रेस्टुराँमा फट्यांग्रोको मेनु

सोमबार, ०९ असोज २०७४, १२ : ३८ शुक्रवार
रेस्टुराँमा फट्यांग्रोको मेनु

बेल्जियमको ब्रसेल्समा ‘लिटल फुड’ नामको रेस्टुराँले आफ्नो खानेकुराको मेनुमा फट्यांग्रोको परिकार प्रस्तुत गरेसँगै तरंग ल्याइदिएको छ । फट्यांग्राको परिकार बनाउन उनीहरुले आफ्नो फार्ममा क्रिकेट नामको फट्यांग्राहरु पाल्दै आएका छन् । रेस्टुराँका अनुसार क्रिकेट प्रोटिनयुक्त कीरा हुन् । वातावरणमैत्री रेस्टुरा ‘लिटल फूड’ले सुकाएर राखिएका क्रिकेटलाई लसुन अथवा टमाटरमा पिठो सहित पकाउँदा निकै मिठो हुने बताएको छ । अन्य जनावरहरु पाल्दा निकै सकस पनि हुने र पाल्तु जनावरको तुलनामा कीरा पाल्न सहज हुने रेस्टुराँका सञ्चालक बताउँछन् ।
गाईको मासु पाक्ने बेल्जियममा क्रिकेटको परिकार पकाउँदा समय र स्रोतको सदुपयोग हुने लिटल फूडको फार्मका उत्पादक निकोलस भिएनी बताउँछन् । भन्छन्, ‘गाईको मासु पकाउँदा निकै पानी खर्च हुन्छ । गाईको मासुको तुलनामा ३०० गुणा कम पानी क्रिकेट पकाउन चाहिन्छ । त्यस्तै क्रिकेटहरुले गाईको तुलनामा ६० गुणा कम ग्रिन हाउस ग्यास उत्सर्जन गर्छन् ।’ बेल्जियन इफ्तिमिया लेलेकाज क्रिकेटको परिकार सुन्दै नाक खुम्च्याउँछिन् । भन्छिन्, ‘नाईं नाईं मैले त्यो खान्न । यो त अजीवको परिकार हो । फट्यांग्रा देख्दा मलाई घिन लाग्छ ।’ चीन, घाना, मेक्सिको र थाइल्यान्ड लगायतका देश कीराको परिकारका लागि प्रसिद्ध छन् तर बेल्जियममा यो नौलो प्रयास हो । बेल्जियनहरुको कीराको परिकारसँग कत्तिको सहज हुने हुन् त्यो त समयले नै बताउँला ।

Leave A Comment