, कहिले पुजारीका कारण त कहिले चिहानका कारण । ऐतिहासिक र पुरातात्विक महŒवको विश्व सम्पदा सूचीमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी ख्रिस्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको थियो । यही कारण केही ख्रिस्चियनहरु क्रुद्ध छन् । उनीहरुले संसद् अगाडि शवको जुलुस निकाल्ने चेतावनीसमेत दिएका थिए ।


पशुपतिमा शवको जंगल
जनसंख्याको चाप र जमिनको अभावले गर्दा अब शव गाड्ने ठाउँको अभाव हुँदै गएको  छ । यस्तो अभाव पशुपति मन्दिरको पूर्वदक्षिणतर्फ रहेको राम मन्दिरसँगैको जंगलमा विशेषतः राई, लिम्बु, पुरी, गिरि, संन्यासी तथा ख्रिस्चियन समुदायका मान्छेहरुको शव गाडिन्छ । पछिल्लो समय अन्य समुदायले पनि शव ल्याएर गाड्ने गरेका छन् । राई समुदायको मान्छे मरेपछि गाड्ने चलन छ । शवलाई गाड्नुअगाडि जमिन किन्ने काम गरिन्छ । १ रुपैयाँदेखि माथि जतिमा पनि किनिन्छ । जमिन किन्ने मान्छेसँग होइन । त्यही शव गाड्न लागेको ठाउँलाई घडेरी भनेर पैसा दिएर (नाक्सो) धामीले मुन्दम गरेर माग्छ । राई भाषाको भनाइमा धामीलाई नाक्सो भन्ने गरिन्छ । जसले सम्पूर्ण मृत्युसंस्कार गर्छ । रेम्वामा गएर मृतकको स्वर्गमा बास होस् भनेर पुकार गर्ने चलन छ । मृतकका लागि जहाँ घडेरी किनियो त्यसभन्दा अन्यत्र लगेर गाडे अनिष्ट हुन्छ भन्ने विश्वास रहेको प्रियजन राई बताउँछन् । उनी भन्छन्, ‘हाम्रो परम्परा र रीतिरिवाजमा आफ्नै जग्गाजमिनमा गाड्ने चलन छ । काठमाडौँमा जमिन पाउनु गाह्रो भइसक्यो । त्यसैले पशुपतिमै ल्याएर जलाउन थालिएको छ ।’
‘काठमाडौँमा सु गर्ने त ठाउँ छैन, शव गाड्ने त कुरै भएन,’ उनले दुखेसो पोखे, ‘जलाउन मिल्ने भए खोलाको दोभानमा जलाउने गरिन्छ । त्यो पनि मान्छे हेरेर । धेरै समयसम्म रोगी भएको वा कुनै त्यस्तो सार्न सक्ने खालको रोगी भए जलाउने गरिन्छ । तर अहिले सबैलाई जलाउन थालिएको छ । शव गाडिसकेपछि भने शवको वरिपरि ढुङ्गाको गारो लगाएर क्षेत्र छुट्याउने गरिन्छ ।’ यस्तो क्षेत्रलाई  चिहान भन्ने गरिन्छ ।
पशुपतिको जंगलमा थोरै क्षेत्रफल भएको कारण चिहान नै चिहानले भरिइसकेको छ  । यहाँ चिहान बनाउने परम्पराले अबका पिँढीलाई यो ठाउँमा गाडेर चिहान बनाउन समस्या पर्ने देखिएको छ । यस जंगलमा राई लिम्वु, गिरी, पुरी मात्र होइन अन्य समुदायका पनि मान्छेका शवलाई गाड्ने गरिन्छ । १० वर्षसम्म उमेर नपुगेका अर्थात् भर्खरै जन्मिएर मृत्यु भएकाहरुलाई पनि यही जंगलमा ल्याएर गाड्ने गरेका पशुपति विकास कोषले बताएको छ । क्षेत्री बाहुनलगायत केही समुदायका १० वर्षभन्दा मुनिका केटाकेटीको मृत्यु भए पशुपतिको जङ्गलमा ल्याएर गाड्ने गरेका छन् तर चिहान बनाउने चलन छैन ।
नेवार समुदायकी छोरी गुफा नबसेको र छोराको छेवर नभई मृत्यु भएमा गाड्ने चलन छ । यसरी मृत्यु भएमा यही जंगलमा लगेर लाश गाडेर दाहसंस्कार गर्ने चलन छ ।
काठमाडौँका कुना कुनाबाट यो ठाउँमा शव ल्याउने गरेको स्थानीय विवेक वैद्यले बताए । ‘चिहान नै चिहान रहेको यो जङ्गलमा अब शव गाड्नलाई खाली ठाउँको अभाव हुँदै गएको छ,’ वैद्यले भने, ‘अब केही वर्षपछि यहाँ लाश गाड्ने र चिहान बनाउनेका लागि समस्या हुने देख्छु ।’
पहिला पशुपतिको जंगलमा शव गाडेपछि चिहान बनाउने चलन थियो तर तर अहिले ढुङ्गाको गारो लगाएर बेरबार पार्न थालिएको छ । पक्काको चिहान बनाएपछि भोलिका दिनमा अर्को मान्छेको शव गाड्न समस्या हुने भएकाले यस्तो गर्नु परेको पशुपति विकास कोषको भनाइ छ ।

जम्बुडाँडामा लाशको लस्कर छैन
जोरपाटीको नयाँ बस्तीमा रहेको जम्बुडाँडामा पनि लाशको दाहसंस्कार गर्ने गरिन्छ । यो ठाउँमा प्रायः बौद्ध, हिन्दु धर्मका मान्छेहरुको शवलाई दाहसस्कार गरिन्छ । यो ठाउँमा पहिला शव गाड्ने गरिन्थ्यो भने अहिले जलाउन थालिएको छ । उमेरमा सानो ठूलो भए पनि शव गाड्न छाडिएको जम्बुगाड संरक्षण समितिका अध्यक्ष आले लामा बताउँछन् । ‘जमिन अभावका कारण यो ठाउँमा पनि शव जलाउन थालिएको हो,’ उनले भने, ‘तामाङ, शेर्पा लगायतका समुदायलाई विशेष गरी यो ठाउँमा दाहसंस्कार गर्ने गरेको पाइन्छ तर यहाँ जात वा धर्म विशेषलाई दाहसंस्कार गर्न रोकतोक नभएको अध्यक्ष लामाले बताए । ‘हाम्रो देशमा विभिन्न जातजाति र धर्म सम्प्रदायका मानिस बसोबास गर्छन्, यस्तोमा फलानोलाई दिने र चिलानोलाई दिने भन्ने हुँदैन नि, होइन ?’ उनी भन्छन्, ‘यहाँ क्रिश्चियनले लाश जलाउन आए भने पनि स्वागत छ तर गाड्न भने दिइने छैन ।’

लाश आखिर किन नगाड्ने त ?
जनसंख्याको चाप अत्यधिक बढेको र जग्गा जमिनको भाउ अकासिएकाले लाश गाड्ने परम्परा तोडिदै जान थालेको छ । काठमाडौँमा लाश गाड्न खाली जग्गा पाउनै मुस्किल भइसकेको छ । जम्बुडाँडा संरक्षण समितिका अध्यक्ष आले लामा भन्छन्, ‘केही वर्ष अगाडिदेखि नै यहाँ लाश जलाउने गरिएको हो । परम्पराअनुसार अब काम गर्न नसकिने अवस्था सिर्जना भएको छ र समय अनुसार चल्दै जानुपर्ने बाध्यता छ ।’

पशुपतिमा पनि कहाँ कहाँ शव जलाइन्छ  ?
पशुपतिको आर्यघाट गएर हरेक मान्छेले लाश जलाउने देखेका छन् । तीभन्दा बाहेक पनि पशुपतिमा लाश जलाउने ठाउँ छ भन्ने कुरा कमैलाई थाहा नहुन सक्छ । त्यो पनि जातिअनुसार । आर्यघाटको अगाडि रहेको राम मन्दिरसँगै रहेको घाटलाई रामघाट भन्ने गरिन्छ । त्यहाँ विशेष गरेर वैद्य समुदायको लाशलाई जलाउने चलन थियो । पछिल्लो समय भने यसलाई खासै प्रयोगमा ल्याइएको छैन । आफ्नो गुठीअनुसार पनि दाहसंस्कार गरिने गरिएको स्थानीय विवेक वैद्यको भनाइ छ । नेवार समुदायमा पहिला लाशलाई खोला कटाएर लानु हुँदैन भन्ने थियो । त्यसैले यो घाट निर्माण गरिएको उनी बताउँछन् ।

पिङ्गला स्थानको पुलसँगैको घाटमा नेवार समुदायका कथित तल्लो जातलाई जलाइन्छ । विशेषगरी यो ठाउँमा शाही, खड्गी लगायतका मान्छेको शव जलाउने गरिएको थियो । तर अहिले जातभातको कुरा हटेसँगै यो ठाउँमा शव जलाउन छोडिएको छ । जसको मृत्यु भए पनि अहिले पशुपतिकै आर्यघाटमा जलाउन थालिएको छ । अहिले यो घाट प्रयोगविहीन हुँदै गएको स्थानीय प्रदीप खड्गीले बताए ।

चिहान महँगिदा सर्वसाधारणा मारमा

पृथ्वीमा मानिसको जनसंख्या दिन–प्रतिदिन बढिरहेको छ । यति धेरै मानिसहरुले खाना र नाना कसरी पाउलान् ? सबैले रोजगारी कसरी पाउलान् भन्ने ठूलो प्रश्न उब्जिन थालेको छ । बढ्दो जनसंख्यालाई रोकिएन भने यसले प्रकृतिलाई असर गर्छ तर ज्यूँदाभन्दा पनि मुर्दा अहिले संसारका लागि बोझ बनिरहेको छ भन्ने तपाईंलाई थाहा नहुन सक्छ ।
धेरैजसो देशका लागि मुर्दा समस्या बनिसकेका छन् । जो मान्छे मर्छ, उसको शरीरलाई गाड्ने कि जलाउने भन्ने समस्या देखिन्छ । यो प्रश्नले संसारलाई नै चकित पारिदिएको छ । त्यसैले त अहिले मुर्दाघर, स्मशान घाट विस्तार, वृहत् र ठूला बनाइँदैछन् । कतिपय सहरमा त मुर्दाका लागि बहुतल्ले घर निर्माण गरिँदैछ । मुर्दाको संख्या यसरी नै बढिरहने हो भने ज्यूँदाका लागि बस्ने ठाउँको अभाव हुने केहीको आँकलन छ । अहिले मरेका मानिस गाड्न यस्तो समस्या भएको छ कि पुरानो चिहान खनेर त्यसमा एक साथ दुई तीन जना मानिसलाई गाड्ने बेला आइसकेको छ । धेरैजसो युरोपेली मुलुकमा चिहानका लागि जमिनको भाउ निकै नै महँगो बनिसकेको छ ।  
बिबिसीको रेडियो सिरिज ‘द इनक्वारी’ मा यस पटक मारिया मार्गारोनिसले यो कुरालाई गहिरो रुपमा प्रस्तुत गरेकी छन् । उनले संसारभरिका मुर्दा र चिहान विज्ञसँग यस विषयमा कुरा गरेकी थिइन् । उनकै खोजको परिणति नै मुर्दाहरु संसारकै ठूलो समस्या बनिरहेको खुलासा भएको हो ।
संसारमा मानिस मात्र एउटा यस्तो जीव हो, जसले मृत आफन्तहरुको सम्मान गर्छ । यसले मानिसहरु सभ्य भएको कुरा देखिन्छ । इतिहासकार थाम्स लेक्युरले यस विषयमा ‘द वर्क अफ ए डेडः द कल्चरल हिस्ट्री आफ मोर्टल रिमेन्स’ भन्ने नामको किताब लेखेका थिए । थाम्सले एक ग्रिक दार्शनिकको कथा सुनाएका छन् । जब डायोजिन्सका प्रशंसकहरुले उनको मृत्युपछि उनको मृत शरीरलाई के गर्ने भन्ने प्रश्न सोधेका थिए ।
उनले उत्तरमा भनेका थिए, ‘म मरेपछि मेरो मृत शरीरलाई फ्याँकिदिनू ।’ त्यसपछि एक जना विद्यार्थीले भनेका थिए, ‘यसो गर्दा त मृतात्माको अपमान हुनेछ । यसो गर्दा जनावरले लाशलाई खाइदिन्छन् । त्यसपछि डायोजिनसले जवाफमा भनेका थिए, ‘उसो भए तिमी मलाई एउटा लौरो दिनु, त्यही लौराको बलले म आपूmलाई बचाउँछु ।’ फेरि विद्यार्थीले भने, ‘तपाई मुर्दा भएर कसरी जंगली जनावरबाट आपूmलाई बचाउनु हुन्छ ?’ डायोजिनसले भने, ‘म यही कुरा त तिमीलाई बुझाउन खोजिरहेको छु । म मरेपछि मेरो लासलाई जे भए पनि के फरक पर्छ र ?’
तर हरेक मान्छेको सोच डायोजिनसको जस्तो हुँदैन । त्यसैले धेरै वर्षदेखि मानिसको सभ्यतामा मुर्दाहरुलाई मान दिने चलन छ । संसारका सबै सभ्यतामा मुर्दा वा लासको सम्मानलाई बढी नै महŒव दिने गरिन्छ । पारसीले पनि लासलाई पहाडको टुप्पोमा राख्ने चलन छ । अन्य धर्ममा पनि लासलाई गाड्ने र जलाउने चलन छ ।  
अन्तिम संस्कारको चलन कहिलेबाट सुरु भयो भन्ने कुरा अहिलेसम्म कसैलाई पनि पक्का रुपमा थाहा छैन तर इतिहासकार थामसका अनुसार निएंडरथल मानिसहरुले पनि मुर्दाहरुको अन्तिम संस्कार गर्थे । प्राचीन समयमा मिश्रमा राजाहरुको शवलाई लेप लगाएर पिरामिडमा गाड्ने चलन थियो । त्यसै गरेर हिन्दु धर्ममा पनि बाजा बजाएर मानिसको पार्थिक शरीरलाई आर्यघाटसम्म लगेर अन्तिम संस्कार गर्ने चलन छ । संसारका धेरै सभ्यतामा मरेका मानिसहरुलाई गाड्ने चलन रहेको छ । इसाई वा मुसलमानमा मरेको मानिसलाई गाड्ने चलन छ । हरेक समाजले मरेको मानिसको लाससँग नराम्रो व्यवहार गर्नु हुँदैन भन्ने सिकाउँछ । पहिले हरेक समुदायको आ–आफ्नो चिहान हुने गथ्र्यो तर अहिले आएर सहरको विस्तारसँगै यो भेद मेटिँदै जान थालेको छ ।
ग्रिसमा पछिल्लो समय जमिनको कमीले गर्दा अहिले इसाई धर्ममा पनि लासलाई जलाउने चलन आएको छ तर चर्चले यसको विरोध गर्दै आइरहेको छ । यहाँको समस्या के छ भने ग्रिसमा एउटा पनि शवदाह गृह छैन । यो नै ग्रिसका लागि राष्ट्रिय चुनौती बनेको छ । यसैले अब ग्रीसमा पनि एउटा शवदाह गृह खोलिने भएको छ । तर खरानीलाई कहाँ राख्ने भन्ने समस्या आउन सक्ने केहीको आँकलन छ । ग्रिसको जस्तै हङकङमा पनि चिहानको लागि कम ठाउँ भएर हैरान छ । हङकङमा चुङयुङ नामक पर्व मनाइन्छ, जसमा मानिसहरुले खाने पिउने सामानहरु बनाएर आफ्ना पुर्खाहरुको चिहानमा चढाउने गर्छन् । मानिसहरुले चिहानमा कागजको पैसा र अन्य सामानहरु पनि जलाउने गर्छन् । भनिन्छ, त्यस्तो गरिए मृतआत्माले ती सामान पाउँछन् (नेपालीले श्राद्ध गरेजस्तै र श्राद्धमा चढाइएका पिण्ड मृतात्माले ग्रहण गरेजस्तै) ।  यी सामानहरु उनीहरुलाई स्वर्गमा चाहिन्छ भनेर यसरी दिने गरिएको हो ।
अब जुन देशमा ज्यूँदा मानिसलाई बस्न नै गाह्रो छ, त्यहाँ मुर्दालाई गाड्ने ठाउँको व्यवस्था कसरी हुन्छ ? त्यसैले त्यहाँ पनि लासलाई जलाउने चलन सुरु भएको छ । तर जसलाई चिहानमा गएर आफ्ना पुर्खालाई सम्झिनुपर्ने नै हुन्छ, त्यसका लागि के गर्ने त ? यसको विकल्पका लागि नेदरल्यान्डमा डिजिटल चिहान बनाइएको छ । यहाँ मर्ने मान्छेको चिहानको डिजिटल कोड हुन्छ । यस कोडबाट मरिसकेको मान्छेको जानकारी पाउन सकिन्छ । परिवर्तनशील समयसँगै अन्तिम संस्कार गर्ने तरिका र मरेका मानिसलाई सम्झने तरिका पनि परिवर्तन भइरहेको छ ।

Leave A Comment