‘फिल्म दमदार भए दर्शकले आफ्नै कथा ठान्छन्’

आइतबार, ०१ असोज २०७४, ११ : ५५ शुक्रवार , Kathmandu
‘फिल्म दमदार भए दर्शकले आफ्नै कथा ठान्छन्’

फरहान अख्तरपछिल्लो समयका प्रतिभाशाली अभिनेता हुन् । लेखक, गायक, निर्देशकसँगै प्रोड्युसरको परिचय बनाएका उनको ‘भाग मिल्खा भाग’ दर्शकहरुका साथै समीक्षकहरुबाट मन पराइएको फिल्म हो । केही समयअघि आएको उनको ‘रक अन २’ले बक्स अफिसमा भने राम्रो गर्न सकेन । बिना कुनै कसुर जेल पुर्याइएको एक आम मानिस ब्यान्ड बनाएर उम्केको कथा उनको यही शुक्रबारबाट प्रदर्शनमा आएको ‘लखनऊ सेन्ट्रल’ले प्रस्तुत गर्छ । यसै सन्दर्भमा उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानी :

निर्देशकका रुपमा समेत तपाईं आएकै कारण तपाईंलाई कस्ता फिल्म खेल्ने, नखेल्ने भनेर छुट्याउन सजिलो हुँदो होला ?
तपाईंले कुनै पनि फिल्मको स्क्रिप्ट पढिसकेपछि गर्ने नगर्ने भरपर्छ । तपाईंलाई कथाको पात्रले छोयो भने अवश्य गर्नुहुनेछ । फिल्म गर्ने नगर्ने भन्ने कुरा कथासँगै त्यससँग जोडिएको अािर्थक पाटो, समूह वा साथीभाइको कुरा समेत नजानिँदो हिसाबले जोडिएर आएको हुन्छ जस्तो लाग्छ मलाई ।
‘लखनऊ सेन्ट्रल’ गर्न के कुराले प्रेरित गर्यो ?
मलाई फिल्मको पटकथाले नै तानेको हो । जब मलाई निखिल आडवाणीले बोलाए र एउटा फिल्मको तयारी हुँदैछ भने । म त्यो फिल्म गर्दैै गर्दिनँ भने । किनभने यो फिल्म पनि एउटा ब्यान्डसँग सम्बन्धित थियो । मैले ‘रक अन’ र ‘रक अन–२’ मा ब्यान्डमा रहेको युवाको भूमिकामा प्रस्तुत भएको थिएँ तर उनले पहिले फिल्मको स्क्रिप्ट त पढ भने र मैले स्क्रिप्टबारे सुन्दै यो प्रोजेक्टमा समावेश हुने निर्णय गरेको थिए ।
फिल्मको रोलका कत्तिको तयारी गर्नुभयो ?
मैले त्यस्तो साह्रो मिहिनेत गरिनँ । फिल्ममा रहेको मेरो पात्र निर्दोष हुन्छ तर पनि ऊ जेलको हावा खाएर बस्न बाध्य भएको हुन्छ । मेरो पात्र किशन जेलबारे अनभिज्ञ हुन्छ । फिल्ममा पात्रको यस्तो कथाको प्रस्तुति दिनु नौलो लाग्यो मलाई । म फिल्मका लागि उसको संगीतप्रतिको लगाव र प्रेमबारे फोकस हुनु थियो । अनि उसको जीवनबारेको सोचबारे पनि । उसलाई भविष्यमा आफू कोही न कोही बनेरै छाड्छु भन्ने विश्वास उसमा हुन्छ ।
अचेल सुपरस्टारका फिल्मभन्दा पनि खँदिलो विषय भएका फिल्महरुलाई दर्शकहरुले रुचाउन थालेका छन् । यसबारे तपाईंको विचार ?
आजको समयमा कुनै पनि अभिनेता राम्रो विषयवस्तु भएको फिल्म लिएर आयो भने उसको कामको प्रशंसा गर्नेहरु धेरै छन् । पछिल्ला छ सात महिनायता खँदिला विषय भएका फिल्महरुको वर्चश्व छाएको छ जस्तो लाग्छ । समय आएपछि सबै कुरा सन्तुलनमा आउने मेरो विश्वास छ । अझ फिल्म मेकरहरु पनि यो कुरालाई गम्भीर रुपमा हेर्दै आइरहेका छन् । अहिलेका दर्शकहरुको चाहना पनि यस्तै फिल्ममा छ । मानिसहरु आफू र वरपरका विषयमा बनेका फिल्महरु रुचाउँछन् जस्तो लाग्छ मलाई । कुनै फिल्मले दमदार कथा भन्न सक्छ भने त्यो कथालाई दर्शकहरुले आफ्नो कथा हो भनेर मान्छन् पनि ।
अलिक फरक कुरा गरौं । तपाईंलाई लेखक, निर्देशक, प्रोड्युसर, गायक अथवा अभिनेता के भन्ने ?
खै, म आफैँ अलमलमा पर्छु । मलाई यी सबै काम गर्न मज्जा आउँछ ।
तपाईं सामाजिक सञ्जालमा निकै सक्रिय पनि हुनुहुन्छ । केही पहिले र अहिले पनि हाम्रा स्टार कलाकारहरु ट्रोल र मेमको शिकार बनिदिन्छन् । यसबारे के छ त तपाईंको विचार ?
यो तपाईं हामीले नै बनाएको सामाजिक सञ्जाल नामको भर्चुअल चौतारोको परिणाम हो यो । सामाजिक सञ्जालका रुपमा हामीले हिंस्रक जनावार हुर्काइरहेका छौं । अहिलेको समयमा तपाईं सामाजिक सञ्जालबाट अलग रहन पनि सक्नु हुन्न । तर तपाईंले भन्न चाहेको कुरालाई यसले रोक्न सक्दैन । मानिसहरुले अनलाइनबाटै ज्यानमार्ने धम्की दिनु, बलात्कारको धम्की दिनु जस्ता कुराहरुलाई जबसम्म गम्भीर रुपमा लिइँदैन यी पनि सबै तपाईंको सोच विचारको प्रवाहको रुपमा प्रस्तुत हुन्छन् । सामाजिक सञ्जाललाई कसरी विचारहरुको प्रवाह गर्ने थलो बनाउने भन्ने कुरा तपाईंमै भर पर्ने कुरा हो ।
बजारमा ‘जिन्दगी ना मिलेगी दुवारा’को सिक्वेल आउने हल्ला छ । खासमा कुरो के हो ?
मलाई लाग्छ जोया र रीमा कतै कुनामा बसेका छन् र यसको स्क्रिप्टमा काम गर्दै होलान् । ऋतिक, कट्रिना, अभय र रितेश, सबैजना उनीहरुलाई स्क्रिप्ट लेखिहाल्न भनेका छन् । मैले पनि उनीहरुलाई लेख्नुपर्छ भन्दै सम्झाइरहन्छु । फिल्ममा काम गर्दाताकाको रमाइलो अझै ताजा बनिरहेको छ ।
तपाईंले भारतकी पहिलो र एकमात्र पाराओलम्पिक मेडलिस्ट दीपा मलिकबारेको बायोपिक प्रोड्युस गर्दैहुनुहुन्छ । के तपाईंले यसलाई निर्देशनसमेत गर्दै हुनुहुन्छ ?
छैन । मैले निर्देशन गर्ने छैन । प्रोड्युसर मात्र हुँ । फिल्मको कथा निकै नै रोमाञ्चक छ । दीपाको विश्वासको कथा नै फिल्मको कथा हो । अहिले हामीहरु फिल्मको पटकथा र कथामा काम गर्दैछौँ ।
प्रियंका चोपडा अमेरिकाबाट भारत फर्कंनेबित्तिकै उनलाई तपाईंले ‘डन ३’ मा साइन गराएको हल्ला सुन्न पाइन्छ नि !
उनी सहरमा नहुँदा पनि यो कुरा चलिरहन्छ । हामीले यसका लागि उनी जिम्मेवार हुन् भन्न चाहन्नौं ।
के तपाईंले ‘डन–३’ निर्देशन गर्नुहुन्छ ?
‘डन–३’ को कुरा गर्दा जतिबेला पनि म सजग र सचेत रहन्छु । मानिसहरु यसबारेको कुरा सुन्दा पनि खुसी हुन्छन् । मानिसहरु मलाई यो बनाउँदै हुनुहुन्छ र ? भन्दै प्रश्न गर्छन् । म पनि ‘पक्कै, म यो फिल्ममा काम गर्न पाएका पक्कै रमाउनेछु’ भन्छु । र, यही कुराले नै दर्शकहरुलाई अलमल पारिदिन्छ । मैले फिल्म बनाउँछु त भनेको छैन, बनाउन पाएमा रमाउनेथेँ भन्दै आएको छु । फिल्म कुरिरहेका दर्शकहरुलाई हुँदै नभएको कुरा सुनाएमा हामीहरुप्रतिको उनीहरुको विश्वास हराउँदै जान्छ । यसबारे कुनै रहस्य छैन । जुन दिन म यसबारे तयार हुन्छु त्यही दिन म यसबारे बोल्नेछु ।


कान्छी छोरी अकिरासँगै तपाईं हालै युरोपमा छुट्टी मनाएर आउनुभयो । यसले तपाईंको प्यारेन्टिङमा केही प्रभाव पार्यो कि ?

तपाईं साथीहरुसँग घुम्न जानुभयो भने तपाईं उनीहरुलाई आफ्नै पारामा रहन बस्न दिन सक्नुहुन्छ र आफ्नो काम गर्न सक्नुहुन्छ । तर तपाईं यदि बालबच्चासँग घुम्दै हुनुहुन्छ भने तपाईं त्यसो गर्न सक्नुहुन्न । उनीहरुको हर समय रेखदेख गरिरहनुपर्छ । तपाईं आफूलाई मनलाग्ने काम गर्न थाल्नुभयो भने बच्चाहरुलाई बोर लाग्न सक्छ । छोरीसँग बिदामा जाँदा निकै रमाइलो भयो । उनीसँग क्वालिटी टाइम सेयर गर्न पाएँ । योपटकको यात्रामा नै हामीहरु दुईजना मात्र थियौं, बाबु र छोरी । मैले मेरो फिल्म सुट, अफिस र उनको स्कुल भुलेर मस्त पारामा बिदा कटायौं । मलाई एकदमै खुसी लाग्यो । म अब प्रत्येक वर्ष एकपटक छोरीहरुसँग मात्र यात्रामा निस्कने योजना बनाएको छु ।
तपाईंका आगामी प्रोजेक्टहरुबारे बताइदिनुहोस् न ?
प्रोड्युसरका रुपमा ‘फुकरे–२’ र ‘गल्ली बोयज’ छन् । म आगामी वर्ष दुई फिल्म गर्दैछु । एउटा म निशिकान्त कामत र अर्को मोहित सुरीसँग । राम्रा मेकरहरुसँग काम गर्न पाउँदा निकै उत्साहित छु ।

Leave A Comment