टुट्यो क्याम्प छिर्ने सपना

शनिबार, २१ असोज २०७४, ०२ : ११ मनोज घर्तीमगर
टुट्यो क्याम्प छिर्ने सपना

लाहुरे बन्न पहिलेजस्तो सजिलो छैन अहिले । न्यून सङ्ख्यामा लिने भएकाले कडा प्रतिस्पर्धा गर्नुपर्छ । लाहुरे देखिने सिजन सुरु हुनै लाग्दा पोखरामा भर्ती देखिने युवाको ताँती लाग्छ । देशका विभिन्न जिल्लाबाट क्याम्प छिर्ने सपना साँचेर पोखरा आउने हजारौं हुन्छन् तर तीमध्ये थोरै मात्र लाहुरे हुन्छन्, बाँकी धेरैको क्याम्प छिर्ने सपना अधुरै रहन्छ ।
पहिले एकै दिनमा हजार सोहर्ने, आज हजारौंबाट सय–सवा सय छान्छ बेलायतले । छनोटमा अब्बल सबैले पनि आफूलाई अब्बल ठह¥याउन सक्दैनन् । असफल हुनेहरु भाग्यलाई दोष दिन्छन् र फेरि अर्काेपटक प्रयास गर्छन् । लाहुरे सपनालाई पछ्याउँदै पोखरा आएका यस्तै युवा हुन्, उरहरी–२ दाङका २० वर्षीय राजु घर्तीमगर । एसएलसी दिनेबित्तिकै पोखरा झरेर लाहुरे बन्न कस्सिएका उनको क्याम्प छिर्ने धोको अधुरै रह्यो । ‘अघिल्लो वर्ष अन्तिममा फालिएपछि यो पटक हुन्छु भन्ने रहर थियो तर फेरि भर्ती देखाउन नपाउनेको लिस्टमा मेरो नाम आयो,’ पोखरामै बसेर टे«निङ इन्स्टिच्युटमा तालिम गरेर छाति तन्काएका उनले भने, ‘मैरे फेरि भर्ती देखाउन नपाउनुको कारण के हो ? यो नखुलाई सिधै नो रिएप्लाई लिस्टमा नाम राखिनु गलत हो । एउटा अपराधीले त आफू किन जेलमा बसे भन्ने थाह पाउनु उसको अधिकार हो भने मैले किन थाह पाइन । बेलायतको यो अनौठो नियम रहेछ ।’

शिक्षित युवाहरु दैनिक बढिरहेका छन् । रोजगारका लागि विदेशिने युवाको कमी छैन । रोजगारी खोज्दै भौतारिनेको जमात ठूलै छ । सिरानीमुनि सर्टिफिकेट राखेर चिन्ता गर्नेहरु त कति हो कति । यही बेरोजगारीलाई चिर्दै लाहुरे बन्न खोज्ने युवाहरुको भिड बर्सेनि  बढ्दो गतिमा छ । देशमा शैक्षिक योग्यता अनुसारको रोजगारी नपाएपछि खाडी मुलुक भासिनुभन्दा वैदेशिक सेनामा भर्ती हुनु कयौं गुणा राम्रो ठान्थे स्याङ्जाका निर्मल गुरुङ । ‘देशमा भनेजस्तो काम पाइँदैन अरब जानुभन्दा लाहुरे हुनु ठीक भनेर ट्राई गरियो । अब कहिल्यै भर्ती देखाउन नपाउने भइयो,’ अनुहार निन्याउरो बनाउँदै निर्मलले भने, ‘ब्रिटिस आर्मीमा भर्ती लागे भाग्य खुल्छ भनेर दुई पटक प्रयास गरियो । अझै उमेर छ, तर अब ब्रिटिसमा देखाउन नपाउने भयो । मेरो पनि नो रिएप्लाई लिस्टमा नाम आयो ।’
सिजन र निर्मल प्रतिनिधि पात्र हुन् । ब्रिटिस आर्मीमा भर्ती हुन चाहने यस्ता थुप्रै युवाहरु छन्, जसको उमेर बाँकी भए पनि भर्ती भिड्न नपाउने गरी लिस्ट तयार गरिदिन्छ ब्रिटिस क्याम्प पोखराले । बर्सेनि थुप्रै युवाहरुलाई नो रिएप्लाई लिस्टमा नाम राखिदिएपछि उनीहरुको भर्ती हुने इच्छामा ताला लाग्छ । किन उनीहरु नो रिएप्लाई लिस्टमा पारियो भन्नेबारे ब्रिटिस क्याम्पले कुनै सूचना दिँदैन । यसरी सूचना नदिनु गलत भएका बताउँछन् ब्रिटिस गोर्खाज ट्रेनिङ सेन्टरका संचालक भूपू गोर्खा नरेश गुरुङ ।  ‘राइट टु इन्फरमेसनका आधारमा पनि नो रिएप्लाई लिस्टमा पारिनेहरुको कारण ब्रिटिस क्याम्पले दिनुपर्ने हो । तर, कुनै सुचना दिइदैन यो गलत कुरा हो,’ नरेश भन्छन्, ‘ऊ किन यस्तो लिस्टमा प¥यो भन्ने त जान्न पाउनुप¥यो नि ! कारण नै थाह नपाएर एउटा योग्य उम्मेद्वार भर्तीबाट वञ्चित हुन्छ । यो वर्ष नभए अर्को वर्ष हुने चान्स पनि त उत्तिकै हुन्छ ।’
विशेष गरी आदिवासी÷जनजाति समुदायका युवा छन्, जो क्याम्प छिर्ने सपना तुुहुइएपछि यता न उताका हुन्छन् । भर्ती नापिनतिर लाग्दा पढाइ लथालिङ्ग हुन्छ । जनजातिलाई मात्रै प्राथमिकता दिइने विदेशी सेनामा केही वर्षदेखि सबै जातिलाई भर्ती लिन थालेपछि अन्य जातिको पनि लाहुरेतिर आकर्षण बढेको छ । प्रमाण हुन्, म्याग्दीका सरोज क्षेत्री । छिमेकी लाहुरेहरुको शानदार जीवन देखेर हौसिएका सरोज जति मेहनत गर्दा पनि भर्ती  लाग्न सकेनन् । ‘गुरुङ, मगर साथीझैं भर्ती लाग्ने रहरले दुई पटक ब्रिटिस र दुई पटक भारतीय सेनाका लागि छाति तन्काएँ । पढाइ मात्रै लथालिङ्ग भयो,’ सरोज भन्छन्,‘अहिले पढ्ने जाँगर पनि आउँदैन के गर्नु ? बरु यति मेहनत गरेर लोकसेवा लडेको भए खरदार, सुब्बामा नाम निस्किसक्थ्यो ।’
वर्षैपिच्छे हजारौँले लाहुरे बन्ने रहर गरे पनि सबैको इच्छा पूरा हुँदैन । यी युवा केही प्रतिनिधि मात्रै हुन्, बर्सेनि लाहुरे बन्न मरिहत्ते गर्ने हजारौं युवाहरु छन् । जो पटकपटक प्रयास गर्दा पनि असफल भएपछि यता न उताका हुन्छन् । भर्तीकै लागि घोटिएर लाग्दा पढाइ डामाडोल भएको तितो अनुभव सुनाउँछन् सुरोज राना । ‘भर्ती भर्ती भन्दाभन्दै पढाइतिर ध्यान गएन । अहिले भर्ती पनि लागिएन । पढ्न पनि मन लाग्दैन,’ निराश हुँदै उनी भन्छन्, ‘अबको गन्तव्य भनेकै खाडी त होला ।’ बेलायती सेनामा नेपालीहरु सन् १८१५ देखि भर्ती भए । भारतीयमा चाहिँ सन् १९४७ देखि ।  यसअघि उनीहरु बेलायत शासित इस्ट इन्डिया कम्पनी सरकारमा भर्ती हुन्थे । यस्तै ९ अप्रिल १९४९ देखि सिंगापुरले पनि त्यहाँको पुलिसमा नेपालीलाई भर्ती लिन थाल्यो । ब्रिटिस आर्मी हुनासाथ उतैको नागरिका पाउने हुँदा धेरै त्यता आकर्षित भएका हुन् । सिंगापुर पुलिस र भारतीय सेनामा भर्ती लाग्ने युवाले पनि राम्रो सेवा सुविधाका साथै जीवन सुरक्षित हुँदा लाहुरे हुन तम्सिन्छन् ।

Leave A Comment