समोसावाला

शनिबार, २१ असोज २०७४, ०१ : ४५ शुक्रवार
समोसावाला

प्रकाशजंग थापा

एक प्रतिष्ठित संस्थाको ठीक अगाडि एउटा समोसा पसल थियो । त्यो पसलको समोसा भनेपछि सबै हुरुक्क हुन्थे । पसलमा बिहानदेखि बेलुकी अबेरसम्म समोसा किन्नेको राम्रै भिड हुन्थ्यो । त्यहाँको पसले (दोकाने)लाई भ्याईनभ्याई हुन्थ्यो । कहिलेकाहीँ दोकानेकी श्रीमती र छोराले पनि सघाउँथे । नजिकैको कार्यालयमा दिउँसो एक बजे ‘लन्च ब्रेक’ हुन्थ्यो । सम्पूर्ण कर्मचारीका लागि अफिसमै खानाको राम्रो व्यवस्था भए पनि अधिकांश कर्मचारी त्यही समोसा पसल धाउँथे । एक प्रतिष्ठित संस्थाका कर्मचारी नास्ता–पानी गर्न सामान्य पसलमा जानु कार्यकारी प्रमुखलाई ठीक लागेन । एक दिन होइन दुई दिन होइन, हरेक दिन यही क्रम चल्दा कार्यकारी प्रमुख दुःखी थिए । उनी यत्तिका सुविधाका बाबजुद कर्मचारी किन त्यहाँ गइरहेका छन् भनी रहस्य जान्न चाहन्थे ।
एक दिन उनी अफिसतिर लाग्नु पहिले समोसा पसलछेउ गाडी रोके । बेमनले उनी पसलभित्र छिरे र यताउति हेरे । पसल भित्रबाहिरका सबै ठाउँ नियाले । केही क्षणको अवलोकनपछि एउटा कुनाको टेबलमा बसे र दुई वटा समोसा मगाए । तातो समोसा मुखमा पर्नेबित्तिकै उनमा एक तरंग पैदा भयो । यति मिठो समोसा चाख्ने अवसर नजुरेको वर्षौं भइसकेको उनलाई महसुस भयो । समोसाको स्वादमा यति गहिराई पाए कि उनले आफू कुन पदको मान्छे हुँ भन्ने नै बिर्सिए । बाल्यकाल छँदा समोसा खाएको स्वादिला समोसा उनलाई झलक्क सम्झनामा आयो ।
समोसा खाइसकेपछि उनी पसलेछेउ गए र भने, ‘उत्कृष्ट समोसा । बडा मजा आयो । पसल राम्रो चलाउनु भएको रहेछ । तपाईंमा कुशल व्यवस्थापन कला पाएँ । तर तपाईं जस्तो कला भएको व्यक्तिले यति सानो पसल चलाएर बसेको सुहाएन । कल्पना गर्नोस्, मजस्तै ठूलो कम्पनीको कार्यकारी प्रमुख हुनुभयो भने तपाईंको जीवनस्तर कस्तो होला ? समोसाबाहेक अरु कुरा पनि बेच्न सकिन्छ । तपाईंलाई आफूले समय र सीप खेर फ्यालेको जस्तो लाग्दैन ?’
समोसावाला मुस्कुराए र भने, ‘लाग्दैन हजूर, म यही काममा खुसी छु किनभने मेरो काम हजूरको कामभन्दा उत्कृष्ट छ ।’
आफ्नो पैसा र पावरको ध्वाँस देखाउने हाकिम चकित परे । ‘यति सानो काम गरेर पनि तपाईं कसरी खुसी हुनुहुन्छ ?’ ती कार्यकारीले सोधे ।
समोसावालले भने, ‘हेर्नोस्, पहिला म टोकरीमा समोसा बेच्थेँ । मेरो मासिक आम्दानी एक हजार हुन्थ्यो । त्यो बेला तपाईं भर्खरै संस्थमा काम गर्न थाल्नु भएको थियो । त्यतिबेला तपाईंको तलब दस हजार हुँदो हो । अहिले धेरै वर्षपछि थुप्रै कुरामा परिवर्तन आए । हामी दुवैले राम्रै उपलब्धि हासिल ग¥यौँ । तपाईं संस्थाको हाकिम हुनुभयो र मासिक एक लाख पारिश्रमिक लिनुहुन्छ । यसैगरी मैले पनि क्रमशः प्रगति गरेँ र आफ्नै समोसा पसल स्थापना गरेँ । यति मात्र होइन, म यो इलाकाभरिकै परिचित समोसावाला हुन सकेँ । मेरो छुट्टै पहिचान छ । आम्दानीकै कुरा गर्दा मेरो कमाई तपाईंको भन्दा कम छैन ।’
हाकिम आफू अपठित समोसावालाभन्दा तल पर्न चाहँदैनथिए । त्यसैले आफ्नो तर्क गणित दिँदै भने, ‘यो समयले ल्याएको बदलाब हो । समय र परिस्थितिअनुसार हाम्रो स्तर बढ्दै गयो, आम्दानी बढ्दै गयो तर पनि मेरो काम र तपाईंको कामको तुलना गर्नै सकिँदैन । जुन सुखसुविधा मैले भोगेको छु, त्यो तपाईंले सोच्न पनि सक्नुहुन्न । सबैभन्दा ठूलो कुरा त म मेरो परिवारको भविष्य सुनिश्चित र सुनौलो देख्छु ।’  
एक प्रतिष्ठित संस्थाको प्रमुख कार्यकारीको घमण्ड देखेर समोसावाला मुस्कुराए र सानो स्वर निकाल्दै भने, ‘माफ पाउँ हजुर । आफू त सानो मान्छे । ठूलो कुरा बोल्यो नभन्नु होला । तपाईंको बुझाइमा त्रुटि छ । म तपाईंको छोराछोरीको भविष्य सुनिश्चित भइसकेको देख्दिनँ । तपाईं जुन स्थानमा हुनुहुन्छ, त्यो स्थानमा पछि अरु कोही आउन सक्छ । प्रतिस्पर्धा धेरै छ । तपाईं आफ्नै परिवारलाई अहिलेको स्थान दिन सक्नु हुन्न । तर मपछि मेरो छोराले यो सम्हाल्छ । मेरो छोराले शून्यबाट सुरुवात गर्नु पर्दैन । स्थापित भइसकेको यो व्यापारलाई निरन्तरता दिन सक्छ । तपाईंका सन्तानले शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ । अब भन्नुुस्, समय र सीप कसले खेर फ्याल्दै छ ? म कि तपार्इं ?’
मै हुँ भन्ने हाकिम केही बोलेनन् । आफ्नो पर्सबाट पचास रुपैयाँ झिकेर समोसावालालाई दिए । चुपचाप आफ्नो कार्यकक्षतिर सोझिए । सायद उनको मस्तिष्कमा उद्यमशीलताको बिउ रोपिएको हुनु पर्छ ।

 

Leave A Comment