‘राजा महेन्द्र गीत गाउँथे’

सोमबार, ०२ असोज २०७४, ११ : ५० शुक्रवार
‘राजा महेन्द्र गीत गाउँथे’

सुरज खड्का
गीत, संगीत र साहित्यमा राजा महाराजाहरुको रुचि निकै ठूलो हुन्छ । नेपालमा पनि विभिन्न कालखण्डमा राज्यको बागडोर सम्हालेका राजाहरुले साहित्य र संगीतमा गहिरो रुचि देखाएका थिए । राजा महेन्द्रको पनि साहित्य, संगीत र चलचित्रमा ठूलो झुकाव थियो । उनले मविवि शाहको नामबाट थुप्रै गीत तथा कविता लेखेका छन् । राजा महेन्द्रद्वारा लेखिएका गीतहरु विख्यात गायक गुलाम अलीले समेत गाएका छन् । उनले दरबारमै संगीत प्रवीण नरराज ढकालसँग संगीतको शिक्षा पनि लिएका थिए । उनको स्वर पनि निकै राम्रो थियो । तर स्वर राम्रो हुँदाहुँदै पनि राजा भएकै कारण उनले आफ्नो स्वरमा गीत रेकर्ड गर्न वञ्चित हुनु परेको थियो ।

वैशाखसँग योगेश्वरको संयोग
गायक योगेश्वर अमात्य र वैशाख महिनाबीच गज्जबको संयोग छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा वैशाख महिनामा भेटिएकी मंगला श्रेष्ठसँग उनको वैशाख महिनाबाटै प्रेम सम्बन्ध स्थापित भयो । प्रेमिका मंगला श्रेष्ठसँगै बिहे गरेका योगेश्वरको पहिलो सन्तानको रुपमा छोराको जन्म पनि वैशाख महिनामै भएको थियो । वैशाख महिनाको यस्तो संयोगका कारण उनले पहिलो सन्तानको नाम पनि वैशाख नै राखे ।
गीतकार कमल थापा
नेपाली राजनीतिमा लामो समयदेखि चर्चाको केन्द्रमा रहिरहन सफल एक राजनीतिज्ञ हुन्, कमल थापा । थापा कुनै समय राष्ट्रिय टोलीबाट फुटबलसमेत खेल्ने गर्थे । उनी टेबल टेनिसका पनि कुशल खेलाडी हुन् । थापाले आफ्नो खुबी गीत लेखनमा पनि देखाएका छन् । राजेश हमालको डेब्यु चलचित्र ‘युगदेखि युगसम्म’को गीत ‘तीनपाते डाँडा काटेर कहाँ जान लाग्यौ सारङ्गी दाइ’को गीतकार अरु कोही नभएर नेपाली राजनीतिमा सधैँ चर्चामा आइरहने उनै थापा हुन् । यसबाहेक उनले लेखेका एक दर्जन जति गीत रेडियो नेपालमा रेकर्ड छन् ।
‘माइतीघर’का प्रसंग
चलचित्र ‘माइतीघर’सँग नेपाली चलचित्रको इतिहासमा धेरै रोचक प्रसंग जोडिएका छन् । यस चलचित्रमा तत्कालीन भारतीय चलचित्रकी नम्बर एक अभिनेत्री माला सिन्हाको अभिनय छ । चलचित्रमा गायकका रुपमा परिचित सिपी लोहनीले नायकको भूमिका निभाएका छन् । त्यति मात्रै होइन, चलचित्रमा अभिनय गर्दागर्दै प्रेम सम्बन्ध कायम गर्न पुगेका सिन्हा र लोहनी वैवाहिक जीवनमा समेत प्रवेश गरे । काठमाडौँको माइतीघरको नाम माइतीघर हुनुमा यही चलचित्रको योगदान रहेको छ । चलचित्र निर्माण कम्पनीले बबरमहल सडक छेउमै रहेको अफिसमा माइतीघर फिल्मको बोर्ड राखेका कारण नै यस स्थानको नाम कालान्तरमा माइतीघर रहन गएको हो ।
नारायण गोपाल असफल पत्रकार !
स्वर सम्राट नारायण गोपाल गीत गाउन र संगीत सिर्जना गर्नमा मात्रै रुचि राख्दैन थिए । उनको रुचि विभिन्न क्षेत्रमा रहेको थियो । उनी इतिहासको अध्ययन गर्न, फुटबल हेर्न, समसामयिक विषयमा टिप्पणी गर्नमा समेत दख्खल राख्थे । दार्जिलिङकी पेमलादेवीसँग अन्तरजातीय बिहे गरेपछि काठमाडौँको नेवार परिवारले सहजरुपमा नस्वीकारेपछि पोखरा पुगेका नारायणले केही समय शिक्षण पेसा पनि गरेका थिए । खानपिनमा पनि उनको विशेष लगाव थियो । त्यस्तै स्वरसम्राट एक समयका असफल पत्रकारसमेत हुन् । उनले २०२८ सालतिर बाजा, गीत र नाचको अघिल्लो अक्षरबाट ‘बागीना’ नामको पत्रिकासमेत प्रकाशन गरेका थिए तर उनले बागीनालाई ३ अंक भन्दा बढी निरन्तरता दिन सकेनन् ।
क्यानडाबाट फर्किएकी पूजा
पूजा शर्मा अहिलेकी चर्चित अभिनेत्री हुन् । एक समय म्युजिक भिडियोकी चर्चित मोडलसमेत हुन्, पूजा । उनले केही समय टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा समेत काम गर्न भ्याइन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘मधुमास’ हो । धेरैलाई थाहा नहुन सक्छ, उच्च अध्ययनका लागि पूजा क्यानडा पनि पुगेकी थिइन् तर क्यानडामा बस्न मन नलागेपछि उनी एक महिनामै नेपाल फर्किइन् ।

Leave A Comment