फूलको व्यापारले धानेको जीवन

आइतबार, २२ असोज २०७४, १० : ०६ शुक्रवार
फूलको व्यापारले धानेको जीवन

भोला अधिकारी
पशुपतिनाथ मन्दिरको दक्षिण ढोकाबाट गौशाला जाने बाटोमा फूल पसल राख्नेको भिड छ । त्यही भिडमा एउटा सानो नाङ्लामा फूल पसल थापेर बसेकी छन्, ज्योति सापकोटा । फूल बेचेर सानो परिवार चलाउँदै आएकी ज्योति बिहान ५/६ बजेदेखि नै यस कार्यमा खटेकी हुन्छिन् । सिन्धुपाल्चोक चौतारा घर भएकी ज्योति काठमाडौँको मूलपानीमा बस्छिन् । त्यहाँबाट गाडी चढेर बिहानै फूलको व्यापार गर्न पशुपति आइपुग्छिन् । यसरी नै १५ वर्ष बितिसकेको उनले पत्तै पाइनन् । 
फूलको व्यापारमा उनलाई उनका जागिरे पतिले पनि सघाउँछन् । यसैको व्यापार र पतिको आम्दानी दुवैको योगफलले दुई छोरीको शिक्षादीक्षा अघि बढिरहेकामा उनी सन्तुष्ट छिन् ।
सिजनका बेला दैनिक २÷३ हजार आम्दानी गर्ने गरेकी ज्योतिले अचेल फूल बेचेर जीविका धान्न निकै मुस्किल पर्न थालेको बताउँछिन् । ‘खै के कारणले हो, पहिलाको जस्तो दर्शनार्थी पनि आउन छाडेका छन्,’ उनले दुखेसो पोख्दै भनिन्, ‘पहिला पहिला साह्रै राम्रो आम्दानी हुन्थ्यो । पाला पोहोरहरुको दाँजोमा आम्दानी कम हँुदै गएको छ ।’
पशुपति आउने भारतीय पर्यटकबाट बढी आम्दानी हुने गरेको उनी बताउँछिन् । ज्योति भन्छिन्, ‘अचेल त यो व्यापारबाट छोराछोरी पढाउन त के कुरा, घर चलाउनै मुस्किल पर्न थालेको छ । पसल छोडुँ भने अरु काम गर्न जानिएन । पहिलादेखि नै यही फूल पसल राखियो यसैमा रस भिज्यो ।’
संघर्षका सुरुवाती दिनमा पसल राख्दा बाँदरले निकै दुःख दिने गरेको उनी सम्झन्छिन् । ‘अहिले भने त्यसरी दुःख दिएको छैन,’ उनले भनिन्, ‘नत्र पहिला बाँदर धपाउँदै दिन जान्थ्यो ।’ 
पशुपतिजस्तो ठाउँमा बसेर फूलको बढी पैसा लिन मन नलाग्ने उनी बताउँछिन् । यहाँ त पर्ने दामभन्दा पनि महँगोमा फूल बेच्ने गरेको हल्ला छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘अरुले के गर्छन्, कसो गर्छन्, त्यो त मलाई थाहा भएन तर मैले चाहिँ अरुलाई ठग्ने गरेकी छैन । ग्राहकलाई मन परेन भने वा चित्त बुझेन भने कर लगाएर बेच्दिनँ । इच्छा हुनेले भनेको दाममा लैजान्छन् नत्र कर चाहिँ गरिँदैन ।’
महिनाको पाँच सय रुपैयाँ भाडा पशुपति विकास कोषलाई तिरिरहेकामा लामो समयसम्म नलिएको उनले खुलाइन् । ‘तिर्नु त थोरै पर्छ तर निकै वर्ष भयो भाडा मागेको छैन,’ उनले भनिन्, ‘अब एकैचोटी सप्पै पैसा माग्दैछ रे भन्ने हल्ला छ । कसरी पो तिर्ने होेला !’ 
उनले गुनासो गर्दै भनिन्, ‘एक्कैचोटि माग्यो भने त घर चलाउने कि पसल भाडा तिर्ने ! पशुपति विकास कोषले महिना महिनामा भाडा मागेको भए तिर्न गाह्रो हुन्नथ्यो होला तर एकैचोटि तिर्न चाहिँ गाह्रो होला जस्तो छ ।’ 
समाजले काम गरी खाने मान्छेलाई राम्रो नजरले नहेर्ने उनको अनुभव छ । ‘फूल व्यापार गर्दा यसले मिहिनेतपूर्वक काम गरेकी छ, मिहिनेतले खानु राम्रो हो भनेर समाजले हेर्दोरहेनछ,’ उनले सुनाइन्, ‘फूल बेच्दा पनि समाजले नकारात्मक तरिकाले हेर्ने गरेको पाएँ । छरछिमेकले पनि फूल बेच्दिरै’छ...यस्तो उस्तो भन्छन् । पशुपतिमा फूल बेचेकी भनेर खिसी गरेर मैले सुनेँ ।’
कहिलेकाहीँ त समाजको वचनका कारण कस्तो काम गरेछु नि जस्तो पनि उनलाई नलाग्ने होइन तर जहिल्यै परिवारको सहयोग र सकारात्मक सोचले सहयोग गर्ने गरेको उनी बताउँछिन् । ‘भन्नेले जेसुकै भनून्, आफूले मनमा लिने गरेको छैन । काम गरेर खान केको लाज हैन त ?’ उनले प्रश्न गर्दै भनिन् । 
पशुपतिमै फूल बेचेर कतिले काठमाडौँमा घर बनाएका छन् । कतिले मोटर चढेर हिँडेका छन् । त्यसो गर्न चाहिँ ठग्नुपर्ने उनको भनाइ छ । ‘कतिले हेर्दाहेर्दै ठगेर कमाउने पनि देखेँ,’ उनले भनिन्, ‘आफूले त ठग्न पनि जानिएन र कमाउन पनि सकिएन ।’
पशुपति दर्शन गर्न आउनेले फूल पसले भनेर हेपेर बोलेको देख्दा भने उनलाई सबैभन्दा चित्त दुख्छ । ‘बोल्दा पनि कति नै मै हुँ भन्ने पाराका पनि देख्छु,’ उनले भनिन्, ‘त्यसैले कतिपय ग्राहकसँग पनि म त झगडा गर्छु । सानो पसल चाहिँ पसलै होइन, सानो ठाउँमा काम गर्ने चाहिँ मान्छे नै होइनन्जस्तो व्यवहार गर्छन् ।’
‘आउन चाहिँ भगवान्को मन्दिरमा सबैथोक अर्पण गर्न आउँछन्, अहम् चाहिँ अर्पण गर्ने मनसाय देख्दिनँ,’ दार्शनिक हुँदै उनले भनिन्, ‘त्यस्ताले भगवान्को दर्शन गर्नु र दान गर्नुको के अर्थ ?’
उनलाई सबैभन्दा राम्रो लागेको चाहिँ पछिल्लो समय पढे–लेखेका युवायुवतीहरु पनि काम गर्न लाज नमान्नु हो । उनी भन्छिन्, ‘काम भनेको सानो ठूलो हुँदैन, जे काम गर्दा पनि हिम्मतले गर्नुपर्छ । मैले पहिलादेखि नै यही सिकेँ, यही जानेँ । नयाँ पुस्ताले पनि त्यस्तै सोच्दोरहेछ । खुसी लाग्यो ।’

Leave A Comment