साप्ताहिक ग्रहफल

आइतबार, २९ असोज २०७४, ११ : २२ शुक्रवार
साप्ताहिक ग्रहफल

 डा.राजकुमार सुवेदी
कम्प्युटर ज्योतिष सेवा
२०७४ साल असोज २६ गते विहिबार निस्कने “शुक्रबार” पत्रिकाको लागि असोज २६ गते देखि २०७४ साल कार्तिक ०१ गतेसम्म साताको ग्रहफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्मचारी वर्गमा लाभ हुने र व्यापारिक वर्गमा समय केही प्रतिकूल छ । शुभाशुभ मिश्रित समय रहेको छ । प्रेमिकाबाट सुरुमा धोका दिने योग रहे पनि प्रेम सम्बन्धमा सुधार आई पछि विवाहमा परिणत हुने देखिन्छ । गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । धार्मिक दिनचर्याबाट शान्ति प्राप्त हुने समय छ । दाम्पत्य जीवनमा सुख शान्ति देखिन्छ । भूमि वाहन क्रयसम्बन्धी कार्यमा रुचि नलिनु नै बेस हुन्छ । उदर रोग देखा पर्न सक्नेछ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहनेछ ।   
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुख, शान्ति र खुसी हुने समय छ । वैदेशिक कार्यमा सफलताको योग परेको छ । पानी बिजुलीसम्बन्धी व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा केही ढिलासुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल मध्यम छ । सकभर यो साता सवारी साधन कमै प्रयोग  गर्नुहोला । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । सामान्यतः आर्थिक व्यय भारमा केही वृद्धि हुने देखिन्छ । यात्रामा फल प्राप्त योग छ । आफन्तहरुसँग शुभ भेटघाट हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ । उच्च सम्मानित कार्यमा सहभागी हुनुपर्ने छ । जग्गासम्बन्धी कारोबारमा खर्च बढ्ने छ । साता पूर्वमा राम्रै फल प्राप्त भए पनि अन्त्यमा केही दुःखकष्ट झेल्नुपर्ने छ । साताको अन्त्यमा आर्थिक फल मिल्न छ । सन्तान लाभको योग रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । विदेशस्थित रहेका स्वजनको दुःखकष्ट र अर्थनाश हुन सक्ने समय रहेको छ । सकभर सवारी यात्रा कमै गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ ।   

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आत्मबल, हिम्मत, जोस र जाँगर बढ्ने छ । कार्य आरम्भ गर्दा सामान्य मनस्थितिले मात्र आरम्भ नगरी उच्च आत्मबलका साथ कार्य गर्न सकेमा ठूलै कार्यसिद्धि हुने योग परेको छ । मध्य सातामा चर्म रोग र सामान्य कर्ण रोग हुन सक्ने देखिन्छ । हल्का सवारी साधनको योग छ । मित्र क्षेत्रबाट बाधा छ । सवारी साधनमा यात्रा गर्दा विचार पुर्याएर यात्रा गर्नु होला । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । साझेदारी काममा सावधान हुनुपर्ने छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
 सामाजिक सेवाको काम गर्नु राम्रो छ । बढी नै दौडधुप गर्दा पनि स्वकार्य सफलतामा कठिनाइ आउने छ । पेट, आँखा र दाँतसम्बन्धी अल्पकालीन रोग देखा पर्न सक्नेछन् । साथीभाइ इष्टमित्रहरुबाट अर्थ लाभ हुनेछ । अध्ययनमा शुभ फल मिल्नेछ । साताको मध्य भागमा विदेश यात्राको योग रहेको छ । छोराछोरीको पढाइबाट सन्तोष प्राप्त हुनेछ । काम गर्दा विचार पु¥याएर गर्नुहोला । खानपानमा विशेष ध्यान दिनुहोला । दाजुभाइहरुसँगको व्यापारिक कार्यमा सुधार आउने छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अरुको सहयोग नलिकन आफैँले गरेको कार्यमा सिद्धि मिल्ने छ । दाम्पत्य सुखमा बाधा र शीर, पेट, आँखा, दाँतसम्बन्धी रोगको योग छ । उद्योगसम्बन्धी क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । वैदेशिक होटल व्यवसाय खोल्ने योग देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा व्यय हुनेछ । साताको अन्त्यमा शुभ हुने समय छ । पुरानै निवासमा बस्नु उचित देखिन्छ । सवारी साधनको योग रहेको छ । विद्यार्थीहरुका लागि अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 मान्यजनबाट सहयोग मिल्नेछ । परिवारमा विलासी कार्यले हर्षोल्लास हुनेछ । आफ्नै अस्तित्व प्रभुत्वमा सम्पूर्ण कार्य सिद्ध हुनेछन् । जग्गा, जमिन र सुन क्रयको योग देखिन्छ । वरपरका साथीसंगीहरुबाट केही सहयोग मिल्नेछ । माया, प्रेम आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा कष्ट देखापर्ने देखिन्छ । प्रेमीप्रेमिकाबाट सहयोग हुने समय रहेकाले लाभ, सन्तोष प्राप्त हुने समय छ । परिवारमा माया, ममता र सद्भावको कुनै कमी हुने छैन ।
   
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा सफलता मिल्नेछ । शैक्षिकसम्बन्धी कार्यमा फल सामान्य छ । विद्यार्थीहरुको पढाइमा आंशिक फल मिल्नेछ । वैदेशिक रोजगारको लागि फल शुभ छ । इष्टमित्रबाट सहयोग मिल्नेछ तथा नयाँ काम प्राप्त हुनेछ । उन्नति प्रगति नभई परिवारमा खर्च बढ्ने छ । समग्रमा भाग्य राम्रो छ । घरजग्गासम्बन्धी कारोबारमा अर्थ लाभ छ । पहिलेका जनहरुसँग भेट र अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
कार्य क्षेत्रमा सुधार आउनेछ । विद्यार्थीका लागि अध्ययनशील समय छ । उन्नति प्रगतिको योग आएको छ । वैदेशिक यात्राको समय रहेको छ । साथीभाइहरुबाट सरकारी जागिरको योग छ । रोगले केही समय सताउन सक्ने देखिन्छ । नयाँ साथीहरुसँग तटस्थ सम्बन्ध राख्नु उचित देखिन्छ । ठूला क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । पिता पक्षबाट केही अर्थ लाभ प्राप्त गरी नवीन कार्यको शुभारम्भ हुने देखिन्छ । सामान्यतः कार्य फल राम्रो छ ।  

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
अध्यापन कार्यमा सफलता प्रगति मान सम्मान प्राप्त हुनेछ । कार्यमा दौडधुप बढ्नेछ । साताको अन्त्यमा मुस्किलले कार्य सफलता मिल्नेछ । राजनीति र सामाजिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । व्यापारिक क्षेत्रमा विवाद झेल्नु पर्नेछ, यद्यपि उत्तराद्र्धतिर सामान्य फल मिल्नेछ । रोगको योग छ । प्रेम सम्बन्धमा हल्का नराम्रो देखिएको छ । साताको अन्त्यमा समस्याको समाधान निस्कने छ । आयमा समान्य बाधा छ । सवारी साधन क्रयकोे योगसमेत देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )     
सवारी साधनको योग रहेको छ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । सन्ततिहरुको पढाइ एवं खेलकुदसम्बन्धी क्षेत्रमा सुधार हुने देखिन्छ । परिवारमा सामान्य धन खर्चको योग छ । वैदेशिक क्षेत्रमो फल राम्रो छ । परिवारबाट सुख प्राप्त हुने समय छ । स्वकार्य क्षेत्रबाट सम्मान प्राप्तिको समय छ । पूर्वको स्थानभन्दा नवीन स्थान शुभ हुने देखिन्छ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । सकभर सामाजिक कार्यमा भाग नलिनु नै बेस हुन्छ । वाणी सफल हुने योग छ ।  
 
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)              
उत्साहित हुने समय देखिन्छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । सामान्य नेत्र रोग हुन सक्नेछ । प्रियजनहरुसँग भेट हुनेछ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । वाणी प्रभाव बढ्ने छ । जलक्रिडाको विचार आएमा होसियारीपूर्वक गर्नुहोला । उन्नति प्रगति गर्ने र जग्गा जमिन जोड्ने योग छ । व्यापार व्यावसायमा लाभ, यात्रामा सामान्य बाधा, न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ । पारिवारिक सुखमा वृद्धि हुनेछ । मान–सम्मान प्राप्त हुने योग देखिन्छ ।      

 

Leave A Comment