युवा पुस्ता  धन्यवाद, बूढो पुस्ता जिन्दावाद !

आइतबार, २२ असोज २०७४, ०८ : ५८ शुक्रवार
युवा पुस्ता  धन्यवाद, बूढो पुस्ता जिन्दावाद !

बद्रीप्रसाद दाहाल         

अङ्ग्रेज  मोराहरुले निकै बठ्याइँ झिकेर बूढो पुस्ताको मनलाई सन्चो र सुविधा दिन द्विविधा नभै कति मीठो उखान बनाए छन्, ‘ओल्ड इज गोल्ड ।’ यै उखानको प्रभावले त  नयाँ पुस्ताका ठेट्ना र अल्लारेहरुलाई आस तथा त्रासमा राख्न  वृध्द पुस्तालाई ऋध्द — संवृध्द, सुनौलो वा ज्येष्ठको विशेषणमा रङ्गाएर बूढा पिँढीलाई सिँढी नै चढाइदिएछन् । ज्येष्ठ पुस्ता त हल्लुडो, झ्याउ, भार, टण्टा नभएर श्रेष्ठ हो नि भनेर देखाउन किमती सुनकै उखानको बखानले सिँगारेछन्, खैरे प्रौढहरुले !  हाम्रा नेपाली आहानबाजहरुले पनि ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ भनेर छोरा, नातिनातिना र पनाति पुस्ताबाट मानित हुन धेरै दिमागी कसरतबाट जन्माए होलान् यो उखान ? 
वास्तवमा बूढो हुनु भनेको आफैँले दुःखसाथ आर्जन गरेको सम्पतिमा नयाँ पुस्ताबाट हेपिएर चेपिएर बिरानो बनी एक किसिमको शरणार्थी हुने ‘आश्रित— जीवन’ मृत्युकै सहोदर भाइ रहेछ । परचक्रीका छोरी, नातिनी र पनातिनीहरुले आफ्ना छोरा, नाति, पनाति सबैका दिमाग चाटेर आज्ञाकारी लगाम लगाएको अश्वजस्तै बनाउँदा रहेछन् । ससुराली बढी प्यारो र विश्वासिलो हुँदा ससुरा, जेठान, सालासाली र सासू आमाहरुका अर्ती, उपदेश, सल्लाह साक्षात् अल्लाह मानेर आफ्ना छोरानातिहरु त अरुले नै बहकाए । त्यसैले आफ्नो घरको हैकमको लगाम परचक्रीले समालेपछि वक्री ग्रहहरु मात्र नभएर ईश्वरसमेत आग्रही पो बन्दारहेछन् गाँठे ! 
भजन , धार्मिक प्रवचन र लोकगीत हेर्न सुन्न मन हुने हामी बूढा—बूढीका अभिलाषालाई टीभी च्यानलहरु नै गाइब गरी हेरेको हेर्यै बनाए बा ! तास, भुुटन, करी र रेडलेबलका सिसी फोरेर हिपहप संस्कृतिका विकृतिमा छँटाएकाहरुले भान्सा, बैठक, टेलिभिजन, कम्प्युटर र ल्यापटप सबैमा  एकाधिकार जमाई जगल्टा हल्लाई गाएको कर्कस रक सुन्नपर्दा उत्तरार्ध नै दिक्क वाक्क पो भा छ त ! ‘हरेकृष्ण हरेराम’ त परमधामै पु¥याइ दिए नारन शिव ! कहाँ गएर उजुर गर्ने यो एकछत्र विकृतिलाई हरेदैव ! ! 
सन्चो नभएर खोक्दा र बेथाले गालेर हँ—हँ गर्दा डिस्टप हुने, नातिनी बुहारीका जमातले त हामी बूढाबूढीलाई ‘ओल्ड डग’ जस्तो  भनेर खिसीट्युरी गरी हैरान ! उनीहरुका इष्टमित्र र साथी आउँदा भने भान्सै उज्यालो, हाम्रा ज्वाइँभानिज आउँदा भान्सामात्र नभएर छोरासमेत अँध्यारो बन्दा मलाई त बूढेस काल कहर लागेर तापले मर्न पो रहर जाग्न थाल्यो गाँठे ! आफ्नो रगत, पसिना बगाएर जोखिमी भ्रष्टाचार गरी ऊबेला कमाएको सम्पत्तिमा ‘बाघको छालामा स्यालको रजाइँ’ भनेझैँ मोज र भोजका अधिकारी त तेश्रा व्यक्ति र तिनीहरुका सम्बन्धी बनेको देख्दा मेरो त मुटु नै कुटुकटु खाएर सिरकमा गुटुमुटु बनी नभएको आँसु झार्न मन लाग्छ । घरमा बिग्रेको, भत्केको र फोहर भएको सबै हाम्रै कारणले सम्झेर कयौँ पटक वृध्दाश्रम र पाटीपौवामा लघार्ने चेतावनीमा नयाँ पुस्ता गर्जिएको घटनाले त यो बूढो शरीर मूढो झैँ लोथ्रे कान लगाएर डल्लिनु सिबाय अरु उपाय नै छैन । 
हामीले संस्कृति, परम्पराका बारे बोले भाषण छाँटेको हुन्छ । चित्त नबुझेर केही बोले मात्र ‘मान्छे बूढो भए निउँ खोज्छ, गोरु बूढो भए भीर खोज्छ’ भन्ने उखान फलाकेर ट्वाँ पार्छन् । ‘धमिरा लागेको काठलाई सिकर्मीले पनि पन्छाउँछन्’ भनेझैँ हिजोआज त सबैतिरबाट पन्छिन पर्ने परिवेशले बूढौलीपनदेखि वैराग छुटेर आउँछ । 
वास्तवमा बूढाबूढी भनेको त थारो भैँसी, खोरिया बारी थोत्रा उपकरण जस्तै पो ठान्छन् नयाँ पुस्ता । कतिपय बूढाबूढीका त ज्येष्ठभत्ता पेन्सन र उपदान वा दक्षिणासमेतमा तेस्रो पुस्ता भागवण्डावादी नेताझैँ बनेर र्याल काढ्छन् भनी कानेखुसीमा दुखेसोको पोको फुकाई उदास पो बनेका छन् त ? यसरी दिउँसै रात पार्ने घटना उपघटनाबाट त धर्म, न्याय, नैतिकता र आचारले जिब्रो टोकिसकेको प्रमाणित हुन्छ । पनाति पुस्ता तन बूढो हुनु भनेको विचार थोत्रिनु, सङ्कीर्ण सोचाइहरु जम्मा हुनु वा अन्धविश्वासको पहाड गजधम्म ठडिनु भन्ने जडसूत्रवादी चिन्तनले नयाँ पुस्ता मजैले गाँजियो । यो अपरा विद्याकै कमाल हो । परा विद्याको ह्रास र आध्यात्मिक शिक्षाको बकवासले हामीलाई कता धकेल्दै छ कता ?

Leave A Comment