‘समय नै छैन, कतिखेर लभ गरौँ !’

सोमबार, ०९ असोज २०७४, १२ : १० अनिल यादव
‘समय नै छैन, कतिखेर लभ गरौँ !’

युवा पुस्तामाझ निकै लोकप्रिय छन्– अभिनेता पल शाह । म्युजिक भिडियोमा निकै रुचाइएका उनी पछिल्लो समय फिल्ममा पनि सक्रिय हुँदैछन् । ‘नाई नभन्नु ल–४’बाट फिल्ममा डेब्यु गरेका उनले ‘म यस्तो गीत गाउँछुु’को सफलताको स्वाद चाखेको दुई महिना नबित्दै ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

दुई महिनाभित्रै अर्को फिल्म रिलिज भयो नि ?
यसरी छोटो समयमा फिल्म रिलिज हुँदा मलाई त फाइदै पुग्छ जस्तो लाग्छ । दर्शकले फिल्मलाई ‘यो कलाकारको यति वर्षपछि आयो, यति महिनापछि आयो’ भनेर हेर्नुहुन्छ भन्ने लाग्दैन । फिल्म राम्रो छ भने समयले फरक पार्दैन ।

‘जोनी जेन्टलम्यान’मा तपाईंले जेन्टलम्यान बन्नु भएको छ । वास्तविकतामा भने कत्तिको जेन्टल हुनुुहुन्छ नि ?
आफूलाई त जेन्टल नै छु जस्तो लाग्छ, अब अरुलाई के लाग्छ त्यो थाहा भएन । तर फिल्मको क्यारेक्टर ‘टोटल्ली’ मसँग मिल्दैन ।
आफ्नो फिल्म हेर्दा कमजोरी कत्तिको पाउनु हुन्छ ?
 म फिल्म होइन, भिडियो खेल्दादेखि नै आफ्नो कमजोरी खोज्थेँ । पहिलो भिडियोमा जे गल्ती भेट्थेँ अर्कोमा सुधार्न खोज्थेँ । मैले कसैसँग एक्टिङ सिकेको छैन । म अभिनयमा पर्फेक्ट कलाकार होइन । म त भन्छु, मैले अझै ८० प्रतिशत सुधार्न बाँकी नै छ ।  

त्यसो भए पहिलो फिल्मबाट दोस्रो हुँदै तेस्रो फिल्ममा आइपुग्दा के–के सुधार्नुभयो ?
ठ्याक्कै त कसरी भनौँ ! पहिलो फिल्म ‘नाइँ नभन्नु ल ४’मा काम गर्दा मलाई रुन आउँदैनथ्यो । रुने भनेपछि आँसु निकालिहाल्नुपर्छ भन्ने लाग्थ्यो  तर त्यसो होइन रहेछ । रुन पनि टाइमिङ चाहिँदोरहेछ । क्यामेरासँग खेल्नुपर्ने रहेछ । ‘म यस्तो गीत गाउँछु’का बेला मैले त्यो टाइमिङ र फिलिङ्स सिकेँ । हुन त यो फिल्म रिलिजका हिसाबले मेरो दोस्रो भए पनि सुटिङका हिसाबले ‘जोनी जेन्टलम्यान’ दोस्रो हो ।

सयौँ युवायुवती तपाईंका जबरजस्त फ्यान छन् । यस्तो लोकप्रियताको आकलन थियो ?
म त एक हप्तासम्म लगातार बन्द कोठामा बसेर भिडियो सम्पादकका रुपमा काम गर्थेँ । कुनै दिन मेरा नाम पनि बेस्ट भिडियो एडिटरका रुपमा आओस् भन्ने चाहना थियो । अवार्डहरुमा एडिटरको विधामा टप फाइभको नोमिनेसनमा परियोस् भन्ने चाहन्थेँ । राम्रा–राम्रा निर्देशकको भिडियो एडिट गर्न पाइयोस् भन्ने लाग्थ्यो । तर यसरी अभिनेता बनुँला र लाखौँ दर्शकको माया पाइएला भन्ने त मैले कहिल्यै सोचेको पनि थिइनँ ।
भनेपछि अभिनयले त तपाईंको जीवनको लक्ष्य नै परिवर्तन गरिदियो है ?
हो नि । १० कक्षामा पढ्दासम्म मलाई आर्मीको मेजर बन्नुथ्यो । मेरो बुबा राजनीतिमा हुनुहुन्छ । उहाँको चाहना पनि मलाई आर्मी बनाउने थियो । मलाई मेजरको बाउ बन्नु छ भन्नुहुन्थ्यो । अहिले पनि मैले मिस गर्ने जागिर बनेको आर्मी नै हो । त्यतिबेला मेरो दाइ पर्नुहुने नितिन चन्द काठमाडौंमा टेलिभिजनको भिडियो एडिटर हुनुहुन्थ्यो । टिभीमा उहाँको नाम ठूलो अक्षरमा आउँथ्यो । अनि मलाई एडिटर ठूलो मान्छे भन्ने लाग्थ्यो । एसएलसी पास गरेपछि एडिटिङ सिक्छु भनेर काठमाडौं आएँ । त्यतिबेला बुबाले आउन दिनुभएको थिएन । झगडा पनि पर्यो । झगडा गरेरै भए पनि म आएँ । आउनेबित्तिकै कक्षा ११ मा जोइन गरे । भिडियो एडिटिङ ट्रेनिङ लिएँ । मिडिया हाउसको जब होल्डर नै भएँ । मेरो इच्छाविपरीत गयो भनेर मेरो बुबा लामो समय मसँग बोल्नुभएन । बिस्तारै भिडियोमा अलिअलि नाम आउन थालेपछि अलिअलि बोल्नुभयो । अहिले त दंग हुनुहुन्छ । उता गाउँमा ‘पलको बुबा’ भन्दै फोटो खिचाउँछन् रे ! तेरो फ्यानले फोटो खिचेर गयो भनेर खुसी हुँदा सुनाउनुहुन्छ । मुआको त मलाई पहिल्यैदेखि नै सपोर्ट थियो । मैले बुबाको सपनामा यो जुनीमा पूरा गर्न नसके ’नि अर्को जुनीमा गरेरै छाड्छु भन्ने लाग्छ ।
आफ्ना संघर्षका दिनलाई तपाईं कसरी सम्झनुहुन्छ ?
मिहिनेत गर्दै गयो भने केही पनि असम्भव नहुने रहेछ भन्ने लाग्छ । खल्तीमा ५–१० रुपैयाँ नभएको अवस्था पनि धेरै थिए तर म दुःखमा कहिल्यै आत्तिइनँ । निरन्तर संघर्ष गरिरहेँ । मेरो बुबामुआले सधैँ मलाई एउटै कुरा भन्नुहुन्थ्यो, ‘हेर छोरा, जिन्दगी भनेको स्कुल हो, सिक्दै जाने हो ।’ म त्यसैगरी अघि बढिरहेको छु । राम्रो एडिटर र एनिमेटर बन्नलाई हिजो मिहिनेत गरेँ । म्युजिक भिडियो खेलेँ । बेस्ट मोडलको ट्रफी पनि पाएँ । अझै पनि मेरो संघर्ष पूरा भएको छैन् । अझै धेरै गर्नु छ ।

तपाईं आफू पहिलोपल्ट सेलिब्रिटी भएको महसुस कहिले भयो?  
त्यतिबेला मेरो ‘हनिबनी’ भिडियो भाइरल भइरहेको थियो । गोदावरी (ललितपुर)मा एउटा भिडियोको सुटिङ हुँदै थियो । त्यतिबेला एकजना महिला ‘ऊ पल होइन, पल’ भन्दै आत्तिएर मकहाँ आइपुग्नुभयो । सेल्फी खिच्नुभयो, अटोग्राफ माग्नुभयो । त्यतिबेला मलाई पहिलोपल्ट आफू पनि सेलिब्रेटी भएँ कि क्या हो जस्तो महसुस भएको थियो ।

तपाईंका थुप्रै फ्यानमध्ये आफूले कहिल्यै नबिर्सिने यादगार फ्यानबारे बताउनुस् न ।
मेरा फ्यान त हातको औँलामा गन्न नसक्ने नै हुनुहुन्छ तर बुटवलको एकजना फ्यानलाई म कहिल्यै बिर्सन सक्दिनँ । उहाँले आफ्नो हात काटेर मेरो नाम लेख्नुभएको तस्बिर फेसबुकमा पठाउनुभएको थियो । त्यतिबेला मैले उहाँलाई फोन गरेर सम्झाएको थिएँ । त्यस्तै एकजना दार्जिलिङको फ्यान हुनुहुन्छ । उहाँले लगातार दुई वर्षदेखि मलाई फेसबुकमा ‘एकपल्ट भ्वाइस म्यासेज’ पठाउन आग्रह गर्नुभएको रहेछ । भ्वाइस म्यासेज नपठाएपछि उहाँले ‘पल म हस्पिटल आ’को छु । मलाई ब्रेन ट्युमर भा’को छु, चाँडै मर्दै छु’ भनेर लेखेर पठाउनुभयो । मलाई विश्वास लाग्यो । मैले ‘सरी, मैले तिमीलाई भ्वाइस म्यासेज पठाउन सकिनँ’ भनेर भ्वाइस म्यासेज पठाएँ । त्यसपछि उहाँले आफूले प्र्यांक गरेको बताउनुभयो । उहाँले झुट बोलेको थाहा पाएपछि म दुई हप्ता बोलिनँ । पछि फ्यान त हो नि भन्ने महसुस भयो अनि बोल्न थालेँ । यस्ता यादगार फ्यान थुप्रै हुनुहुन्छ । अस्ती ‘म यस्तो गीत गाउँछु’ हेर्न बुटवलदेखि नाइट बस चढेर आउनुभएको फ्यानहरु भेटेको थिएँ । मेरो फिल्मले कस्तो व्यापार गर्छ भनेर मलाई भन्दा बढी डर उहाँहरुलाई देख्दा अचम्म लाग्यो ।
तपाईंको पहिलो फिल्म रिलिज हुँदा ‘डायलग डेलिभरी भएन’ भनेर प्रतिक्रिया दिएका थिए नि !
हो । मैले फस्ट फिल्ममा जति सिकाउनुभयो त्यति गरेको हो । त्यतिबेला थिएटर एक्टरको हावी थियो । म, राजेश हमाल, शिव श्रेष्ठको फिल्म हेरेर हुर्केको मान्छे । त्यही पुरानो स्टाइलमा बोल्थेँ । त्यहीँअनुसार फिल गर्थेँ । पछि प्रतिक्रिया ठीकै हो जस्तो लाग्यो । त्यसैले डायलग डेलिभरी सिकँे । बोल्दाखेरी कहाँ फिल गर्ने, कहाँ होल्ड गर्ने सिकेँ । ‘म यस्तो गीत गाउँछु’ हेरिसकेपछि धेरैले सुधार भएको प्रतिक्रिया दिनुभयो ।

‘चकलेटी हिरो’को पहिचान छ । ‘आई लभ यु’ भन्ने पनि धेरै छन् । कोही त होला जसलाई तपाईं पनि ‘आई लभ यु’ भन्न चाहनुहुन्छ ?
त्यस्तो त धेरै भेटा’को छु तर म अहिले करिअरमा फोकस्ड छु । गःलफ्रेन्ड बनाउनैपर्छ, लभ गर्नैपर्छ भन्ने छैन । ममीड्याडीलाई समय दिन त भ्या’को छैन । आफैँ भन्नुस् न, म कति खेर लभ गरौँ ?

त्यसो भए फिल्मकी हिरोइन आँचल शर्मासँगको तपाईंको अफेयर पूरै झुट हो ?
हो । आँचल र म एकअर्कालाई एकदमै सम्मान गर्छौँ । हामीबीच साथीको सम्बन्ध मात्र हो । अफेयरको हल्लाले गर्दा अहिले त हामीलाई फोनमा कुरा गर्न पनि डर लाग्छ । कसैले सुनिरहेको पो छ कि, कसैले ट्र्यास गरी पो हाल्छ कि भन्ने डर मनमा भइरहेको हुन्छ ।

तपाईं त निर्माता/निर्देशकलाई आँचलको नाम सिफारिस पनि गर्नुहुन्छ रे !
एउटा निराधार आरोप हो । मैले अर्काको लाखौँ लगानी रहेको प्रोजेक्टमा यसलाई खेलाउनु भनेर सिफारिस गर्नै मिल्दैन ।

तपाईं स्क्रिप्टको के कुराले छुन्छ र फिल्म खेल्न तयार हुनुहुन्छ ?
सुरुमा त निर्देशक, क्यामेराम्यान, टिम र ब्यानर नै हेर्छु । त्यसपछि स्क्रिप्ट हेर्दा मलाई मनपराउने दर्शकको ‘प्वाइन्ट अफ भ्यु’ बाट हेर्छु । मैले कतिपयले साउथ इन्डियन टाइपको फिल्म अफर गर्छन् तर मलाई सुहाउँदैन भनेर म गर्दिनँ ।


स्थापित ब्यानर र निर्देशकसँग काम गर्ने भन्नुभयो । भनेपछि नयाँ मेकरले त तपाईंसँग काम गर्न नपाउने भए नि ?
जीवनमा कतिपय कुरा ‘कम्प्रोमाइज’ गर्नुपर्ने रहेछ । म आफू पनि सम्झौता गर्छु र अरुलाई पनि गर्नुस् भन्छु । म अहिले करिअरको एकदमै महŒवपूर्ण विन्दुमा छु । मैले यो बेलामा आफूलाई एकदमै ध्यान दिनुपर्छ । मेरा लगातार पाँचवटा फिल्म हिट होस् भन्ने म चाहन्छु । मलाई आफूले लगातार पाँच फिल्म राम्रो ब्यानर, राम्रो टिम र राम्रो अभिभावकसँग काम गरेको हो भन्ने पार्नु छ । त्यसैले मलाई अबको २ वर्षपछि नयाँ मेकरले लिँदा फाइदै हुन्छ । उहाँहरुलाई पनि राम्रो हुने हो नि ।  

अभिनेता अनमोल केसीसँग तपाईको तुलना गर्न थालिएको छ । यस्तो सुन्दा कस्तो लाग्छ ?
हामी प्रतिस्पर्धी होइन । अनमोलजी मभन्दा सिनियर हुनुहुन्छ । म उहाँलाई फलो गर्छु । उहाँको कामलाई सम्मान गर्छु । हामीले प्रतिस्पर्धा गर्ने भन्दा पनि सँगै मिलेर काम गर्ने हो ।

अहिले त युवा स्टारहरुले बडिगार्ड राख्ने प्रचलन छ, तपाईं पनि राख्नुहुन्छ ?
बडिगार्ड राख्नु सुरक्षाका हिसाबले त राम्रै हो । ‘नाई नभन्नु ल ४’का बेला म गोपीकृष्ण हलमा पुग्दा मेरो हात झण्डै भाँच्चिएको थियो । एकजना महिला फ्यानले हलको चेन गेटदेखि मेरो हात समातेर ठेल्दै–ठेल्दै परसम्म पु¥याउनुभएको थियो । एकछिन त साह्रै नराम्रो फिल भएको थियो, झण्डै हात नै भाच्चिएको ! तर उहाँलाई त खुसी भयो नि ! खासमा भन्नुपर्दा म फ्यानलाई दुःखी बनाउन चाहन्नँ । त्यसैले बडीगार्ड राख्न रुचाउँदिन ।

तपाईं त फिल्ममा जम्दै गरेको मान्छे अब विस्तारै म्युजिक भिडियो खेल्न छाड्ने होला !
नाइँ । म आफ्नो धरातल कहिल्यै बिर्सन्नँ । म्युजिक भिडियो मेरो जग हो । म आज जहाँ छु म्युजिक भिडियोकै कारण छु । त्यसैले भिडियो खेल्न छाड्ने कुरै भएन ।

Leave A Comment