‘टिम वर्कले सफलता पाइन्छ’

मङ्गलबार, १० असोज २०७४, ११ : ५८ दिलीप पौडेल
‘टिम वर्कले सफलता पाइन्छ’

ललितपुर पाटनकी फेसन डिजाइनर सविना महर्जनले बुटिक पसल सञ्चालन गरेकी छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत बुटिक जडित कपडा निर्यात गर्ने महर्जनले सफलता चुमेकी छन् । करिब आठ लाख रुपैयाँबाट सुरु गरेको उनको व्यवसायमा करिब डेढ करोड रुपैयाँ लगानी पुगेको छ । अरुकोमा फेसन डिजाइन गर्दागर्दै एक दसकअघि आफ्नै व्यवसाय सुरु गरेकी ललितपुरको कुपण्डोलमा रहेको लाइक्रा बुटिककी प्रबन्ध निर्देशक महर्जनसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानी :
के सेवा दिनुहुन्छ ?
हामीले विवाहका लागि फोकस गरेका छौँ । सबै महिला पुरुष नयाँ–नयाँ डिजाइनका कपडा लगाउन लालायित हुनुहुन्छ । वहाँहरुको चाहनाअनुसार फरक डिजाइनका बुटिक जडित कपडा तयार गर्छौं । केटाहरुले प्रायः क्याजुअल ड्रेस लगाउने भएकाले विवाहको लागि बनाउने गर्छौं । महिलाहरुको रुचि र चाहना अनुसारका सबै प्रकारका बुटिक कपडा बिक्री गर्छौं ।
केमा फोकस गर्नु भएको छ ?
महिलाले लगाउने साडी, लेहेँगा, चोली, लङ ड्रेस, मागअनुसार अफिसमा लगाउने फर्मल सुट, क्याजुअल टप्सहरु बनाउँछौँ ।
अन्यको तुलनामा यहाँको बुटिकमा फरक के सुविधा पाइन्छ ?
सबैलाई फरक–फरक र टिपिकल कपडा लगाउन मनपर्छ । त्यही भएर एउटा डिजाइन दुई वटाभन्दा बढी प्रयोग गर्दैनौं । कुनै पनि दोहोर्याउँदैन । म आफैँ डिजाइन गर्ने भएकाले त्यो विश्वस्त दिलाउन चाहन्छु । कलर फरक प्रयोग गर्छौं । एउटा सिजनमा निकै धेरै कलर प्रयोग गरिरहेका छौँ । मान्छेले पैसा तिरेअनुसारको सेवा पाइन्छ । डिजाइनको भेराइटी पर्याप्त छ ।  
बुटिकको बजार कस्तो छ ?
यसको माग दिनानुदिन बढिरहेको छ । यो हामी व्यवसायी मात्र नभएर मुलुकको लागि पनि राम्रो हो । अहिले नेपालका डिजाइनहरु विदेश पनि गएका छन् ।  
यो व्यवसायमा कसरी आउनु भयो ?
आफ्नो रुचि भएरै यो व्यवसायमा आएकी हुँ । म सानैदेखि कपडा, जुत्ता, चप्पल फरक लगाउन मन पथ्र्यो । एकदम राम्री बन्न मन लाग्ने । यो म्यानेज्मेन्ट पढेरभन्दा फरक केही गरुँ भन्ने लाग्थ्यो । फेसन डिजाइन थाहा थिएन । त्यो बेला भर्खर फेसन डिजाइनको चलन आएको थियो । सुरुमा तालिम लिएँ । अरुकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने श्रीमान्ले अभिप्रेरित गरेपछि सुरु गरेको हुँ । परिवार साथीसँग केही भिन्न काम गर्नुपर्छ भनेर मेरो मान्यता छ । यो क्षेत्रमा करिब १० वर्षअघि प्रवेश गरेको हुँ ।
बुटिक लुगा कति मूल्यको बनाउनु हुन्छ ?
१० हजार रुपैयाँदेखि साढे दुई लाख रुपैयाँसम्म ।
कुन बेला सन्तुष्टि प्राप्त हुन्छ ?
मेरो कम्पनीमा कसैले काम गरेर आफ्नो घर व्यवहार चलाइरहेको छ । त्यो बेला नै म निकै खुसी र प्रफुल्ल हुन्छु । रमाइलो पनि लाग्छ । वहाँहरु मेरो कम्पनीमा काम गरेर मलाई पनि आउटपुट दिनु भएको छ ।
अरु दिदीबहिनीहरुलाई के सल्लाह दिनुहुन्छ ?
गृहिणी हुनु पनि ट्यालेन्ट नै हो । घरमा कामको धेरै जिम्मेवारी हुन्छ तर काम देखिँदैन । घरमा मात्र सीमित नभएर बाहिर आएर आफ्नो क्षमताअनुसार तालिम लिएर आफ्नो रुचिअनुसार केही न केही गर्नुपर्छ । त्यसका लागि परिवारले पनि सहयोग गर्नुपर्छ ।
सफलताका लागि के चाहिन्छ ?
टिम वर्कले सफलता मिल्छ । मैले डिजाइन गर्छु  । यो सोच्नु हुँदैन कि त्यसमा मेरो मात्र योगदान छ । त्यस्तो होइन । आउटपुट निकाल्न डायर, टिचरदेखि सबैको हात हुन्छ । मिहिनेत, धैर्य भएर काम गर्नुपर्छ ।
स्कुले जीवनमा के बन्ने लक्ष्य थियो ?
कहिले र्याम्प मोडल, नर्स, एयर होस्टेस बनौं जस्तो पनि लाग्थ्यो । प्लस टु पढ्दा फेसन डिजाइन गर्न मन लाग्यो ।
महिलालाई हेर्ने समाजको दृष्टिकोण कस्तो छ त ?
मैले विवाह नगर्दै फेसन डिजाइनको तालिम लिन जाँदा कहाँ गएको भनेर निकै चासो राख्थे । अहिले मेरो सफलता देखेपछि सबैले सबिनाजस्तो हुनुपर्छ भन्छन् । त्यसमा म आफैँलाई गर्व लाग्छ ।
यहाँको रुचि ?
मुभी हेर्ने । घुम्न जाने । किताब पढ्ने ।
मन पर्ने एक्टर ?
अक्षय कुमार ।
नयाँ योजना के छ ?
अस्ट्रेलियामा बुटिकको आउटलेट सञ्चालन गर्ने ।
अन्त्यमा ?
हेप्पी दसैं ।

Leave A Comment