ब्याङडाँडामा प्रहरी भवन निर्माणार्थ कन्सर्ट

आइतबार, १२ कार्तिक २०७४, १२ : ११ शुक्रवार
ब्याङडाँडामा प्रहरी भवन निर्माणार्थ कन्सर्ट

अस्थायी प्रहरी बिटको भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले झापाको शिवसताक्षीस्थित ब्याङडाँडामा गत शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।  तिहारको अवसरमा पारेर गाई/गोरु पूजाका दिन आयोजित कार्यक्रममा लोकप्रिय ब्यान्ड अनुप्रस्थसहित कलाकारहरु मेलिना राई, डम्बर नेपाली, तारा लक्सम, श्रीकृष्ण लुइँटेल लगायतले दर्शकलाई मनोरञ्जन दिलाए । साइको साइबरनेटिक स्पोटिङ क्लबको आयोजनामा सम्पन्न भएको कन्सर्टको सुरुवात स्थानीय प्रलय ब्यान्डको प्रस्तुतिबाट सुरु भएको थियो । स्थानीय लिबिया माझीले नाचेर दर्शकलाई लोभ्याएका थिए । त्यसपछि गायक डम्बर नेपालीले ‘मलाई बिर्सेर जाने भए जाऊ’सहित उनका आधा दर्जन हिट गीत सुनाए । डम्बरपछि पूर्वाञ्चल आइडियल प्रेम आङ्देम्बले आफ्ना चार वटा गीत सुनाएर दर्शक नचाए ।

सर्वाधिक लोकप्रिय गीत ‘कुटुमा कुटु’की गायिका मेलिना राईको व्यग्र प्रतीक्षामा रहेका दर्शक उनी स्टेज उत्रिनासाथ चिच्याएका थिए । उनले कम्मर हल्लाउँदै आफ्ना आधा दर्जन बढी हिट गीत सुनाएर दर्शक उफारिन् । त्यसपछि हास्य कलाकार श्रीकृष्ण लुइँंटेल ‘बोकेदाह्री’ स्टेजमा चढे । उनी स्टेज चढ्दा पानी परेको थियो । पानीको पर्वाह नगरी उनले ‘ए बा किन्देउन भटभटे’ गीत दर्शकको ‘वान्स मोर’का हुटिङसँगै डबल गाए ।

त्यसपछि गायक तारा लक्सम स्टेज चढे । उनी स्टेज चढ्दा रात परिसकेको थिो । जब उनी ‘तारा राति नै चम्किन्छ’ भन्दै स्टेज चढे तब ताली र हुटिङको वर्षा भयो । उनले आफ्नो रुचाइएको गीत ‘चुम्बक’सँगै आधा दर्जन गीत गाए । त्यसपछि ब्यान्डप्रेमी दर्शकको मुख्य रोजाइ अनुप्रस्थ ब्यान्ड स्टेजमा उत्रियो । समय र मौसमका कारण अनुप्रस्थले आफ्ना हिट गीतहरु ‘दिन त्यो पनि बित्यो’, ‘सम्झेर मलाई’ लगायत तीनटा गीत मात्र गाए पनि दर्शक भरपुर नाचेका थिए ।

पूर्वमा स्टेज किङका रुपमा चिनिएका प्रस्तोता राजेश घतानी र चन्दा खड्काले रोचक प्रस्तुतिसँगै कार्यक्रम चलाएर दर्शकलाई अन्तिमसम्म बाँधेका थिए । संस्थाका अध्यक्ष सुमन लिङ्देनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि स्थानीय समाजसेवी एलपी साँवा रहेका थिए ।

 

Leave A Comment