कसैका ‘पदम गुरु’, कसैका ‘फिल्म बा’

आइतबार, ०१ असोज २०७४, १२ : १३ अनिल यादव
कसैका ‘पदम गुरु’, कसैका ‘फिल्म बा’

‘अहिले त यस्ता छन्, उमेरमा कस्ता थिए यी बूढा ?’ ८१ वर्षीय कलाकार पदमप्रसाद पौडेलको जोश र जाँगर देख्नेहरुले गर्ने टिप्पणी हो यो । उमेरले मात्र उनी पाका हुन्, जोश त अझै १८ वर्षे तन्नेरीको जस्तो छ । उनमा कलाकारिताको भुत नराम्रोसँग चढेको छ । कसैले कहिलेसम्म गर्ने त अभिनय भनेर सोध्यो भने उनको जवाफ एउटै हुन्छ, ‘म त अझै हट्टाकट्टा छु हजुर । स्वास्थ्यले साथ दिइञ्जेल र निर्देशकले पत्याइञ्जेल काम गरिन्छ ।’

खासमा पौडेल शिक्षक थिए । संखुवासभा, चैनपुरको सरस्वती उच्च माध्यमिक विद्यालयमा उनले ३० वर्ष पढाए । ६० वर्षको उमेर अर्थात् आफ्नो ‘रिटायर्ड लाइफ’ सुरु हुनुपर्ने बेलामा मात्र उनी अभिनयमा आएका हुन् । कलाकारितामा आउनुअघि उनी पत्रकार पनि थिए । करिब दुई दसक उनले राष्ट्रिय समाचार समितिका लागि काम गरेको बताउँछन् । संखुवासभा जिल्लाको पहिलो पत्रकारका रुपमा उनलाई सम्मानसमेत गरिएको छ ।

शिक्षण, पत्रकारिता र कलाकारितालाई पदम आफ्नो जीवनका तीन घुम्ती ठान्छन् । ‘एकपल्ट हाम्रो स्कुलमा उद्घाटन कार्यक्रम थियो, त्यतिबेला तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा प्रमुख अतिथिका रुपमा आउनुभएको थियो,’ पदमले आफू पत्रकारितामा आबद्ध हुनुको कारण खुलाए, ‘त्यति ठूलो कार्यक्रम हुँदा पनि हाम्रो ठाउँका समाचार सम्प्रेषण गर्ने कोही थिएनन् । प्रधानमन्त्रीसँगै आउनु भएका एकजनाले समाचार संकलन गर्न सक्ने त्यस्तो कोही व्यक्ति छ भने नाम दिनुस् न त भन्नुभयो । तत्कालीन सिडिओले ‘पदम सरले गर्नुहुन्छ’ भन्दै मेरो नाम सिफारिस गर्नुभयो । मैले पनि हात जोडेर ‘म गर्न सक्छु’ भनेँ । कसैलाई अप्ठेरो प¥यो भने समाचार संकलन मात्रै होइन पिठ्युँमा बोकेर हिड्न पनि सक्छु भनेँ । किनभने म मान्छे पनि दह्रो थिएँ ।’

पदमका दुई दाइ, दुई बहिनी छन् । दुवैको बिहे १० वर्ष ननाघ्दै भयो तर पदमको बिहे २२ वर्ष पुगेपछि मात्र भयो । ‘मेरो आमाले मेरो चिना हेराउन जाँदा ज्योतिषले ‘यो छोरा अलि अनौठो छ, यसले केही गर्छ, संसारले चिन्ने हुन्छ’ भन्थ्यो रे,’ पदम सम्झन्छन्, ‘त्यही भएर मेरी आमाले मेरो बिहे पनि ढिला गरिदिनुभयो । पढ्न पनि भारतको आसाम गएँ । फर्किएर गाउँमै पढाउन थालेँ । त्यसपछि पत्रकारिता गरेँ अनि बल्ल कलाकार ।’

उनलाई ज्योतिषले यसो पनि भन्थे रे, ‘यसले जे गरे पनि अर्काले अराएकै गर्छ ।’ ‘स्कुल पढाउँदा पनि मलाई अर्कैले अरायो, ठूलो पदमा पुग्न सकिनँ, पत्रकारिता गर्दा पनि माथिबाट आदेश आउँथ्यो,’ उनले ठट्यौली शैलीमा भने, ‘अहिले कलाकारिता गर्दा पनि नाति जस्तो निर्देशकले ‘यो भएन, त्यो भएन’ भन्दै थर्काउँछ ।’

फिल्मवृत्तमा पौडेल ‘पदम बा’का रुपमा प्रख्यात छन् । उनलाई कलाकारितामा प्रवेश गराउने व्यक्ति हुन्– सन्तोष पन्त । २०५९ सालतिर राससको कार्यक्रमका लागि उनी काठमाडौं आएका थिए । त्यहीबेला पन्तले दौरा सुरवाल र कालो कोटमा सजिएका उनलाई देख्नेबित्तिकै ‘कलाकार बन्न फिट’ भन्दै प्रशंसा गरेका थिए ।

यता पौडेलको मनमा कताकता सानदेखि कलाकार बन्ने हुटहुटी थियो । उनले पन्त सँगको भेटघाटलाई अवसरका रुपमा लिए । ‘म आसामको सिलाङमा पढ्दैखेरी भारतीय अभिनेता देवानन्दको ठूलो फ्यान थिएँ,’ उनले आफ्नो कलाकारिताको भुत सम्झिए, ‘म देवानन्दजस्तै कपाल हल्लाएर हिड्थेँ । उहाँको फिल्म नुछुटाई हेर्न जान्थेँ । एकपल्ट त हलमा टिकट काट्ने क्रममा नराम्रोसँग लडेको पनि छु । त्यतिबेला अरुले गुटी खाएर लडेको भन्थेँ ।’

पदमले ‘हिजोआजका कुरा’मा अभिनय गरेको पहिलो सिन अझै भुलेका छैनन् । ‘रियलमा पनि म गाउँबाट सहर आएको केटो, सिरियलमा पनि त्यस्तै रोल थियो,’ उनले सम्झिएँ, ‘दौरा सुरुवाल र छालाको जुत्ता लगाएको मैले कलाकार रमा थपलिया बहिनीको घरमा ढोका ढकढकाउनु पर्ने थियो । मैले चिच्याएपछि रमाले ‘को बोलिबक्स्यो, भित्र पालिबक्स्यो न’ भन्ने भाषा प्रयोग गर्नुहुन्थ्यो । म गाउँको केटो र उहाँको बोलिचाली पूरै भिन्न थियो । शब्दको अन्तिममा ‘बक्स्यो’भन्दा अचम्म लाग्थ्यो । त्यतिबेला रमाको एक टेक र मेरो दुई टेकमा सिन ओके भएको थियो ।’

हालसम्म कति फिल्ममा काम गरिसक्नुभयो ? प्रश्न भुइँमा खस्न नपाउँदै पदम बा’ले फटाफट भन्न थालेँ, ‘चलचित्र ६३ वटा पुगिसक्यो, सिरियल ३६, विज्ञापन ११, भिडियो ९ र डकुमेन्ट्री ३ वटा पुग्यो ।’

शोभित बस्नेतको ‘राजु राजा राम’मा राजेश हमालको बुबा बनेर फिल्मको यात्रा थालेका उनी शिव रेग्मीको ‘हामी तीन भाइ’मा रेखा थापाको बुबा बनेका थिए । ‘मैले त्यतिबेला उपहार चियाको विज्ञापन खेल्ने मौका पाएँ । टिभीमा त्यो त्यतिबेला दिनमा १७ पल्टसम्म बज्थ्यो । त्यसपछि त म कहाँबाट कहाँ पुगेँ ! धेरैले चिन्न थाले । फिल्ममा अफर पनि बढ्यो,’ उनले सुनाए ।

बुढेसकालमा आराम गर्न छाडेर किन फिल्मतिर लागेको ? ‘मलाई बुढेसकालमै कलाकार हुनु लेखेको रहेछ,’ पदम जवाफ दिन्छन्, ‘मेरो आमा सानोमा मलाई ‘टिके’ भन्नुहुन्थ्यो । टिके भन्नाले हँसिलो, रसिलो, मिहिनेती केटो ! त्यसैले मैले जुन फिल्म खेले पनि निधारमा टीका मेटिदैन । मेरी आमाको सम्झनामा टीका लगाउँछु । टीकाले मलाई काम गर्ने ऊर्जा दिन्छ ।’

हाल काठमाडौं, बुढानीलकण्ठस्थित चपलीमा बस्दै आएका पदम उमेरले ८१ पुगे पनि शारीरिक रुपमा निकै तन्दुरुस्त देखिन्छन् । यो कसरी सम्भव भयो होला ? नेपाल चलचित्र कलाकार संघको आजीवन सदस्यसमेत रहेका ‘पदम बा’ भन्छन्, ‘म बिहान ५ बजे उठ्छु । भक्तिभाव गर्छु । आधा घण्टा दैनिक व्यायाम गर्छु । दुई गिलास पानी पिउँछु । एक घण्टा ४५ मिनेट मर्निङ वाक गर्छु । त्यसपछि दुध पिउँछु । अनि महाभारत, श्रीमद् भागवन, देवी भागवत, वृहस्त्रोत्र, रत्नाकार दैनिक पाठ गर्छु । धूमपान, मद्यपान केही गर्दिन् । सायद यही भएर होला !’

पदम कलाकारितामा पैसा कमाउनभन्दा पनि अभिनयको प्यास मेट्न आएको बताउँछन् । ‘मलाई घरबाट ल्याउन र पु¥याउन मात्र गाह्रो हो, काम गर्न एकदमै सजिलो हुन्छ भन्छन्,’ उनले सुनाए, ‘म कसैलाई पनि मलाई यति पारिश्रमिक दिनुपर्छ भन्दिनँ । जति दिन्छिन्, उति लिन्छु । ‘मलामी’ फिल्मका बेला १० दिन सुटिङ गर्दा १८ हजार रुपैयाँ दिएका थिए । अहिलेसम्म त्यो नै मैले पाएको सबैभन्दा धेरै पारिश्रमिक हो ।’

ठाउँअनुसार पदमका परिचय पनि फरक–फरक रहेछन् । ‘मलाई गाउँ जाँदा पदम गुरु भनेर बेलाउँछन्, अहिले चपलीतिर ‘फिल्म बा’ भन्छन् । फिल्म क्षेत्रमाचाहिँ ‘पदम बा’ भन्छन् ।’

पदमले जीवनमा थरीथरीका भूमिका निर्वाह गरे । पर्दामा कहिले बुबा, कहिले वकिल, कहिले न्यायाधीश, कहिले पण्डित त कहिले ज्योतिष बनेर देखिए । पर्दाबाहिर पनि उनले फरक–फरक चरित्र निर्वाह गरे । शिक्षक, पत्रकार हुँदै कलाकार भए । यो लामो जीवनको अनुभव गरिसकेपछि सधैँ हसिला देखिने उनी सबैलाई एउटै कुरा सुझाउँछन्, ‘जीवनमा कहिल्यै तनाव नलिनू । पृथ्वीमा जन्म लिएपछि अँध्यारो हुनुहुँदैन, सधैँ उज्यालो हुनुपर्छ ।’पाँच छोरा र दुई छोरीका बुबा पदम आफ्नो जीवनको सफलताका पछि श्रीमती देवकुमारीको ठूलो हात रहेको बताउँछन् । ‘श्रीमतीले मलाई ‘यी बूढाले के खेलेको यस्तो भनेको भए सायद म अहिले कलाकार हुँदिनथिए,’ उनले भने, ‘तर मेरो श्रीमतीले त सपोर्ट मात्र गरिनन् उल्टै अभिनय गर्न पनि थालिसकिन् । ‘६क्का पञ्जा–२’मा त हामी दुवैले अभिनय गरेका छौँ ।’

 

Leave A Comment