रेखाको दशैं स्मृति

शनिबार, ०७ असोज २०७४, ०४ : १४ शुक्रवार
रेखाको दशैं स्मृति

 
अभिनेत्री रेखा थापालले नागरिक परिवारसँग आफ्नो बाल्यकालको दसैँ यसरी सम्झिन्: 

‘ममीलाई दिएको दक्षिणा झुक्किएर मलाई पथ्र्यो’ 
बाल्यकालको दसैँ एकदम रमाइलो हुन्थ्यो किनभने बुबाले मलाई घरैमा पिङ लगाइदिनु हुन्थ्यो । पिङ खेल्दा ओहो कति रमाइलो रमाइलो ! घरभरि पाहुनै पाहुना, साह्रै रमाइलो लाग्थ्यो । दसैँको टीकाको दिन बुबाका आफन्त आउने, ममीका आफन्त टीका थाप्न आउनु हुन्थ्यो । अनि घरैभरि पाहुना हुँदा त दसैँ साह्रै रमाइलो लाग्थ्यो । नयाँ लुगा लगाएर मामाघर गइन्थ्यो । मामाघरमा टीका थाप्न जाँदा सानालाई थोरै, ठूलालाई धेरै दक्षिणा दिने चलन थियो । हाम्रो आफन्तकोमा दक्षिणा दिँदा खाममा दिइन्थ्यो । साना हुन् या ठूला प्रायः सबैलाई खाममा राखेर दिँदा एक दिन मलाई धेरै दक्षिणा परेको छ । म त सानी मान्छे दक्षिणा थोरै दिनुपर्ने, खाममा झुक्किनुभएछ कि क्या हो, ममीलाई दिनुपर्ने खाम  मलाई पथ्र्यो । धेरै दक्षिणा भएको खाम मलाई परेपछि फुर्किएँ । 
दशैंमा दक्षिणा पाउँदा म फुरुङ्ग पर्थें । कसको धेरै पैसा भनेर अरुलाई  देखाइन्थ्यो । त्यो देखाउनुको मजा नै बेग्लै छ । त्यो बेला सबै जना सबै ठाउँबाट भेला हुन्थे । गाउँभरि मान्छे नै मान्छे । त्यस्तो जमघटले नै दसैँ रमाइलो हुन्थ्यो । 
पछि म फिल्मकी हिरोइन भएर घर जाँदा पनि बुबाले छोरीलाई मनपर्ने भनेर घरैमा पिङ हालिदिनुभएको थियो । अनि त दसैँमा पिङ खोज्ने बानी पर्यो । बुबाले पनि म टीका लगाउन जानुअघि हालिराख्नु भएको हुन्थ्यो । बुबा हुँदाको पल साह्रै रमाइलो थियो । बुबाको देहान्तपछि दसैँ खासै रमाइलो लाग्दैन । आठ वर्ष जति भयो, दसैँ रमाइलो लाग्न छाडेको । उहाँ नहुँदा खल्लो लाग्छ । हुन त ममी हुनुहुन्छ । ममी भए पनि बुवा हुँदाको जस्तो रमाइलो लाग्दैन । पहिला बुबाममी हुँदा आफन्तहरु टीका लगाउन आउनु हुन्थ्यो । ममीका आफन्तहरु पनि आउनुहुन्थ्यो तर बुबा बितेपछि कमै मात्र आउनुहुन्छ । त्यसैले पनि दसँै पहिलाको जस्तो रमाइलो लाग्दैन । यसको अर्थ दसैँ नै नमनाउने भन्ने होइन । दसैँ त हाम्रो चाड हो । आफूभन्दा अग्रजका हातबाट टीका थाप्ने, आशीर्वाद लिने चलन छ, लिन्छु पनि । यो हाम्रो संस्कृति हो, यसलाई जोगाउनु पर्छ तर अचेल अलिक फरक भएको छ, मनाउने तरिका । आफूभन्दा ठूला बुबाआमालाई वृद्धाश्रम लगेर राखिदिने चलन आएको छ । मान्यजनलाई नमान्ने परम्परा बढ्दै गएको छ । यो राम्रो कुरा होइन । दशैं का बेला पनि वृद्धाश्रम बस्ने बुबाआमाको मन कति रुँदो हो ! 

Leave A Comment