साउनमा प्रेम, दसैँमा विवाह

आइतबार, ०८ असोज २०७४, ०१ : २१ रेणु त्वानाबासु
साउनमा प्रेम, दसैँमा विवाह विजया दसमीका दिन विवाह गरेका भक्तपुरका कृष्णकुमार र पुण्येश्वरी सुवालको जोडी ।

भक्तपुरको कृष्णकुमार सुवाललाई १७ वर्षअघि खपिसक्नुको चिन्ता थिएन । उनले साउन महिनाको हरेक बुधबार देउता स्थान घुम्ने क्रममा पुण्येश्वरीलाई आफ्नो दिल दिइसकेका थिए । पुण्येश्वरीले पनि कृष्णको त्यो मन मनपराएकी थिइन् । दिल दिइसकेपछि मात्र कृष्णलाई तनाव भयो किनभने दुवैको जात नमिल्दा विवाह नहुने पक्का थियो ।
जातले भने प्रेमलाई छेकेन । त्यसैले मौकाचौकामा उनीहरु भेटिरहन्थे । अर्को वर्षको साउन महिनामा पनि उसै गरी देउता थान घुमिरहे ।
दुवैको उमेर विवाहयोग्य भइसकेकाले अन्तै बिहे गरिदेलान् भन्ने चिन्ता थपिएको थियो । त्यसैले दुवैले सल्लाह गरे, पायोन्हाकेगुलाई सदुपयोग गर्ने !
२०५९ सालको विजय दसमीको राति साढे नौ बजे कृष्णकुमार घरबाट पायोन्हाकेगु जात्रा हेर्न निस्के । पुण्येश्वरी पनि जात्राकै लागि निस्किइन् । अन्य समयमा कट्टर नेवारी समुदायले छोरीचेलीलाई घरबाट निस्कन नदिए पनि जात्राका बेला रातभर रमाइलो गर्ने छुट हुन्छ । तलेजु मन्दिरबाट घोडा निकालेर नगर परिक्रमा गराउने, फलामको लुगा लगाएर एक जना मानिस निस्कने र खड्ग बोक्ने यो जात्रा सकिन लगभग पूरै रात बित्छ ।
युवायुवतीले यो लामो अवधिलाई सदुपयोग गर्ने गर्छन् । भक्तपुरे प्रेमीप्रेमिकाहरुका लागि यो पायोन्हाकेगु विशेष दिन हो । जातथर नमिलेर विवाहको कुरा नमिलेका तर मन साटासाट गरेका युवाहरुले आफ्नो प्रेमी चुनेर ‘भाग्ने’ दिन हो । यही दिनलाई कृष्णकुमार र पुण्येश्वरीले सदुपयोग गरेका थिए ।
भक्तपुरको थिमिमा होटल व्यवसाय गरिरहेका कृष्ण कुमार यतिबेला एक छोरा र एक छोरी हुर्काइसकेका छन् । कृष्ण भन्छन्, ‘जात नमिलेर प्रेम मार्नुभन्दा भाग्नु नै ठीक भन्ने लागेको थियो, त्यो सफल भयो ।’

के हो पायोन्हाकेगु ?
विजय दसमी दसैँको महत्वपूर्ण दिन पायोन्हाकेगु पर्छ । अन्यले मान्यजनबाट टीका र आशीर्वाद थाप्ने यो दिन भक्तपुरे नेवारी समाज भने राति ११ बजेदेखि प्रायः सुरु हुने पायोन्हाकेगु जात्रा हेर्न भनेपछि मरिहत्ते गर्छन् । विजय दसमीको रातिबाट सुरु भएर बिहान सकिन्छ । बेलुका सुरु भएर विहान सकिन्छ । यो जात्रा भक्तपुरको दरवार स्वायरमा हुन्छ । विजया दशमीको दिन तलेजुभित्र रहेको खड्गलाई नगर परिक्रमा गराइन्छ । ‘परिक्रमाको क्रमलाई नै पायोन्हाकेगु भनिन्छ,’ संस्कृतिकर्मी ओम धौभडेल भन्छन्, ‘तर स्थानीय युवाहरुका लागि भने यो प्रेमलाई विवाहमा परिणत गर्ने दिनका रुपमा बुझ्छन् ।’
यो रात भक्तपुरका धेरै जोडीहरु प्रेमविवाहमा बाँधिन्छन् । यस रात केटीहरु आफूले प्रेम गरेको केटासँग सुटुक्क भाग्छन् । ‘यो दिन विवाह गर्न कुनै साइत हेराइरहनु पर्दैन,’ संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘यो रात भाग्दा दुलहा वा दुलही पक्ष कसैले विवाह भोजको झन्झट बोकिरहनु पर्दैन ।’
यो दिन भागेर विवाह गरेर जाने छोरीबेटी फर्काउन नहुने मान्यता छ । त्यसकारण जात नमिलेर, साइत नमिलेर लगायतका कारण विवाह गर्नबाट रोकिएका जोडीहरु यसै दिन विवाहबन्धनमा बाँधिने गरेको धौभडेल बताउँछन् ।
कृष्ण भन्छन्, ‘एक त प्रेममा परियो, अर्को आफ्नो घरको अवस्था ठीक नभएको कारण यो दिन रोजेरै पुण्येश्वरीलाई भगाउनु प¥यो ।’ उनले डेढ दसकअघिको कुरा सम्झँदै भने, ‘हाम्रो जात नमिल्ने भनियो । कति पटक प्रयास गर्दा पनि उनीसित विवाह गर्न खोज्दा पनि मेरो र उनको परिवार राजी भएन । मलाई भने उनी नै मन परेको थियो । त्यसैले यो दिनमा केटी भगायो भने मबाट खोसेर लैजाँदैनन्  भनेर सुनिराखेको थिएँ । त्यसैले मैले त्यही दिन रोजेर उनलाई भगाएर ल्याएँ ।’
त्यति बेला नभगाएको भए ? भन्ने शुक्रबारको प्रश्नमा कृष्णले हाँस्तै भने, ‘आज हामीसँगै हुँदैनथ्यौँ होला !’
विजय दसमी भन्नेबित्तिकै देउताको दिन भएकाले यो रातकोे जुनसुकै कामलाई स्वीकृति दिने गरिएको भक्तपुरकी स्थानीय नानीबेटी नागजु बताउँछिन् । उनी थप्छिन्, ‘दशमीको राति भाग्ने त कति हुन्छन् कति ! किनभने यो रात कुनै साइत हेर्नु पर्दैन, दशमीको दिन जसले बिहे गर्दा नि राम्रो नै हुन्छ भन्ने मान्यता छ । उनीहरुको वैवाहिक सम्बन्ध राम्रो हुन्छ भन्ने धारणा छ ।’

पायोन्हाकेगुको लोकप्रियता
पायोन्हाकेगु जात्रामा भागेर विवाह गर्ने धेरेै कारण हुने धौभडेल बताउँछन् । तीमध्ये केही चाहिँ आर्थिक समस्या भएर भोज गराउन नसक्ने परिवारको मुख्य छनोट यही दिन हुने गरेको छ । कुरा छिनिसकेपछि पनि साइत नपरेका वा नभएका कारण बिहेको समय लम्बिने अवस्था आए त्यसै दिन दुलहाले दुलहीलाई घर भिœयाउने चलन छ । त्यसो त विजय दसमीका दिन छरछिमेक भोज र आफ्नै काममा व्यस्त हुनुपर्ने भएकाले यस दिनको बिहेमा सहभागिता ज्यादै न्यून हुन्छ ।
त्यसो त यो दिन भागी बिहे गर्ने मात्र नभई ब्रतबन्ध, मागी विवाह गर्नेहरु पनि निकै हुने नानीबेटी बताउँछिन् ।
पायोन्हाकेगुका दिन भाग्नेहरुले साउन महिनाको गुँला पर्वका बेला समूह बनाएर मन्दिर परिक्रमा गरेकै बेला प्रेम बन्धनमा बाँधिइसकेका हुन्छन् । गुँला पर्वको पहिलो बुधबार काभ्रेको नमोबुद्ध जाने चलन छ । नमोबुद्ध जाने क्रममा तीर्थयात्रुहरुले को युवती राम्री छ, आफ्ना लागि सुहाउँदिली कुन युवती हुन्छे, माया साट्न योग्य कन्या को चाहिँ होली भनी खोजी गरिन्छ । साउन महिनाका चार वा पाँच बुधबारसम्म युवकले युवती छानी आफ्ना लागि योग्य कन्यालाई मनमनै वरण गरिसक्ने संस्कृतिविद्हरु बताउँछन् ।
गुँला पर्वका बेला नमोबुद्धबाहेक, ललितपुरको बुङमती, काठमाडौँको स्वयम्भू र काठमाडौँकै साँखुको वज्रयोगिनी मन्दिर परिक्रमा गर्ने चलन अद्यापि छँदैछ ।

कन्याको सहभागिता अनिवार्य
त्यसो त गुँला पर्वमा मन पराएकी युवतीले पायोन्हाकेगुका दिन भाग्नका लागि अनिवार्य स्वीकृति दिनुपर्ने हुन्छ । युवतीको स्वीकृतिबेगर उसलाई भगाउन नपाइने संस्कृतिविद् धौभडेल बताउँछन् ।

 

Leave A Comment