‘हाउस अफ होप’ लेडिज ब्यान्ड

आइतबार, २९ असोज २०७४, ११ : ५८ शुक्रवार
‘हाउस अफ होप’ लेडिज ब्यान्ड

रोहित राई
भर्खर १५/१६ वर्षका कलिलो अनुहारहरु । स्कुल र कलेज पढ्ने उमेर । किताब, कलम समाउने तिनका हातहरु जब गिटार, ड्रम, मादल र माइक पक्रन्छ, तब सबैलाई छक्कै पार्ने गरी सांगीतिक प्रस्तुति सुरु हुन्छ । ब्यान्डको नाम हो, ‘हाउस अफ होप’ । ब्यान्डमा सबै लेडिज कलाकार, त्यो पनि टिनएजर्स ।
यति सानै उमेरकाले के गाउलान्, के बजाउलान् भन्ने सोच्नेलाई भने उनीहरुको प्रस्तुतिले चकित तुल्याउँछ । हाउस अफ होप उदाएको धेरै भएको छैन । ब्यान्डले आफ्नो ओरजिनल गीत रेकर्ड गरेको पनि छैन । युट्युबमा अरुकै कभर गीत मात्र गाएर अपलोड गरेको छ भने स्टेज पर्फम गर्दा पनि कभर गीत नै गाउँछन् तर पनि यो ब्यान्डको चर्चा बिस्तारै फैलँदो छ ।

के हो हाउस अफ होप ?
खासमा हाउस अफ होप काठमाडौंको भैँसेपाटीमा रहेको एक संस्था हो । यो संस्था गोपाल मुखिया र उनकी श्रीमती एली मुखियाले करिब २३ वर्षअघि स्थापना गरेका हुन् । त्यहाँ हाल २२ जना बालिकाहरु छन् । उनीहरु मुखिया दम्पतिलाई ड्याडी, मम्मी भन्छन् । मुखिया दम्पति पनि सबैलाई आफ्ना छोरीहरु भन्छन् । त्यही संस्थाका छोरीहरुबाट गीत, संगीतमा रुचि भएका ६ जनाको लेडिज ब्यान्ड बनेको हो, हाउस अफ होप ।
ड्याडी गोपाल गितार बजाउन र मम्मी एली गाउन सिपालु छन् । ख्रिस्चियन धर्म मान्ने उनीहरु बिहान र बेलुकी प्रार्थना गर्दा गाउँथे । एली दार्जिलिङमा कलेज पढ्दा खुब गाउँथिन् । उनीहरुबाट नै प्रभावित छोरीहरुले पनि गीत, संगीतमा रुचि देखाए । ‘४ वर्षदेखि सिकाइरहेको छु, ब्यान्ड बनेको चैँ ३ वर्ष भयो,’ गोपालले भने, ‘हामीमा भएको कला यी नानीहरुलाई किन नदिने भन्ने सोच्यौं, अहिले त अर्को सानो उमेरको पनि टिम बनिसकेको छ ।’
६ जनाको ब्यान्डमा १४ वर्षकी कञ्चन लामा रिदम गितारिस्ट हुन् भने १५ वर्षकी रेसा सुनुवार लिड गितारिस्ट हुन्  । यस्तै, १५ वर्षकी यरुसा भेकलिस्ट छिन्, १६ वर्षीय राहेल मगर बेस गिटारिस्ट, १८ वर्षीय विमला गुरुङ ड्रमर हुन् भने निर्मला गुरुङ ट्रम्पेट र मादल बजाउन खप्पिस छिन् । भोकलिस्ट यरुसा मादल, कञ्जन बाँसुरी र राहल सारङ्गी पनि बजाउन सिपालु छिन् । ‘ड्याडी, मम्मीले गाएको, बजाएको देखेर नै हामीले पनि सुरु गरेका हौं, उहाँहरु नै हो हाम्रो प्रेरणाको स्रोत,’ राहेल भन्छिन्, ‘भविष्यमा पनि लेडिज ब्यान्डका रुपमा हामी अघि बढ्न चाहन्छौं ।’

अभयाले दिएको मौका
ब्यान्डका सबै सदस्यहरु समाजले छोरीलाई गर्ने भेदभाव, हिंसा र अपहेलनाकोविरुद्धमा भविष्यमा सांगीतिक अभियान गर्न चाहन्छन् । यो अभियान लिएर गाउँ गाउँ पुग्ने र छोरीहरु पनि केही कुरामा कम छैनन् भनेर प्रमाणित गर्ने उनीहरुको योजना छ । भोकलिस्ट यरुसा भन्छिन्,‘जे कुरा पनि छोराहरुले मात्र गर्नसक्छ भन्ने धारणा छ, त्यो तोडेर छोरीहरुलाई पनि शिक्षा, अवसर दिनुपर्छ, उनीहरुले पनि गर्न नसक्ने केही छैन भनेर गाउँ गाउँ पुग्ने योजना छ ।’
 भविष्यको योजनामा अहिले ब्यान्ड बिस्तारै पाइला चाल्दैछ । कोठामा कभर गीत गाउदै बसेको ब्यान्डलाई स्टेजमा र राजधानी बाहिर पनि पर्फम गर्ने मौका पाउदैछ । यो ब्यान्डलाई सार्वजनिक गर्ने श्रेय भने कलाकार अभयालाई जान्छ । सन् २०१५ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित एक कार्यक्रममा अभयाले यस ब्यान्डलाई स्टेजमा पर्फम गर्ने मौका दिएकी थिइन् । त्यस स्टेजले नै यस ब्यान्डको परिचय फराकिलो बनायो । ‘हामीले गुराँसै फुल्यो गीतको कभर युट्युबमा हालेका थियौं, अभया दिदीले हेरेपछि हामीलाई स्टेजमा पर्फम गर्न बोलाउनुभयो, त्यो दिन नै हाम्रो ब्यान्डको टर्निङ पोइन्ट भयो,’ राहेल भन्छिन्, ‘बागमती सरसफाई अभियानमा गायौं, धरान आयांै, अब त्रिसरामा अभय दिदीसँगै गाउने कार्यक्रम छ ।’

Leave A Comment