साउदीमा जीवन पर्खंदै युवा

मङ्गलबार, २४ असोज २०७४, १२ : ४३ रुद्र खड्का
साउदीमा जीवन पर्खंदै युवा

नवलपरासी, मध्यविन्दु–४ की ६२ वर्षीया यमकुमारी भुसालको आँखामा आँशु नरोकिएको महिनौं भयो । रोकियोस् पनि कसरी विदेशी भूमिमा कमाउन गएको छोरा उतैको जेल परेपछि यतिखेर यी वृद्धालाई के गरौं र कसो गरौं भइरहेको छ । कमाउन गएको छोरा जेलमा परेको पीडाले यतिखेर न उनलाई रातिमा निद्रा पर्छ । न दिनमा भोक नै लाग्छ ।
सात वर्ष अघि ‘आमा अब हाम्रा दुःखका दिन सकिए...’  भन्दै रोजगारीका लागि साउदी अरेबिया पुगेका ३६ वर्षीय छोरा स्थानेश्वर उतै जेलमा परेपछि उनी बेचैन भएकी हुन् ।
वैदेशिक रोजगारीबाट कमाइ गरी आफू र परिवारलाई सहज गुजारा गराउने उद्देश्य बोक्दै खाडीको तातो भूमिमा हानिएका स्थानेश्वरले त्यहाँबाट कमाइ गर्नु त कता हो कता उल्टै आफैँ समस्यामा परेपछि उनको पीडाले परिवार समेत छटपटीमा परिरहेको छ ।
साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च गरी २०६७ असोज ६ गते रोजगारीका लागि साउदी अरेबिया पुगेका स्थानेश्वरले चलाएको गाडी दुर्घटनामा एक साउदी नागरिकको मृत्यु भएपछि उनको ‘दूर्भाग्य’ सुरु भएको हो । पछाडिबाट आइरहेको ट्रकले  ठक्कर दिएपछि स्थानेश्वरले चलाइरहेको गाडीले अगाडि हिँडिरहेको कारलाई ठक्कर दिँदा साउदी नागरिकको निधन भएको थियो ।
‘साउदी पुगेको १० महिनामै उक्त घटना भएछ,’ यमकुमारीले भनिन्, ‘तर, हामीले भने निकै पछि मात्र त्यसबारे थाहा पायौं ।’ सडक दुर्घटनापछि अदालतको फैसला नआउँदासम्म बाहिरै रहेका स्थानेश्वर पछिल्लो चार वर्षदेखि साउदीको जेद्दास्थित डाबान जेलमा रहँदै आएको त्यहाँस्थित नेपाली नियोगले पीडित परिवारलाई जानकारी गराएको छ ।
इनोभेटिभ म्यानपावरमार्फत साउदी गएका स्थानेश्वरलाई त्यहाँको रोजगारदाताले पछि सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै गाडी चलाउन लगाएको थियो । साउदीको सवारी चालक अनुमति पत्र बन्न नपाउँदै सडक दुर्घटनामा दुई स्थानीको निधन भएपछि त्यहाँको अदालतले दोषी ठहर गरेको हो । जेद्दास्थित नेपाली नियोगले पीडित परिवारलाई दिएको जानकारी अनुसार साउदीका स्थानीय र उच्च अदालतले स्थानेश्वरले चलाएको गाडीबाट एक जनाको निधन भएको ठहर गर्दै एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको  छ ।
अदालतले तोके अनुसार रकम मृतकका परिवारलाई बुझाउन नसके स्थानेश्वर आजीवन साउदीको जेलमा बस्नु पर्ने फैसला समेत अदालतले गरेको छ । यता स्थानेश्वरकी आमाले भने अदालतले तोके अनुसार ‘ब्लड मनी’ बुझाउन आफूसँग कुनै उपाय र सम्पत्ति नभएको गुनासो गर्छिन् । ‘घरमा कमाइ गर्ने एउटै व्यक्ति उही (स्थानेश्वर) हो,’ उनले भनिन्, ‘छोराको हालत त्यस्तो भएपछि मसँग छोरालाई साउदीबाट झिकाउने रकम त के जाँदाको ऋण चुक्ता गर्ने उपायसमेत छैन ।’
‘ब्लड मनी’ बुझाउन ढिला भए जुनसुकै बेला छोराले मृत्युदण्ड पाउने सम्भावना रहेको भन्दै आमा चिन्तित छन् । ‘जसरी हुन्छ, छोरालाई बचाउनु प¥यो भनेर पटकपटक श्रम तथा रोजगार, परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग पुगेँ । तर, कतैबाट पनि ‘ब्लड मनी’ तिर्ने उपाय जुरेको छैन,’ उनले भनिन् । यमकुमारीका अनुसार स्थानेश्वर साउदीको जेलमा परेको खबर पाउनेबित्तिकै उनकी पत्नीले अर्कै व्यक्तिसँग बिहे गरिसकेकी छन् भने पिता रुखबाट लडेर अपांग हुन पुगेका छन् ।
‘यतिखेर घरको काम भ्याउनेदेखि लिएर छोराको उद्धारमा सहयोगी खोज्नेसम्मको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन्, ‘यति गर्दा पनि छोराको उद्धार हुन सकेन भने मलाई पनि बाँच्नु बेकार हुनेछ ।’
स्थानेश्वरलाई सघाउन उद्धार अभियान
साउदीका दुई अदालतबाट ‘ब्लड मनी’ माग गरिएका स्थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले ‘ब्लड मनी’ संकलन अभियान सुरु गरेको जनाएको छ ।  
‘वैदेशिक रोजगारीमा गएका स्थानेश्वरको गल्ती नहुँदा नहुँदै पनि समस्यामा परेको देखिएपछि अदालतको फैसला अनुसार ‘ब्लड मनी’ संकलनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं,’ समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भने, ‘स्वदेश र विदेशमा रहेका नागरिकलाई समस्यामा परेका स्थानेश्वरले जीवनदान पाउने गरी सहयोग गर्न आग्रह गर्छौं ।’ उनले स्वदेश र विदेशमा रहेका कुनै पनि व्यक्ति र संघ, संस्थाले आर्थिक सहयोग गर्न सक्ने बताए ।
पिएनसिसीले रकम संकलनका लागि ग्लोबल आइएमई बैंकमा ३९०१०१००००४०९ नम्बरको खाता खोलेको जनाएको छ । ‘ब्लड मनी’ बुझाउन नसकेको खण्डमा स्थानेश्वरको जीवन विदेशमै समाप्त हुने र जसले गर्दा परिवारको अवस्था पनि खराब हुने भएकाले पीडितलाई सहयोग पु¥याउन आग्रह गरिएको छ ।
पिएनसिसीका महासचिव सोमप्रसाद लामिछानेले ‘ब्लड मनी’ संकलनमा आफ्नो संस्थाले १० हजार रुपैयाँ जम्मा गरेको र अन्य निकायले पनि सहयोग थप्दै जाने बताए । रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका नागरिकलाई पनि विगतमा ‘ब्लड मनी’ तिर्नुपर्ने निर्णय हुँदा विभिन्न संस्थाहरूले त्यस्तै खाले अभियान चलाउने गरेका थिए ।
सरकारी निकाय भने गन्तव्य मुलुकका अदालतले दोषी ठहर गरेका व्यक्तिलाई सरकारी कोषबाट ‘ब्लड मनी’ को व्यवस्था गर्न नसकिने भन्दै पन्छने गरेका छन् । गन्तव्य मुलुकका अदालतले दोषी करार गरेका व्यक्तिलाई सरकारी कोषबाट रकम पठाउन नसकिने अधिकारीहरू बताउँछन् । तर, यमकुमारी भने साउदीमा सडक दुर्घटना हुनुमा छोराको कुनै गल्ती नरहेकाले सरकारी निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने माग गर्छिन् ।

Leave A Comment