थुनुवा मृत्यु प्रकरण फन्दामा प्रहरी

आइतबार, ०१ असोज २०७४, ११ : ४९ शुक्रवार
थुनुवा मृत्यु प्रकरण फन्दामा प्रहरी

देवेन्द्र बस्नेत/दाङ

भदौ १४ गते जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस राख्यो– ‘गंगटे भनेर चिनिने व्यक्ति बेवारिसे अवस्थामा फेला परेकाले सम्बन्धित व्यक्तिले सम्पर्क राख्नु होला ।’

अहिले यही स्टाटस प्रहरीको टाउको दुखाई बनेको छ । कारण– प्रहरीले आफ्नै नियन्त्रणमा रहेको थुनुवालाई ‘बेवारिसे अवस्थामा फेला परेको’ भनेर लेख्नु । घटनालाई गुपचुप राख्नका लागि यसरी गलत प्रचार गरिएको रहस्य बाहिरिएपछि यति दाङ प्रहरीमा तनाव उत्पन्न भएको छ । नेपाल प्रहरी प्रदेश नम्बर पाँचको मुख्यालयले घटनासँग जोडिएका जिल्ला प्रहरी प्रमुखसहित एक प्रहरी निरीक्षक र एक प्रहरी जवानलाई विभागीय कारबाही थालेका छन् ।

‘प्रहरीबाट यसरी गलत सूचना आउनु धेरै ठूलो गल्ती भयो,’ प्रदेश नम्बर ५ का प्रहरी प्रमुख एआइजी मिङ्मार लामाले भने, ‘मृतक प्रहरी हिरासतमै रहेका बेला मृत्यु भएको भन्ने प्रमाणित भयो । गलत सूचना प्रवाह गरेकाले जिल्ला प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय लमहीका प्रमुख र हिरासत व्यवस्थापनका एकजना जवानमाथि हामीले विभागीय कारवाही सुरु गरेका छौँ ।’

यस्तो छ घटनाको नालीबेली
देउखुरीको लमहीमा सामान्य चोरीका घटनाहरु बढ्दै गएका थिए । वडा प्रहरी कार्यालय लमहीले यो जानकारी जिल्ला प्रहरी कार्यालयमा गरायो । चोरीमा सम्भावित संलग्नहरुको पहिचानका लागि जिल्ला प्रहरी कार्यालयले घोराही क्षेत्रमा निगरानी बढायो । लमहीको चोरी घटनामा संलग्न रहेको आशंका गर्दै भदौ १३ मा समातिए– ‘गंगटे’ (जसलाई प्रहरीले बेवारिसेको संज्ञा दियो) ।

गंगटे लामो समयदेखि बेसहारा थिए । उनी एक्लै सडकमा जीवन गुजार्दै आएका थिए । अत्यधिक मदिरा सेवन गर्नु उनको खराब बानी थियो ।  बजारमा पसल सञ्चालकहरुसँग पाँच÷दस रुपैयाँ माग्दै हिँड्थे उनी । मदिराको तालमा लठ्ठिएर हिँड्ने गंगटेमाथि प्रहरीको नजर प¥यो । चोरीको घटनामा उनको संलग्नता हुन सक्ने देख्यो । त्यसपछि भदौ १३ मा जिल्ला प्रहरी कार्यालयको प्रहरीले टोलीले उनलाई पक्राउ ग¥यो र लमहीस्थित वडा प्रहरी कार्यलयलाई बुझायो ।

अत्यधिक मदिरा सेवन गरेका कारण नियन्त्रणमा लिइएकै दिन उनलाई लमही अस्पतालमा मेडिकल जाँच गराइयो । ‘१३ गते राति मापसे चेकजाँचका लागि प्रहरीले नै उनलाई अस्पताल ल्याएका थिए,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईश्वरी खनालले भने, ‘उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो, चेकजाँचपछि उनलाई प्रहरीले लगेका थिए ।’ एआइजी लामाका अनुसार उनलाई स्वास्थ्य जाँचपछि वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो जहाँ अरु थुनुवाहरु पनि थिए ।
 
तर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरीले आफ्नो कार्यालयको हिरासतमा उनलाई राख्दै नराखेको दाबी ग¥यो । यहाँसम्म कि वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले १३ गते अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गंगटेलाई पु¥याएका प्रहरीबारे थाहा नभएको गैरजिम्मेवार जवाफ दिए । ‘यो घटनाबारे मलाई केही पनि थाहा छैन, यो जिल्लाले नियन्त्रणमा लिएको हुनसक्छ तर हाम्रो एकाईबाट हैन,’ उनले घटना सार्वजनिक भएलगत्तै शुक्रवार संवाददातासँग भनेका थिए, ‘अस्पतालमा उपचारका लागि लैजाने प्रहरी कहाँका हुन् ? त्यो पनि मलाई थाहा छैन ।’

१३ गते वडा प्रहरीको हिरासतमा राखिएका गँगटे अर्को दिन (१४ भदौ) बिहान ६ बजेतिर थुनुवा कक्षमा लडेको अवस्थामा भेटिए । ‘मदिराको अधिक नशामा रहने उसले राति पनि प्रहरीसँग मदिरा मागेको रहेछ,’ एआइजी लामाले भने, ‘उसले मदिरा पिउन नपाएका कारण पनि थुनुवा कक्षभित्रै लडेको हुन सक्छ ।’

त्यसपछि प्रहरीले बिहान ८ बजेतिर गंगटेलाई अचेत अवस्थामा लमही अस्पतालमा पुर्याएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खनालका अनुसार उनको शरीरमा चाल थिएन । अस्पतालले गँगटेको इसिजी जाँचका लागि लमहीस्थित फ्लोरेन्स अस्पतालमा पठायो । कारण– लमही अस्पतालमा यो मेसिन छैन । इसिजी जाँचका क्रममा पुष्टि भयो– गंगटेको मृत्यु भइसकेछ ।

‘इसिजी जाँचका क्रममा उनको मृत्यु पुष्टि भयो,’ डा. खनालले भने, ‘त्यसपछि उनको पोस्टमार्टम गर्ने भन्ने तयारीसमेत गरिएको थियो तर प्रहरीले त्यहाँ पोस्टमार्टम गर्न मानेन । त्यसपछि के भयो ? मलाई पनि थाहा छैन ।’

स्रोतका अनुसार त्यसपछि लमहीस्थित एक सहकारी संस्थाको एम्बुलेन्स मगाइयो । सोही एम्बुलेन्समा राखेर घोराही राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याउने प्रहरीको योजना थियो तर एम्बुलेन्स चालकले शव बोक्न अस्वीकार गरे । ‘मलाई फोन गरेर एकदमै सिरियस बिरामी छ तुरुन्त आउनुस् भनेर बोलाइयो,’ एम्बुलेन्सका चालकले नाम नखुलाउने सर्तमा भने, ‘पछि लाश भन्ने थाहा पाएपछि मैले एम्बुलेन्समा नभई शव बाहनमा लैजान भनेको थिएँ ।’

तर शव बाहनको व्यवस्था गर्न समय लाग्ने भन्दै सोही एम्बुलेन्समा राखेर पठाइयो । साथमा एकजना प्रहरी पनि थिए । ती प्रहरीले चालकलाई कसैले सोधेको खण्डमा उपचारका लागि ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको भनेर ढाँट्न भनेका थिए । ‘कसैले सोध्यो भने बाटोमा मरेको भन्नु भनेर मलाई प्रहरीले भनेका थिए,’ उनले सुनाए, ‘मैले पनि हुन्छ भनेको थिएँ ।’

तर एआइजी कार्यालयले गरेको अध्ययन योभन्दा अलिक फरक देखिएको छ । एआइजी लामाका अनुसार गँगटेको मृत्यु पुष्टि लमहीमा नभई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा भएको थियो । लमही अस्पतालमा इसिजी नभएपछि इसिजी परीक्षणका लागि फ्लोरेन्स अस्पतालमा लाँदा त्यहाँ पनि मेसिनमा खराबी आएकाले गँगटेलाई अचेत अवस्थामा राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याउँदै गर्दा बाटोमै मृत्यु भएको लामाले बताए ।

तर घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरिएको गँगटेको शवलाई प्रहरीले घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा बेवारिसे अवस्थामा फेला परेको भनेर गलत मुचुल्का बनायो । सोही मुचुल्काका आधारमा उसले मृतकका आफन्तहरुलाई सम्पर्कमा आउनका लागि सूचना सार्वजनिक ग¥यो तर बेवारिसे गँगटेका आफन्तहरु कोही पनि सम्पर्कमा आएनन् । अन्ततः १६ भदौमा घोराही उपमहानगरपालिकाको रोहबरमा प्रहरीले ‘गँगटे’को शव गाडिदियो ।

यसरी खुल्यो पोल
शवमाथि जालझेल गरेर घटना लुकाउन खोजेको प्रहरीको कर्तुत सामाजिक सञ्जालमार्फत अर्को दिन बाहिरियो । प्रहरीले बेवारिसे मृत अवस्थामा फेला परेको भनेर सार्वजनिक गरेका उनै गँगटेलाई प्रहरीसहित लमही अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदाकोे तस्बिर सार्वजनिक भयो । यो तस्बिर लमहीका एक बिरामीका आफन्तले खिचेका रहेछन् । प्रहरीले गँगटेलाई गरेको ‘रुखो’ व्यवहार देखेपछि आफूले फोटो खिचेको ती स्थानीयले बताएका छन् । उनका अनुसार प्रहरीले उनलाई ठूलै ‘अपराधी’ सरह व्यवहार गरिरहेका थिए ।

यो घटना सार्वजनिक भएपछि प्रदेश नम्बर ५ को प्रहरी मुख्यालयले अनुसन्धान थाल्यो । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिप चौधरीलाई मुख्यालयले सत्यतथ्य पत्ता लगाउन भन्दै एक हप्ताको समय दियो । एसएसपी चौधरीले यस घटनासँग सम्बन्धित सबैसँगै बयान लिएपछि निष्कर्ष निकाले– घटनामा प्रहरीकै गल्ती रहेछ ।

एसएसपी चौधरीको प्रतिवेदनका आधारमा एआइजी लामाले जिल्ला प्रहरी प्रमुख,वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक र हिरासत व्यवस्थापनमा खटिएका एक प्रहरी जवान माथि ‘एक्सन’ लियो । ‘कस्टडीमा भएको व्यक्तिको शव कसरी बेवारिसे भेटिन्छ ?’ लामाले भने ‘यो प्रहरीबाट भएको गम्भीर गल्ती हो । त्यसैले हामीले कारबाहीको प्रक्रिया सुरु गरिसकेका छाँै ।’

आफ्नै नियन्त्रणमा रहेका बेला मृत्यु भएका गँगटेलाई प्रहरीले किन बेवारिसे भन्दै ढाकछोप गर्न खोज्यो ? लामाका अनुसार, प्रहरी हिरासतभित्र भएको मृत्युको प्रक्रिया झन्झटिलो हुने भएकाले यसो गरिएको हुनसक्छ । ‘कस्टडीभित्र रहेको व्यक्तिको मृत्युको घटनाले विवाद होला, झन्झट हुन्छ भनेर प्रहरी सहजै पन्छिन खोज्यो,’ लामाले आफ्नो अनुसन्धानमा फेला पारेको तथ्य सुनाउँदै भने, ‘प्रहरीको महाभुल यहीँनेर भयो ।’

घटनामा गलत ठहरिएका प्रहरीहरुलाई कस्तो खालको विभागीय कारबाही हँुदैछ भन्नेबारे एआइजी लामाले बोल्न चाहेनन् । ‘विभागीय कारवाही भन्ने बुझ्नुस्,’ उनले भने, ‘अब कस्तो के भन्ने बारेमा विभागले निर्णय गर्छ ।’  

एआइजी कार्यालयले प्रहरीको गल्ती भनेको गलत सूचना प्रवाह गर्नु मात्रै भनेको छ । यसबाहेक प्रहरीबाट अन्य गल्ती नभएको दाबी उनीहरुको छ । लामाका अनुसार प्रहरीबाट गँगटेमाथि कुनै कुटपिट भएको पाइएन । ‘हिरासतभित्र उसलाई प्रहरीबाट कुटपिट भए नभएको भन्ने बारेमा सोध्यौँ, तर त्यहाँ रहेका सबै थुनुवाहरुले उनीमाथि कुनै किसिमको कुटपिट नभएको बयान दिए,’ एआइजी लामाले सुनाए ।

त्यसो भए के हो त उनको मृत्युको कारण ? प्रहरीले तथ्य अझै खोलेको छैन तर पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गँगटेको फोक्सोमा ‘पीप’ जमेको देखिएको छ । एआइजी लामाका अनुसार निरन्तर मदिरा सेवन गर्दै आएका गँगटे शारीरिक रुपमा पनि पूर्ण अस्वस्थ थिए । उनको प्रहरी हिरासतभित्र प्रहरी आक्रमणबाट नभई उनकै रोगका कारण मृत्यु भएको लामाको दाबी छ । ‘ऊ पहिले पनि अस्वस्थ रहेछ,’ लामाले भने, ‘उसको मृत्यु कस्टडीभित्र हुनु संयोग मात्रै पर्न गएको हो तर खासमा उसको मृत्यु आफ्नै रोगका कारण भएको हो ।’ तर, अस्वस्थ व्यक्तिलाई प्रहरी थुनामा राख्नु कत्तिको जायज हो ? प्रश्न उब्जिएको छ ।

मौन मानव अधिकारकर्मी
प्रहरी हिरासतभित्र मृत्यु भएका व्यक्तिलाई बेवारिसे अवस्थामा भेटिएको भनेर प्रचार गरिँदासम्म मानवअधिकारकर्मीहरु मौन छन् । मानव अधिकारवादी संघसंस्थाहरुले यस घटनामा देखाएको मौनताले ‘मानव अधिकार संरक्षण’को अभियानलाई उदांगो बनाइदिएको छ । ‘मानव अधिकारकर्मीहरु हुनेखानेका अधिकारका लागि मात्रै लड्दा रहेछन् भन्ने प्रष्ट पार्यो,’ दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले बताए ।
यस घटनामा कुनै पनि मानव अधिकारवादी संघसंस्थाहरु सामान्य विज्ञप्तिसमेत जारी गरेका छैनन् ।

 

Leave A Comment