मेकानिकल इन्जिनियर गायक

सोमबार, ३० असोज २०७४, १२ : १० शुक्रवार
मेकानिकल इन्जिनियर गायक

सुरज खड्का
चर्चित रक गायक रवीन तामाङलाई नचिन्ने कमै होलान् । उनलाई गायकको रुपमा चिन्नेले उनको अर्को प्रतिभा भने थाहा नपाएको हुन सक्छ । तामाङ मेकानिकल इन्जिनियर पनि हुन् । क्यानडामा मेकानिकल इन्जिनियरिङ पढेका उनले क्यानडामै १७ वर्ष जति इन्जिनियरका रुपमा काम पनि गरेका छन् ।
‘बाटो’प्रेमी गीतकार
रमण घिमिरे यस्ता गीतकार हुन्, जो आफ्नो गीत चर्चित हुनुको श्रेय एउटा शब्दलाई दिन्छन् र त्यो शव्द हो ‘बाटो’ । संयोग नै मान्नु पर्छ, उनका धेरै चर्चित गीतमा बाटो शब्द प्रयोग भएको छ । जस्तै ‘एउटै बाटो सधैँ भेटघाट भइरहँदा’, ‘कहिले तिम्रो पछ्यौरीमा अल्झें’, ‘आधि बाटो हिँडेपछि’, ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ आदि ।
नृत्य छाड्ने आनी
आनी छोइङ डोल्मा जति मीठो स्वरमा गीत गाउँछिन्, त्यति नै राम्रोसँग नाच्ने पनि गर्छिन् । एक पटक बबरमहल रिभिजिटेडमा साल्सा गुरु एण्ड्रियुजसँग साल्सा नृत्यको धुँवादार प्रदर्शन गरेकी थिइन् उनले । सार्वजनिक स्थानमा भएको उक्त कार्यक्रममा आनीले गरेको नृत्यलाई लिएर उनको समुदायबाट व्यापक विरोध भयो । त्यसपछि भने आनीले आफ्नो नृत्य कलालाई सार्वजनिक स्थानमा प्रदर्शन गर्न छोडेकी हुन् ।
रोयल्टीबाट फिल्म सोख पूरा
स्वर सम्राट नारायण गोपालसँग धेरै रमाइला र अनौठा किस्सा जोडिएका छन् । त्यसै मध्येको एउटा किस्सा हो, उनको चलचित्र हेर्ने सोख । त्यतिबेला काठमाडौँमा अहिलेजस्तो हप्तैपिच्छे नयाँ चलचित्र प्रदर्शन हुँदैन थियो । त्यसैले नारायणगोपाल आफ्नो सोख भिसिआरमार्फत् पूरा गर्न चाहन्थे तर भिसिआर किन्नलाई एकमुष्ट पैसा हुने कुरै भएन । उनले लामो समय आफ्नो सोखलाई भित्रभित्रै दबाइरहनु परेको थियो । पछि यो कुरा म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले थाहा पाए । त्यसपछि उनले नारायण गोपालको गीतिएल्बमको बिक्रीबाट आएको रोयल्टी जम्मा गरी उनैलाई छान्न लगाएर २७ हजार रुपैयाँ बराबरको भिसिआर किनिदिएका थिए ।
गायक कालीप्रसाद रिजाल
तपाईंले माथिको शीर्षक पढ्दा झुक्किनुभयो होला । कालीप्रसाद रिजाल त गीतकार पो हुन् त भन्नु भयो भने गलत ठहरिनेछ । गीतकार कालीप्रसाद रिजाल पनि एक समय गायक बन्न चाहन्थे र उनको परिचयमा गायक पनि झुण्डियोस् भन्ने कामना गर्थे । गायक बन्नकै लागि रिजाल धरानबाट काठमाडौँ आएका थिए । उनले संगीतकार नातिकाजीलाई भेटेर गीत गाउने वातावरण पनि मिलाइसकेका थिए । नातिकाजीले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि मात्रै गाउन पाउने सुझाव दिए । त्यसका लागि रिजाल रेडियो नेपाल पुगे । रेडियो नेपालमा स्वर परीक्षाका लागि थुप्रै वाद्यवादकले बजाएको संगीतमा लाइभ गीत गाउनु पथ्र्यो । यो दृश्य देखेपछि कालीप्रसादले स्वर परीक्षा दिने हिम्मत गर्न सकेनन् । अन्ततः उनको यात्रा गीत तथा कविता लेखनतर्फ मोडियो ।
अभिनेता शम्भुजित
संगीतकार शम्भुजित बास्कोटा सुरुवाती कालमा संगीतका लागि भन्दा पनि अभिनयका लागि चर्चित थिए । २०२८ सालमा आयोजित एक प्रतियोगितामा उनले ‘भक्त प्रह्लाद’ नाटकमा उत्कृष्ट अभिनय गरेवापत् राजा महेन्द्रको हातबाट स्वर्ण पदक पनि पाएका थिए । शम्भुजितले अभिनय गरेको नाटक हेर्न सो नाटकका लेखक बालकृष्ण सम स्वयं उपस्थित भएका थिए । समले पनि बास्कोटाको अभिनय क्षमताको मुक्तकण्ठले तारिफ गरेका थिए तर बास्कोटाको मन अभिनयभन्दा संगीत सिर्जनामै रमायो ।

Leave A Comment