२५ हजार करोड रुपैयाँका मालिक

सोमबार, ३० असोज २०७४, ११ : ५८ शुक्रवार
२५ हजार करोड रुपैयाँका मालिक

फोब्र्स इन्डिया नामक म्यागेजिनले हालै एक सय भारतीय धनकुबेरहरुको सूचीमा आचार्य बालकृष्ण परेका छन् । रोचक के छ भने धनकुबेरमध्ये सबैभन्दा गरिब चाहिँ यिनै बालकृष्ण र उनका साथी रामदेव पर्छन् । उनी साधारण कुर्ता र लुंगी लगाउँछन् । रामदेव बोलक्कड देखिन्छन्, उनी गम्भीर । रुखविरुवा तथा जडिबुटीप्रति उनको अगाध स्नेह छ । उनी पतन्जली आयुर्वेद लिमिटेड भारतका प्रमुख कार्यकारी अर्थात् सिइओ हुन् । उनी कम्पनीको ९७ प्रतिशत सेयरका मालिक हुन् । उनको कम्पनीले आयुर्वेद तथा स्वदेशी उत्पादनको नारा लगाएरै भारतभर लोकप्रिय भयो भने नेपालमा पनि गहिरोसँग जरा गाडिसकेको छ । फोब्र्स कम्पनीको अनुमानमा बालकृष्ण २५ हजार करोड रुपैयाँको सम्पत्तिमालिक हुन् ।
उनै धनकुबेरसँग हालै एउटा भारतीय मिडियाले गरेको कुराकानीः
फोब्र्सले त तपाईंलाई देशकै धनी व्यक्तिमा गन्यो नि ? कस्तो लागिराछ ?
बालकृष्णः (धुलो लागेको चप्पल देखाउँदै) यसलाई हेरेर भन्नुस्, कस्तो लाग्या होला । कुनै सूचीमा परेर ममा कुनै परिवर्तन आउँदैन । म पहिले जस्तो छु, अहिले पनि उस्तै छु । पहिलेजस्तै बस्छु, पहिलेजस्तै लगाउँछु । मैले लगाउने कपडा पनि एक जना पुराना साथीले सिलाइदिनु हुन्छ ।
यस्तो गरिब हुनुहुँदोरहेछ, सूचीमा कसरी पर्नुभयो ?
म त यी सब कुरा बुझ्दैबुझ्दिनँ । सूचीमा त सेयर बजारमा सूचीकृत भएका कम्पनी मात्र पर्नुपर्ने हो, हाम्रो कम्पनी त त्यस्तो पनि होइन । सकारात्मक कुरा गर्ने हो भने यो त सूचीमै नभएको कम्पनी पनि यति शक्तिशाली छ भनी सूचीको अंश बनाइएको होला । कम्पनी यति शक्तिशाली हुनुमा आम जनता, कम्पनीका उत्पादन र त्यसको शुद्धतामाथिको भरोसालाई मान्न सकिन्छ ।
कम्पनीलाई ५ हजार करोडको भनिएको छ नि ?
त्यै त म बुझ्न सक्तिनँ । यो त हाम्रो हिसाबभन्दा पनि ६ गुणा बढी ठूलो कम्पनी भनियो । हामीले हाम्रा उत्पादनबाट १०–१५ प्रतिशत मात्र नाफा खान्छौँ । त्यो पनि उत्तराखण्ड राज्यको नीतिअन्तर्गत ट्याक्स फ्रि भएकाले । यसबाहेक जे जति पैसा छ, त्यो कसैको गोजीमा छैन, कम्पनीमै छ । त्यो पनि कुनै योजनालाई अघि बढाउनका लागि खर्च भइरहेको छ ।
उसो भए तपाईं आफूलाई धनी मान्नु हुन्न । तपाईंको नियमित खर्च, तलब के छ ? बताउन मिल्ला ?
मेरो सारा खर्च ‘पतञ्जलि’ले हेर्छ । कहाँ जाँदा कति खर्च हुन्छ, कसरी पुगिन्छ, कल्ले टिकट किन्छ मलाई केही थाहा हुँदैन । मलाई गाडीबाट एयरपोर्टसम्म पु¥याइन्छ, मसँग टिकट हुन्छ अनि यात्रामा निस्कन्छु । अनि जहाँ पुग्छु, त्यहाँ पनि लिन कोही आइपुग्छ ।
तैपनि त केही पैसा त राख्नु हुँदो होला नि ?
(टेबुलको ड्रअर खोल्दै) अब हेर्नुस्, यहाँ करिब ४० हजार रुपैयाँ होला । म यहाँ दिनभरि बस्ता आउने आवश्यकताले फिटफिटी परेका मानिसलाई दिन राखेको छु । उदाहरणका लागि, कुनै कर्मचारीको घरमा बिहे होला, कोही मानिसलाई आपत परेको होला । त्यस्ता मानिस आए भने तिनका लागि भनेर राखेको हुँ । माग्न आएको मानिसलाई म ‘हुन्न’ भन्न सक्तिनँ ।
उसो भए तपाईंजस्तो शक्तिशाली व्यक्तिसँग यत्ति मात्रै पैसा ?
हैन, अरु पनि छ । (झोला उठाउँदै) यसमा करिब ४० हजार नगद होला । यो करिब ६–७ महिनादेखि यहीँ छ । खर्चै भा छैन । मेरा हरेक आवश्यकता त्यत्तिकै पूरा भइहाल्छन्, कहाँ खर्च गरुँ ?
पतञ्जलिको सिइओ हुनुको नाताले तलब पनि पाउनु हुँदो हो नि ?
मेरो तलब लिने अकाउन्ट नै छैन, त्यसैले यहाँ काम गरेबापत मैले पैसा पाउने कुरै भएन । फेरि मलाई कुनै किसिमको तलब पनि चाहिएको छैन ।
कुनै क्रेडिट–डेबिट कार्ड त होला नि ?
अँ, मेरो नाममा एउटा क्रेडिट कार्ड त छ तर मसँग छैन । त्यो अफिसमै हुन्छ । त्यो पनि मेरो मजबुरीका कारण बनाइएको हो । विदेशमा मेरो खर्च हेरिदिने अफिस हुँदैन । कुनै किताबरु किन्न मन लाग्यो भने अन्य तरिकाले त किन्न मिल्दैन । फेरि यो क्रेडिट कार्ड कम्पनीको नाममा बनाउन मिल्दो रहेनछ । त्यसैले मेरै नाउँमा बनाइएको हो ।
कुरा त स्वदेशी उत्पादनको गर्नु हुन्छ तर तपाईंसँग आइफोन छ, रेन्ज रोभर गाडी छ नि ?
म केही किन्दिनँ । मेरो सोखले किनेको पनि होइन । मानिसले मलाई छाडिदिन्छन् । यो आइफोन पनि कुनै परिचितले दिएको हो । कसैले मलाई स्वदेशी मोबाइल दिएको भए, त्यही प्रयोग गर्थें होला । जहाँसम्म रेन्ज रोभर गाडीको कुरा छ, जडिबुटीको सिलसिलामा पहाडतिर जानुपर्छ । त्यसका लागि मलाई यस्तो गाडी चाहिएको थियो, जुन गाडी जस्तोसुकै अप्ठेरो ठाउँमा पनि जान सकोस् । फेरि तपाईंलाई थाहा होला, रेन्ज रोभरलाई पनि भारतीय कम्पनीले नै किनिसक्यो ।
फेरि पनि गाडी त विदेशमै बन्ने हो नि ?
के भयो त ? मलाई त प्रविधिको विरोध गर्नुछैन । कम्प्युटर विदेशमा बनेको हो भन्दैमा प्रयोग नगर्नु ? स्वदेशी भन्नाले हामीले भन्न खोजेको परिभाषा बुझ्न आवश्यक छ ।
उसो भए तपाईंको ‘स्वदेशीको परिभाषा’ के हो त ?
विदेशी कम्पनीले देशको सारा पानी र अन्य संशोधनका माध्यमबाट विभिन्न चिज बनाउँछन् । बनाउने देशको र प्रयोग गर्ने देशको पनि । हामीले विदेशीलाई किन नाफा कमाउन दिने ? यी सारा कुरा जिरो टेक्नोलजीका हुन् । स्वदेशमै उत्पादन हुने वा भएका चिज किनेर पनि हामी बाँच्न सक्छौँ नि । विदेशमा पनि स्वदेशी उत्पादन छन् भने विदेशी किन किन्ने ? यसको अर्थ मूर्ख भएर प्रविधि नै प्रयोग नगर्ने भन्ने होइन । प्रविधि चाहिन्छ । उनीहरुको प्रविधि प्रयोग गरेर स्वदेशी उत्कृष्ट सामग्री बनाउनुपर्छ । त्यस्ता सामग्री बनाउन सम्भव छ । आवश्यक पर्ने ठूला मेसिन जर्मनी, जापान, अमेरिका या क्यानडामा बन्छन् । तिनलाई बढीभन्दा बढी प्रयोग गरेर उत्कृष्ट स्वदेशी सामग्री उत्पादन गर्नुपर्छ । उनीहरुका ठूला सामग्री प्रयोग गर्नु नपरोस् भनेर नै हामीले पतञ्जलि रिसर्च फाउन्डेसन बनाएका छौँ । यसका लागि हामीले १५० करोड भारु खर्च गरिरहेका छौँ ।
पतञ्जलि समूहमा तपाईंको भूमिका के छ ?
(हाँस्दै) मेरो काम हुक्का भर्ने हो । भन्नुको अर्थ, पहिलेको जमानामा कुनै घरमा पाहुना आयो भने एउटाको काम नै ती पाहुनाको स्वागतका लागि, तिनको रेखदेखका लागि हुक्का भर्ने काम सुम्पिइन्थ्यो । मेरो काम पनि यहाँ त्यस्तै छ । म दिनभर अफिसमा बसेर अरुका कुरा सुन्छु । सुनेपछि आफूलाई लागेको कुरा भन्छु, आदेश निर्देश दिन्छु । यसबाहेक अरु काम छैन ।
तपाईंको फेसबुकमा हरेक दिन केही न केही टिप्स दिनुहुन्छ । उदाहरणका लागि, कपाल झर्न बन्द गर्न के लगाउने, कति लगाउने, कति दिनसम्म लगाउने तर त्यसमा मिहिनता हुँदैन । खाली बोक्रे सूचना हुन्छ नि किन ?
हो र ? तपाईंको सुझाव लिएँ । म आउँदा दिनमा सटिक र मिहिन सूचना दिने प्रयास गर्छु ।
तपाईंलाई अचाक्ली मन परेको कुनै प्रोजेक्ट ?
हर्बल गार्डेन । त्यहाँ मेरा गाईहरु छन्, हाँस छन् । ती मेरो मुटुका नजिक छन् । यिनीहरुसँग हुँदा म जडिबुटीवाला बालकृष्ण बन्न पुग्छु ।
उसो भए त अफिसमा आफूलाई फँसेको महसुस हुँदो हो ?
सुरुवातमा मलाई त्यस्तै लाग्थ्यो । अहिले चाहिँ लाग्दैन । हिजोआज चाहिँ भिडमा रहँदा पनि जंगलकै अनुभूत गर्न सक्ने भएको छु ।
पतञ्जलि केही विवादमा आयो र तपाईंहरुमाथि केही कारबाही पनि भए । तपाईंको केही भन्नु छ ?
यस्ता घटनाले मलाई चित्त दुखाउँछन् । हामी त अरुको भलाइबारे सोचिरहेका छौँ र पनि यी सब पीडा सहनु परिरहेको छ । देश स्वतन्त्र बनाउनेहरुको कुरा यो देशमा कसैले सुन्दैन भने हामीलाई त कसले पो सुन्ला ? भारतको स्वतन्त्रताका लागि ज्यान दिने भगत सिंहलाई अहिलेसम्म भारतले सहिदको दर्जा दिएको छैन भने योभन्दा अगाडि म के बोलुँ ?
तपाईं र स्वामी रामदेवबीच यति गज्जबको तालमेलको रहस्य के छ हँ ?
हामी भेटेको करिब ३० वर्ष भयो । सुरुमा हामी मिलेर यति अघि बढौँला भनेर सोचेको थिएनौँ । गुरुकुलमा हुँदा उहाँले मलाई पढाउनु हुन्थ्यो । कहिलेकाहीँ म उहाँसँग रिसाउँथे । पछि त भाइजस्तै ठानेर अर्ति दिनुभएको बुझेँ । उहाँ खुल्ला प्रकारको व्यक्ति हुनुहुन्छ । मेरो स्वभाव भने बेग्लै छ । उहाँ धेरै शारीरिक र मानसिक मिहिनेत गर्नुहुन्छ, मेरो स्वभाव त्यस्तो छैन ।
अहिले तपाईंहरुको मिसन के छ ?
अहिले त म १००० देखि १४०० वर्ष पुरानो भारतीय पाण्डुलिपिहरु भेला पारिरहेको छु । यसका लागि मैले खोजी गर्ने साथी बनाइरहेको छु । मैले विश्व योग इन्साइक्लोपेडिया र वल्र्ड हर्बल इन्साइक्लोपेडिया बनाएको छु । हामीले ६० हजारभन्दा बढी मेडिसिनल बोटविरुवाको डाटाबेस तयार गरेको छु । मानिसलाई बिरुवाको नाम त थाहा छ तर तिनलाई चिन्न सक्तैनन् । त्यसका लागि मैले पेन्टिङ तयार गराइरहेको छु ।
तपाईंबारे संसारलाई थाहा नभएको गोप्य कुरा ?
म कविता लेख्छु ।

 

Leave A Comment