‘गर्भवती मेरो नियमित प्यासेन्जर’

सोमबार, ०२ असोज २०७४, ११ : ५६ रेणु त्वानाबासु , Kathmandu
‘गर्भवती मेरो नियमित प्यासेन्जर’

सन्त आचार्य
अर्घाखाँची
बा २ ज
४४१
नमस्कार गुरुजी, के छ खबर ?
अँ ठीकै छ ।
गुरुजी तपाईं यो पेसामा लागेको कति भयो ?
 म त २०६६ सालदेखि यो पेसा गर्दैछु । ८–९ वर्ष भयो ।
तपाईंले यो पेसा अँगाल्नुअघि के गर्नुहुन्थ्यो नि ?
म त काठमाडौँ आएदेखि यही हो । मेरो पहिलो पेसा । योबाहेक अरु काम गरेको छैन ।
यो काम गर्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
मैले यो काम दाइहरुसँग लागरे नै सिकेँ । त्यसपछि यही क्षेत्रमा नै लागेँ म त । मलाई यही काम मनप¥यो ।
तपाईंको गाडी हो कि भाडामा चलाइरहनु भएको छ ?
होइन, मैले त सुरुदेखि नै आफ्नै गाडी लिएर चलाउन सुरु गरेको हो । पहिला सुरुमा अर्कै ट्याक्सी थियो । त्यसपछि त्यो बेचेर नयाँ किनेँ । जाने हो ?
तपाईंलाई पनि ट्याक्सी चलाउन आएपछि विदेश जाने सोच आएन ?
आएको त थियो तर पछि त्यहाँ गएर आएका दाइहरुको कुरा र साथीहरुको कुरा बुझ्दा विदेशभन्दा स्वदेश नै राम्रो लाग्यो । त्यहाँ झन् यहाँभन्दा दुःख छ । तर त्यो कसैले देख्दैन किनभने विदेश गएको बेला सुटकेस र सुट लाएर गएको देखिन्छ । त्यहाँको दुःख कसैले देख्दैन ।
तपाईले यति धेरै वर्ष ट्याक्सी चलाउनुभएछ कसैले तपाईंलाई ठग्यो कि ?
अँ, एकचोटि त्यस्तो भएको छ । राति ट्याक्सी चलाउने गर्थें । त्यसबेला सुरुसुरुमा चलाएको थिएँ । केही केटाहरु सुन्धारा दोहोरी साँझबाट चढेका थिए । रक्सी पिएका पनि थिए, कोही ठीकै कोही भने धेरै पिएका थिए । कम पिएका बीचमा नै झरे । अरु कपनमा झरे । मैले पैसाको कुरा गर्दा हातपात गर्न थाले । म रित्तो हात फर्कनुप¥यो, त्यति टाढाबाट ।
तपाईंलाई अहिले धेरै के समस्या भएको अनुभव हुन्छ ?
मलाई त ट्रफिक जाम, बाटोको समस्या र अव्यवस्थित सहरीकरण नै हो । पार्किङको समस्या धेरै छ । यसले गर्दा हामी ट्याक्सी चालक ठूलो समस्यामा छौँ ।
पछिल्लो समयको सास्ती चाहिँ ?
मलाई त अनावश्यक पार्किङ र हाउमचमा लाग्दा दुःख लाग्छ । यसमा पर्दा पूरै दुई दिनको कमाइ जान्छ । त्यसमाथि बीचबीचमा ट्राफिकको चेकिङले हैरान पार्छ ।
तपाई ट्रफिकको क्रस चेकिङमा कति चोटि पर्नुभयो त ?
 म त धेरै परेको छैन । जम्मा एकचोछि परेको छु, त्यसबेला फाइन २००० तिर्नुपरेको थियो । एकदम नरमाइलो  लागेको थियो । मलाई क्रसचेक गरेकोमा केही छैन तर उनीहरु प्यासेन्जर भएर आएर मिटरमा नजाने भन्छन् । अनि हामीले ‘ल हुन्छ’ भन्दा समातिहाल्छन् । यो चाहिँ गर्न मिल्दैन के !
तपाईंको नियमित प्यासेन्जर पनि छन् ?
पहिला एक जना लेडिज थिइन् । उनी गर्भवती थिइन् र मलाई विश्वास गरेर हो कि के हो, मैले उनलाई नियमित रुपमा कलंकीबाट जोरपाटीसम्म लगिदिन्थेँ ।
नियमित प्यासेन्जर भएको राम्रो कि यसरी ट्याक्सी स्ट्यान्डमा बस्न राम्रो ?
दुवै ठीकै छ । नियमित ग्राहक भयो भने कुर्नु पर्दैन । भएन भने कुर्नुपर्ने हुन्छ । यति नै हो फरक त ।
तपाईंको ट्याक्सीमा उटपट्याङ काम गर्ने प्यासन्जेर कति भोग्नु भएको छ ?
त्यस्तो छैन तर कहिलेकाहीँ नहुँदो कामकुरा गरेको महसुस भयो भने चाहिँ सम्झाउने गर्छु ।
के भनेर सम्झाउनु हुन्छ ?
यो ट्याक्सी हो, लिमिटमा बस्नुस् भन्छु । त्यति भनेपछि तिनीहरुलाई काम पुगिहाल्छ ।
फुर्सदमा के गर्न मनपर्छ ?
मलाई त साथीभाइसँग घुम्न मनपर्छ । टेलिभिजनमा अन्तरवार्ता हेर्न मनपर्छ ।
अहिले दसैँ नजिकिँदैछ, योजना के छ त ?
केही छैन । यो पालि हाम्रो दसैँ पनि छैन । सबै परिवार काठमाडौँमा नै छन् । अनि ट्याक्सी नै चलाउँछु । दसैँमा मान्छेहरु आफ्नै गाडी भए पनि ट्याक्सी प्रयोग गर्छन् किनभने पार्किङको ठूलो असुविधा छ नि त !
तपाईंलाई दसैँमा के रमाइलो लाग्छ ?
मलाई त पहिला बच्चा बेलामा नयाँ लुगा पाउँदा दसैँ आयो भनेर खुसी लाग्थ्यो । अहिले बिहे भयो । जिम्मेवारी बढ्यो । त्यसैले आफूलाई दसैँ आएको गएको मतलब हुँदैन । फेरि मेरो त भर्खर अस्ति नानी जन्मेको छ । त्यसैमा खुसी छु । मेरा लागि यसपालिको दसैँ भन्नु नै नानी जन्मनु हो ।
यो ट्याक्सीबाट आएको आम्दानीले खुसी हुनुहुन्छ ?
अँ, छ नै भन्नुपर्यो । दिनको १८०० देखि २००० सम्म हुन्छ । खुसी नै छु । चलिराखेको छ ।
 

 

Leave A Comment