चाडबाडमा रोगीका खान्की

मङ्गलबार, २४ असोज २०७४, ०१ : १७ शुक्रवार
चाडबाडमा रोगीका खान्की

हामीले भर्खरै दसैंलाई हाम्रो घरआँगनबाट बिदा गर्यौं र अर्कौ चाड तिहारलाई स्वागत गर्ने तयारीमा छौं । चाडबाडको समयमा नेपाली समाजमा सबैभन्दा महत्वका साथ खानेकुरालाई नै हेरिन्छ । काठमाडौं मेडिकल कलेज, सिनामंगलकी जनरल फिजिसियन डा. लक्की शर्माले दीर्घ रोगीले के खान हुने र के खान नहुने भनी सुझाएकी छन् ।

उच्च रक्तचाप  
उच्च रक्तचाप भएका बिरामीले रातो मासु खानु हुँदैन । रातो मासुमा स्याचुरेडेट फ्याट बढी हुने भएकाले रक्तचाप उच्च भएर मुटु रोग बढ्न सक्छ । खानै परे पनि २–४ चोक्टा मासुलाई बोसो तथा छाला निकालेर खानुपर्छ । यस्ता बिरामीका लागि माछा तथा कुखुराको मासु लाभदायक हुन्छ । डिप फ्राई खानेकुरा पनि खानुहुँदैन । काँचो नुन खाने, जाँड, रक्सी, चुरोट आदि सेवन गर्नेजस्ता कुराबाट टाढै रहनुपर्छ । चाडपर्वका निहुँमा आफ्नो नियमित काम छोड्नु हुँदैन । नियमित रूपमा व्यायाम गर्नुपर्छ । बिहान केही समय हिँडडुल गर्नुपर्छ । यति गरे खानेकुरा पचाउन तथा चिल्लो पदार्थको असर कम गर्न सकिन्छ ।

मधुमेह
चाडपर्वका समयमा कतिपयका घरमा भोकै व्रत बसेर पूजाआजा गर्ने चलन छ । यसो गर्दा स्वास्थ्यमा हानि पुग्छ । भोकै बसेर आलु तथा दूध बढी खाँदा शरीरमा चिनीको मात्रा अझ बढ्छ । यसले समस्या उत्पन्न हुन्छ । चाडबाडका समयमा यस्ता बिरामी पनि धेरै हुने गरेका छन् । सुगर उच्च भएर पिसाबमा किटोन आउँछ । यसलाई डायबेटिक किटोएसिडोसिस भनिन्छ । त्यसैले मधुमेहका बिरामी भोकै नबसी खानेकुराका साथमा नियमित औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामी भोकै बस्दा पेट दुख्ने, बान्ता हुने लक्षण देखापर्छन् । यसैगरी इन्सुलिन लिइरहेका मधुमेहका बिरामीले इन्सुलिन नलगाउने, खाना नखाने गर्दा शरीरमा ग्लुकोजको मात्रा कमी भई बेहोस हुने सम्भावना बढ्छ । यसलाई हाइपो ग्लासिमिया भनिन्छ । यस्ता बिरामीले कमजोर महसुस गर्छन् । चिटचिट पसिना आएर बिरामी बेहोस हुन्छ । त्यसैले यस्ता बिरामीले बेलाबेलामा थोरै मात्रामा दूध, फलफूल तथा कालो चिया खाइरहनुपर्छ । यस्ता बिरामीले रातो मासुभन्दा पनि ह्वाइट मिट अर्थात् माछा तथा कुखुराका मासु खानुपर्छ भने क्यालोरीयुक्त खानेकुरा सीमित मात्रामा खानुपर्छ । बिरामीले मासुबाहेक दाल, गेडागुडी, पनीर, दूध, दही एवं तोफु आदि पनि खान सक्छन् । मधुमेहका बिरामीले चाडपर्वको निहुँ बनाएर मिठाई खानुहुँदैन । खानैपरे सुगर फ्रि मिठाई खान सकिन्छ । फलफूल खाँदा पनि ख्याल गर्नुपर्छ । केरा, अनार, आँपजस्ता गुलिया फलफूल नखानु नै वेस हुन्छ । स्याउ, मौसम, सुन्तला दिनको एउटा खान सकिन्छ ।
मुटु रोग
पहिलेदेखि नै मुटुरोग लागेका तथा मुटुको नसा साँघुरिएका बिरामीले चाडपर्व होस् वा अन्य समयमा विशेष ध्यान दिनुपर्छ । आफूले खाने औषधि नियमित सेवन गर्नुपर्छ । रातो मासु नखानु नै उपयुक्त हुन्छ । उच्च क्यालोरी तथा चिल्ला खाना खानु हुँदैन । यस्ता बिरामीको एक्कासि रक्तचाप बढे हर्ट अट्याक हुने सम्भावना बढ्छ । यस्ता रोगीले कुखुराको मासु तथा माछा खानु उपयोगी हुनसक्छ ।
कोलेस्ट्रोल
कोलस्ट्रोलका बिरामीले खसीको मासु, कलेजो तथा फोक्सो खानुहुँदैन । तोरीको तेल तथा घिउमा स्याचुरेटेड फ्याट बढी हुने भएकाले नखानु नै बेस हुन्छ । सोयाबिनको तेल, ओलिभ ओयल आदिको प्रयोग कम हानिकारक हुन्छ । चीज वा गेडागुडी खानुहुँदैन । ह्वाइट मिट तथा माछा यस्ता बिरामीका लागि लाभदायक मानिन्छ । माछा र ह्वाइट मिट खाँदा नतारी थोरै तेलमा पकाएर वा बेक गरेर खानुपर्छ । हरिया सागसब्जी यस्ता बिरामीका लागि फाइदाजनक हुन्छन्, त्यसैले यसमा बढी जोड दिए राम्रो हुन्छ ।
क्रोनिक किड्नी रोग
बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम खानुपर्छ । गेडागुडी तथा कुरिलो पनि खानुुहुँदैन । केरा तथा हरियो सागपात पनि चिकित्सकको सल्लाहमा खानुपर्छ ।
कलेजोका रोगी
अहिले नेपालमा कलेजोका रोगीको संख्या बढिरहेको छ । अल्कोहलका साथै हेपाटाइटिस बी, सीका कारण कलेजोको रोग तथा क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान पु¥याउनुपर्छ । खानेकुरा पचाउन कलेजो आवश्यक हुन्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु तथा मासुजन्य पदार्थ खाँदा दीर्घरोगीले विशेष ख्याल गर्नुपर्छ । बिरामीले उच्च प्रोटिनयुक्त खाना खाँदा दिसाबाट रगत आउने, रगत बान्ता हुने बेहोस हुने आदि हुन्छ । यस्ता बिरामीको संख्या चाडपर्वमा धेरै बढ्ने भएकाले पनि विशेष सतर्कता अपनाउनुपर्छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खाए ज्यानै जान सक्छ ।
यसबाहेक ग्यास्ट्रिक, मोटोपन आदिको समस्या भएकाहरूले पनि चाडपर्वमा मात्रै होइन अन्य बेलामा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै खानेकुरा खानु उचित हुन्छ ।

Leave A Comment