बाइकमा प्याचप

आइतबार, २२ असोज २०७४, ०९ : २८ रेणु त्वानाबासु
बाइकमा प्याचप

मोटरसाइकलमा पछाडि को बस्छ ? कसरी बस्छ ? त्यसले उनीहरुबीचको सम्बन्ध प्रस्ट्याउँछ । बाइकपछाडि बस्ने व्यक्ति कसरी बसेको छ, त्यसले उनीहरु आमा, दिदी, बहिनी वा गःलफ्रेन्ड को हो भन्ने अधिकांशले लख काट्न सक्छन् । हिजोआज भने यस किसिमको बसाइमा उति धेरै भिन्नता हुन छाडेको विज्ञहरुको अनुभव छ । कारण ? कारण के भने पछिल्लो समय बजारमा आएका बाइकको डिजाइन र सुलभताले भिन्तता टुटाएको छ । त्यसैले त काठमाडौँ असनका रोसन श्रेष्ठले अन्यलाई चढाउने बाइक र प्रेमिकालाई हुँइक्याउने बाइक नै फरक फरक किनेका छन् ।
रोशनले प्रेमिका घुमाउनै भनेर यामाहाको आर वन फाइभ किनेको दुई महिना मात्र भयो । हुन त दिनहुँ बाइक लिएर उनी पसल जान्छन् तर पसल जान हिरो होन्डा र घुमफिरका लागि आर वन फाइभ चलाउने निधो गरेका हुन् । रोशन भन्छन्, ‘आर वन फाइभ बाइकको पछाडिको सिट २ देखि ३ इन्च माथि उठेको छ । त्यसैले गःलफ्रेन्ड बस्ने बेला ऊ टाँसिन नचाहँदा नचाहँदै पनि टाँसिनु पर्छ । यस्तो बेला कसलाई पो रमाइलो नलाग्ला !’ उनी थप्छन्, ‘बाइकमा पछाडि गःलफ्रेन्ड लपक्क टाँसिदा भित्रबाट नै बेग्लै अनुभूति हुन्छ ।’
बाइक पछाडि को ?
कुनै बेला बाइकमा कुनै महिला पछाडि हाँकेर हिँड्दा कि त ऊ घरकै दिदीबहिनी हुन्थे कि त आमाभाउजू । उनीहरुबाहेक अन्य व्यक्ति बाइकमा चढ्दा समाज र टोलमा खासखुससमेत हुन्थ्यो । केटीका लागि त यो बेइज्जतीको अवस्था हुन्थ्यो । ऊ बाइफाले हुन्थी । आफन्त पर्ने नै कुनै केटी बाइकमा चढे समाजमा कुरा काटिन्थ्यो । अचेल त बाइकपछाडि को चढ्यो, कसैले चासो लिन छाडिसक्यो । 
‘कतिसम्म भने बाइकपछाडि को कसरी बसेको छ भन्ने हेरेर मनोरञ्जन लिने जमाना सुरु भइसक्यो,’ प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन् । उनी थप्छन्, ‘पहिला मोटरसाइकलमा आफ्नो श्रीमतीबाहेक अरुलाई राख्यो भने त्यसको चक्कर चलिराखेको छ, त्यो बाइकको पछाडि बस्ने केटीसँग भन्ने बुझिन्थ्यो । आजकल बाइकको स्टाइल, पछाडि बस्ने व्यक्ति बसेको तरिका हेरेर बाइक पछाडि बस्ने व्यक्ति कुन नाताको हो भनेर थाहा पाउने ट्रेन्ड चलेको छ ।’ कसैले कुनै केटीको इज्जतमाथि आरोप लगाउने बेलामा पनि त्यस केटीको गतिविधि हेरेर औँल्याइने गरेको हाछेथुको भनाइ छ ।
केही वर्षअघिसम्म २९ वर्षीया सविना श्रेष्ठले घरपरिवारबाट केरकारको अनुभूत गर्नुपरेको थियो । उनले भनिन्, ‘पहिलो पल्ट बाइकमा बसेर अफिसबाट घर फर्कका बेला मलाई त प्रश्नको बर्सातै भएको थियो । बाइकमा ल्याउने को हो, ऊसँग नै जाने हो कि, मन पराइराखेको केटा हो कि भनेर सोधेर हैरान । अरु त अरु बिहे नै गरिदिन्छुसमेत भन्दिनु भयो । यस्ता कैयौँ समस्या मैले भोगेँ ।’ अहिले भने यस्ता प्रश्न हुन छाडेको र घरपरिवारको चासोभित्रै पर्न छाडेको बताइन् ।
यस्तै केरकारमा परेकी लक्ष्मी कर्माचार्यले भने कुरा काट्नेको पनि दुई थरी हुने अनुभव बताउँछिन् । भन्छिन्, ‘एउटा भनेको बिहे भएको केटीको कुरा काटिन्छ । बिहे गरिसकेकीले उसको श्रीमान्बाहेक अरु केटासँग बाइकमा बस्नु अपराध मानिन्छ । बिहे भइसकेकी केटी आफ्नो श्रीमान्ले नचिनेको मान्छेसँग बाइकमा बसेर आएको छ भने उनीहरुको झगडा नै  सुरु हुन्छ ।’
अनि बिहे नभएको केटी धेरै केटाहरुको बाइकमा घुमेको देखेको छ भने धेरै केटाहरुसँग सम्बन्ध रहेछ भनी कुरा काट्ने अर्को थरी हुने कर्माचार्यको अनुभव छ । ‘बाइकमा बस्ने महिलामाथि हुने टिप्पणीको समस्या पहिला धेरै थियो । अगाडि नै कुरा काट्थे । अहिले भने पछाडि मात्र कुरा काट्ने गरेको देखेकी छु ।’ 
भक्तपुरस्थित कृष्ण केसीलाई भने अहिलेसम्म आफूलाई कुनै फतुर नलागेको बताउँछन् । ‘मैले त बाइकमा कति केटी बसाएँ तर केही सुन्नु परेन,’ उनले भने, ‘फेरि म केटा मान्छे परेँ । हाम्रो समाजमा केटाले गरेको जुनसुकै गल्ती पनि देखिँदैन । सायद देख्न चाहँदैन । बरु मैले एकजना केटीलाई उसको घर पुर्याएको बेला मलाई उसको बुवाले बोलाएर तिमी मेरो छोरीलाई मनराउँछौ ? बिहे गर्ने हो ऊसँग ? भनेर सोधेका थिए । मलाई त्यतिबेला बडो अचम्म लागेको थियो । त्यसबेलादेखि मैले केटी साथीलाई कहिल्यै पनि घरसम्म पुर्याइनँ । घरछेउमा छोडेर टाप ।’
थापाथलीकी अस्मिता खड्काले भने आफ्नो परिवार पुरानो सोचको नभएका कारण परिवारले कहिल्यै बाइकमा चढेको बारे टिप्पणी नगरेको बताउँछिन् । ‘कुन केटासँग गएको हो भन्ने सामान्य जानकारी त परिवारलाई हुनै प¥यो नि, होइन र ?’ उनले भनिन्, ‘अब छिमेकीको त कुरा गरेरै साध्य छैन । उनीहरुले त केटासँग बाइकमा आएको देखे मात्र यो केटी खत्तम छ, चालामाला ठीक छैन भनी हल्ला फैलाइदिन्छन् । यस्ता कुरालाई लिएर छिमेकीसँग झगडा पनि परिसक्यो । त्यसैले मेरो त छिमेकीसँग बोलचाल नै छैन  तर आजकल भने मेरो विचारमा यस्ता कुराहरु कम हुन थालेको छ ।’ 
उदेकका बाइक
हिजोआज बजारमा विभिन्न किसिमका मोटरसाइकल आइसकेका छन् । केही वर्ष पहिला सिधा सिट भएको मोटरसाइकल थियो । अहिले विभिन्न प्रकारका डिजाइन र सिट भएका बाइक वा दुई पांग्रे सवारी बजारमा छन् । ‘केही वर्ष पहिला मोटरसाइकल चलाउने चालकहरुले जाडो मौसममा आफू काममा बिहानै काममा जाने बेला बाइकको स्पिडका कारण डायरेक्ट छातीमा हावाले असर पार्ने भएकाले उनीहरुले नियमित बोक्ने ब्याग अगाडि राखेर चलाउने गर्छन् ताकि चिसो हावाले छातीलाई असर नगरोस्,’ यामाहा सो रुमका म्यानेजर सुरेश कवां बताउँछन्, ‘यसरी प्रायः जाडो मौसममा ब्याग अगाडि राख्ने गरिन्थ्यो तर अहिले यसको पनि नयाँ फेसन आएको छ ।’ 
‘अहिले मोटरसाइकल चलाउनेहरुले ब्याग अगाडि राख्नुको उद्देश्य हावाबाट छेक्नुभन्दा पनि पछाडि बसेकी केटीको छाति टाँस्ने उद्देश्य हुन्छ । यस्तो चाहिँ गर्मी होस् या जाडो, जुनै बेला पनि यस्तो देख्न सकिन्छ,’ सुरेशको भनाइ छ ।
भक्तपुरबाट दिनहुँ अफिस आवतजावत गर्ने रामचन्द्र प्रजापति भन्छन्, ‘नयाँ–नयाँ बाइक किनेको बेला त म आफ्नो ब्याग पछाडि नै बोक्थेँ । अनि जाडो मौसममा चाहिँ अगाडि राख्ने गर्थें– जाडो र शितबाट बच्न । अहिले मेरो गःलफ्रेन्ड पनि केही वर्षदेखि अफिसमा काम गर्न थालेकी छ । ऊ र मसँगै अफिस जान्छौँ । त्यसैले यो ब्याग म गर्मी मौसममा पनि अगाडि नै राख्ने गर्छु ताकि उसलाई ब्यागका कारण अँगालो मार्न असजिलो नहोस् ।’

सम्बन्ध थाहा हुन्छ बसाइले
पहिला महिलाहरुले सारी लगाउने हुनाले साइड लागेर बस्ने गर्थे ।

सारीमा दुवैतिर गोडा फाटेर बस्न गाह्रो हुन्थ्यो तर अहिले भने प्रायः महिलाले पाइन्ट तथा कुर्ता सुरुवाल लाउन थालेका छन् । त्यसैले उनीहरु दुई साइटमा खुटा राखेर बस्ने गर्छन् । अहिले त्यति सुविधा भएर पनि मान्छेहरुको नयाँ सोख चलेको छ ।

अहिले भने बाइकमा को मान्छे कसरी बसेको छ, त्यो बसाइ हेरेर तिनीहरुबीचको सम्बन्ध थाहा हुन्छ ।
असभ्य बसाइ 
दीपक मानन्धरका नजरमा बाइकमा बस्ने तरिका दुई ओटा मात्र छ । मोटरसाइकल वा स्कुटरमा कि त दुई साइटमा खुटा फारेर बस्ने, कि त एउटा साइटमा मात्र खुट्टा राखेर बस्ने । तर अहिले भने यो दुई तरिकामा पनि धेरै विविधता देखिन थालेको छ । जस्तै मोटरसाइकल चालक र पछाडि बस्ने व्यक्तिको बीचमा कुनै ठाउँमा नरहने गरी चालकमा नै अढेस लागेर बस्ने, बीचमा थोरै खाली हुने गरी बस्ने र पछाडिको मान्छे बाइकको वा स्कुटरको पछाडि टुप्पोमा बस्ने ताकि चालकलाई छोइएलाझैँ होस् । यसरी बस्दा भने चालकलाई ह्यान्डल नियन्त्रण गर्न निकै गाह्रो हुने दीपकको बुझाइ छ ।
‘अचेलका युवायुवती भने समाजलाई नै अपाच्य हुने गरी मोटरसाइकलमा अँगालो मारेर बस्छन् । विशेष गरी रातको समयमा र सुनसान सडक खण्डमा आफ्नो ब्याइफ्रेन्ड वा गःलफ्रेन्डलाई ‘च्याप्प च्यापेर’ बस्ने गर्छन् । बाइकमै किस गर्न पनि पछि पर्दैनन् । अर्कोतर्फ पानी पर्ने समयमा बाइके युवायुवतीलाई चिठ्ठै पर्छ,’ बाइक रिपेयरिङ गर्ने दीपक भन्छन् । 

सीताराम हाछेथु    
ट्राफिक प्रहरी निरीक्षक  
म यो ट्राफिक प्रहरीमा सेवा गर्न थालेको २७ वर्ष भइसकेको छ । यस अवधिमा मैले धेरैथोक देखेँ । पहिलाको मोटरसाइकलको बनावट सिधा र सरल थियो । पछाडि बस्ने व्यक्तिलाई पनि कुनै किसिमको समस्या हुँदैन थियो । साधारण तरिकाले बस्ने गथ्र्यो तर अचेलका भने अनौठै लाग्छ कहिले काहि । पछाडि बस्ने मान्छेहरुका लागि एकदम गाह्रो छ । कसैलाई त्यही चिज राम्रो लाग्छ भने कसैलाई नराम्रो । कसैलाई त्यसरी बसेर आनन्द आउँछ भने कसैलाई असजिलो ।
पछि गएर बाइकको बनाओटमा चेन्ज आयो । सिट पनि आफूले चाहेअनुसार ठूलो वा सानो गर्न मिल्ने । यो भएपछि बाइक चालकले कसलाई पछाडि बसाएको छ भनी सजिलै थाहा पाइन्छ । आफ्नो नातेदार वा परिवारको सदस्य छ भने सिट नर्मलमा राख्ने र अरु कुनै केटी भए चाहीँ सिटलाई ४ इन्चसम्म माथि उठाएर राखेको मेलै देखेको छु । 
बाइकमा पछाडि केटी बसेकी छे, बीचमा ३÷४ इन्चको दुरी छ भने त्यो पक्कै पनि चालककी श्रीमती हुनुपर्छ । किनभने श्रीमतीहरु हत्तपत्त श्रीमानलाई अँगालो हाल्दैनन् । त्यस्तै मोटरसाइकलमा पछाडि केटी छ तर उनी अगाडिको चालकलाई नसमाती करिब ६ इन्चको दुरी राखेको छ भने त्यो पक्कै पनि चिनेको तर नजिकको नातेदार वा साथी होइन भनी बुझ्न सकिन्छ । मोटरसाइकलमा कत्ति पनि दुरी नराखी च्याप्प अँगालो मारेर बसेकी छे भने पछाडि बस्ने केटी पक्कै पनि प्रेमिका हुन सक्ने अनुमान गर्न सकिन्छ । बाइकको पछाडि केटीहरु मात्र होइन, केटाहरु पनि बस्ने गर्छ तर केटाहरु चिने पनि नचिने पनि बस्ने स्टाइल त्यही हुन्छ । त्यसैले उनीहरु को हुन् भन्ने थाहा पाउन अलि मुस्किल छ ।

दुई पांग्रे चालकले ख्याल राख्नुपर्ने कुराहरु :
मोटरसाइकल अत्यन्त कम सुरक्षा भएको सवारी साधन हो । यसबाट कुनै दुर्घटना हुन गएमा मोटरसाइकल चालकलाई नै अत्यधिक चोटपटक लाग्नुका साथै मुत्युसमेत हुने सम्भावना रहन्छ । चालकबाट अलिकति पनि सन्तुलन बिग्रन गएमा दुर्घटना हुन सक्छ । हाम्रो देशमा अभिलेख भएका कुल दुर्घटनामध्ये २५ प्रतिशत दुर्घटनाहरु मोटरसाइकल चालकबाट भएको पाइन्छ । तसर्थ आफू र सडक प्रयोगकर्ताहरुको सुरक्षाका लागि समेत मोटरसाइकल चालकले अत्यन्त सावधानीपूर्वक आफ्नो साधन चलाउनुपर्छ ।
मोटरसाइकल, स्कुटर, मोपेडहरुमा केवल २ पांग्रा मात्र हुने भएकाले यी सवारी साधन चलाउने अन्य चार पांग्रे सवारीभन्दा बढी समन्वय र सन्तुलन आवश्यक पर्छ । खराब मौसमले यी सवारी साधनको सन्तुलनलाई धेरै असर पार्छ । सडकमा टाढाबाट हेर्दासमेत साधनको आकृति अत्यन्त सानो हुने हुदाँ अन्य सवारी साधनबाट बढी खतरा हुन सक्छ । सानो ठाउँमा पनि गुडाउन सक्छु भन्ने आत्मबल बढी हुन गई नियम उल्लंघन गर्ने प्रवृत्ति बाइक चालकमा हुन्छ ।
दुई पांग्रे सवारी चालकले र पछाडि बस्ने मान्छेले शरीर ढाक्ने गरी लुगा लगाउँदा राम्रो । किनभने कारणवश दुर्घटना भए कपडाका कारण चोटपटक कम लाग्छ । तर अचेल जहाँ छोप्नुपर्ने हो, त्यहीँ च्यातेर लगाउने चलन बढेको छ । त्यसैले यस्तो लापरबाही गर्नु हुन्न ।
सुरेश कवां
यामाहा स्वरुम, सल्लाधारी
बाइकमा माथि सिट उठेको मोटरसाइकलले धेरै सुविधा दिने भएकोले यस्तो बाइक चलेको हो तर अहिले मानिसहरुले माथि उठेको बाइक किन्नुको अर्थ नराम्रो बनाएका छन् । किनभने सिट माथि उठेको बाइकमा पनि सजिलो तरिकाले बस्न सकिन्छ । टिन एजरहरुले यस्तो बाइक रमाइलोका लागि प्रयोग गरिराखेको देखिन्छ ।अहिले पछाडिको बाइक उठेकोमा पनि सजिलो तरिकाले बस्न सकिन्छ र बस्ने गरेका पनि छन् । यो पछाडि उठेको बाइकको नराम्रो तरिकाले उपयोग गर्ने भनेको आजकालका युवायुवतीले हो । बाइकमा च्याप समाएर बस्ने । 
अहिले यामाहा कम्पनीले नयाँ नयाँ मोडल निकालेको छ । अहिले चलेको भनेको एफ जि यस, आर वान फ्याव, हो । यो बाइक धेरै चलेको छ ।  यो वाइक किन्न आउनेको संख्या बढेको छ । यसले राम्रो माइलेज दिन्छ । हिमाल पहाड तराई कुनै चिसोमा पनि सजिलै बाइक गुड्छ । हायर सि.सि., मोर पावर भएको मोटरसाइकल खोज्छन् किनभने फ्युल चाहेको, अक्सिजन चाहेको अटोम्याटिकली तान्छ । त्यसले गर्दा फ्युल पनि कम जान्छ । माइलेज पनि दिन्छ । दसैँमा  २५० सि.सि.को एफ जि टु फाइ बाइक चलेको छ । 

दिनेशरत्न बज्राचार्य
सिनियर म्यानेजर, हिरो होन्डा 
अहिले चल्ने मोटरसाइकल र स्कुटरमा तुलना गर्नुपर्दा स्कुटर नै बढी बिक्री भएका छन् । किनभने स्कुटर जसले चलाए पनि हुने र जुन उमेरकाले पनि सजिलै चलाउन सकिने भएको छ । यो तुलनात्मक रुपमा बाइकभन्दा सस्तो पनि छ । 
स्कुटरको किन्नुका कारण भनेको यसमा सामान राख्ने ठाउँ छ । अधिकांश कामकाजी महिलाले स्कुटरलाई नै रुचाएका छन् । हिरो होन्डामा युवकले रोज्ने भनेको अहिले धेरै सि.सि. भएको बाइक हो । अहिले १५० सि.सि. देखि १८० को धेरैले रोज्छन् । अहिले धेरै बिक्री भएको बाइक भनेको सुपर स्पेन्डर हो । यो ३० देखि ४५ वर्षको केटाहरुले रोज्ने बाइक हो । यो पहिलादेखि अहिलेसम्म समान रुपमा बिक्री हुँदै आएको छ ।

Leave A Comment