पहिलो रात्रिबस सञ्चालक गायक

सोमबार, ०९ असोज २०७४, १२ : ३५ शुक्रवार
पहिलो रात्रिबस सञ्चालक गायक

सुरज खड्का
‘बालाजुको बाइसै धारा’, ‘सितलुमाथि नि सितलु’ जस्ता पुराना गीतका गायक तथा संगीतकार पुष्प नेपाली नेपालमा पहिलोपटक रात्रिबस सञ्चालन गर्ने व्यक्ति हुन् । उनले आफ्नो सञ्चालकत्वमा काठमाडौँ–काँकडभिट्टा रुटमा रात्रिबस चलाएका थिए । रात्रिबसको प्रवद्र्धनका निम्ति उनले ‘जाऊँ न हरर कन्काई बसैमा’ गीतसमेत सिर्जना गरेका थिए ।
मेहदी हसनको नेपाली पदक
दीपक जंगमको संगीत र म.वि.वि. शाहको शब्द रहेको गीत ‘भन लौ नढाँटी’बाट चर्चित पाकिस्तानी गायक मेहदी हसनले गोरखा दक्षिण बाहु पदक पाएका थिए । हसन गोरखा दक्षिणबाहु पाउने पहिलो विदेशी नागरिक हुन् ।

हिरो सुगम पोखरेल
धेरै युवाको इच्छा चलचित्रको हिरो बन्ने हुन्छ । हिरो बन्ने र नाम कमाउने इच्छा गायक सुगम पोखरेलको पनि थियो । उनी पनि चलचित्रको हिरो बनेर चर्चित बन्न चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । चलचित्रको हिरो बन्ने यात्राको सुरुवातको रुपमा उनले ‘लक्षुमनिया’ नामको एउटा टेलिफिल्ममा समेत अभिनय गरेका थिए । टेलिफिल्ममा अभिनय गर्दा लागेको लामो समय र परिश्रमबाट आत्तिएका पोखरेलले उतिबेला नै हिरो बन्ने सपना त्यागे । हिरो बन्ने सपना पूरा नभए पनि गायकको रुपमा भने सुगम निकै चर्चित बने । पप गायन हुँदै चर्चित गायकको कोटीमा परेका सुगम अहिले चलचित्रको पाश्र्वगायनमा पनि रुचाइएका गायक हुन् ।
सपनाश्रीको नाउँ
कुनै समयकी चर्चित गायिका सपना श्रीको नाममा श्री कसरी जोडियो भन्ने एउटा रमाइलो प्रसंग छ । २०५२ सालमा चलचित्र ‘छोरीबुहारी’को गीत रेकर्ड गर्न संगीतकार शम्भुजित बास्कोटा सपनासहित प्रकाश श्रेष्ठ, आनन्द कार्की र लोचन भट्टराईलाई लिएर भारतको मुम्बई पुगेका थिए । त्यतिबेला रेकर्डिङको क्रममा केही टेक दिइसकेपछि आराम गरिरहेकी सपनालाई संगीतकार बास्कोटाले फेरि गाउन बोलाउने क्रममा जिस्किदै ‘सपनाजी फेरि गाउन आउनु प¥यो’ भनेका थिए । तर बास्कोटाको जिब्रो चिप्लिएर ‘जी’ भन्नुपर्ने ठाउँमा श्री उच्चारण हुन पुग्यो । झुक्किएरै भनेको भए पनि बास्कोटा र सपना दुवैलाई श्री मन पर्यो । त्यही समयदेखि सपना परियारका रुपमा परिचित गायिका सपनाले आफ्नो नाममा श्री झुण्ड्याउन थालिन् । कालान्तारमा उनी यही नामबाटै संगीत क्षेत्रमा स्थापित बनिन्् ।
साझाबसमा अर्जुनकुमार
पछिल्लो समय चलचित्र निर्माताको परिचय बढी र गायक–संगीतकारको परिचय कम बनाएका अर्जुनकुमारको ‘रमाइलो छ यो साँझ, जब तिमी आयौ आज’ कुनै समय राजधानीका एफएम रेडियोहरुमा पटक–पटक गुञ्जिने गीतमा पथ्र्यो । यिनै अर्जुनकुमारको विवाहसम्बन्धी एउटा रोचक प्रसंग जोडिएको छ । गृह जिल्ला नुवाकोटबाट उनले आफ्नी प्रेमिकालाई साझा बसमा भगाएर काठमाडौँ ल्याएका थिए । साझा बस त्यतिबेला यति विश्वसनीय र छिटो गुड्थ्यो कि अरु सवारी साधनले टक्कर दिनै सक्दैन थिए । त्यसैले आफूहरुलाई खोज्दै आउनेले पनि भेट्न नसकून् भनेर अर्जुनकुमारले साझा बस रोजेका थिए ।
रोज मोक्तानको पहिलो जागिर
गायक रोज मोक्तान सेलो बिटमा गीत गाउने गायकमध्ये सबैभन्दा चर्चित गायक हुन् । उनले सेलो बिटमा गाएका दर्जनौँ गीतलाई श्रोताले रुचाएका छन् । हिमाली क्षेत्र लक्षित सांगीतिक कार्यक्रमका लागि पनि उनी पहिलो नम्बरमा खोजी हुने गायक हुन् । सुरुवातताका रोजलाई यस क्षेत्रमा स्थापित हुन सहज थिएन । रामेछापबाट काठमाडौँ आई संघर्ष गरेका उनी गायक बन्नुपूर्व एउटा निर्माण कम्पनीमा कुल्ली थिए ।

Leave A Comment