ढिपी कार्टुनिस्ट

आइतबार, ०१ असोज २०७४, ११ : ४० शुक्रवार
ढिपी कार्टुनिस्ट

प्रकाशजंग थापा

हरेक व्यक्तिलाई जस्तै बब म्यानकफलाई पनि जीवनमा के गर्ने, के बन्ने भन्ने अत्तोपत्तो थिएन । सपना देख्नु, लक्ष्य लिनुबारे उनी बेखबर थिए । जंगलमा हराएको यात्रुजस्तै थिए, कम्पासविहीन । जता बाटो देख्यो त्यतै लाग्थे । तर उनको एउटा बानी राम्रो थियो । फुर्सद पाउनेबित्तिकै चित्र कोर्नु उनको रुचिको कुरा थियो । त्यसैले उनी ललितकला सिक्ने कलेजमा भर्ती भए । पढाइ सकेको तीन वर्ष उनी बेकामे भए । सोचेजस्तो काम हात नपरेको भन्दै उनी कलेजमा फिलोसफी र साइकोलजी पढ्ने निर्णय गरे ।
एक दिन उनले सिड हफले लेखेको पुस्तक लर्निङ टु कार्टुन किने । पुस्तक पढेपछि आफू कार्टुनिस्ट पो बन्न सकिन्छ कि भनेर त्यसैमा लागिपरे । उनले पुस्तकको सुझावअनुरुप २७ वटा कार्टुन बनाए । त्यसपछि उनले ती सबै कार्टुन द न्युयोर्कर म्यागेजिनलाई पठाए । म्यागेजिनका सम्पादकले बनाइएका ती सबै कार्टुन रद्दी भएकाले छाप्न नसक्ने बरु अलि गतिलो बनाएर ल्याउन सुझाव दिए ।
म्यागेजिनले रद्द गरेका कार्टुनलाई अन्य म्यागेजिनमा छाप्नका लागि उनले नपठाएका होइनन् तर तिनले पनि रुचाएनन् । त्यसपछि त उनले कार्टुन बनाउने सोच नै त्यागे । गुजाराका लागि विकल्पहरु खोज्न थाले । त्यस बेला अमेरिका भियतनामका कम्युनिस्ट सिध्याउने अभियानमा थियो र लाखौँ सैनिक भियतनाममा लडिरहेका थिए । एक दिन उनलाई भियतनामको लडाइँका लागि योग्य मानिएको भनी सन्देश आयो । पेन्ट ब्रस बोक्न मन पराउने बबले बन्दुक बोक्न चाहेनन् । सिधै अस्वीकार गरिदिए । केही नलागेपछि उनी प्रयोगात्मक साइकोलजीमा समय र शक्ति लगानी गर्न थाले । केही वर्ष विभिन्न खोज अनुशन्धानमा हराए । प्रयोगशालामा डेरा जमाउन थाले । फुर्सद पाएका बेला मात्र उनले कार्टुन बनाउन थाले ।
उनी आफूलाई रमाइलो र फन्नी व्यक्ति ठान्थे तर गरिरहेका थिए गम्भीर अनुसन्धान । यस काममा उनले मजा लिन सकिरहेका थिएनन् । उनले एक किसिमको रिक्तता महसुर गरे । उनको व्यक्तित्व र काम  म्याच हुन सकेको थिएन । रिसर्च साइकोलजीलाई पन्छाएर ह्युमर (हास्य)लाई आफ्नो करियरको रुपमा विकास गर्न चाहे ।
त्यस समय ह्युमर (हास्य) दुई तरिकाले प्रवाह गर्न सकिन्थ्यो । एक स्ट्यान्ड अप कमेडी गरेर अर्को चाहिँ कार्टुन बनाएर । बबले दुवैमा दिलोज्यान दिएर काम गरे । दिउँसो कमेडी गर्थे र राति कार्टुन कोर्थे । उनलाई अनुभवहरु बटुल्दैै जाने क्रममा कार्टुन बनाउनु बढी महŒवपूर्ण लाग्न थाल्यो । त्यस समय स्ट्यान्ड अप कमेडीका लागि त्यति ठूलो प्लेटफर्म थिएन । कमेडी क्लब पनि उति धेरै थिएनन् । त्यसैले उनलाई कार्टुनमा सम्पूर्ण ऊर्जा लगाउनु उचित लाग्यो ।
    बबले एकपछि अर्को कार्टुन निरन्तर बनाए । उनका लागि कार्टुन बनाउनु जागिर पकाउने काम थिएन । त्यो उनको प्यासन थियो । समय क्रमसँगै उनका कार्टुन पत्रपत्रिका र म्यागेजिनमा अलिअलि छापिन थाल्यो । छापिनेबित्तिकै प्रतिक्रिया आउन थाल्यो । हेर्दाहेर्दै उनी रुचाइने कार्टुनिस्ट बने । उनी रुचाइएका कार्टुनिस्ट मात्र बन्न चाहदैन थिए । उनी विश्वप्रसिद्ध कार्टुनिस्ट कहलिन चाहन्थे । उनले आफ्नो नाम हरेक घरमा भिœयाउन चाहन्थे । त्यसका लागि दि न्यु योर्कर म्यागेजिन उपयुक्त थियो । दुई वर्षसम्म लगालग कार्टुन पठाए तर कुनै पनि छापिएन । उनी न्यु योर्कर म्यागेजिन बाहेकका अरु केही म्यागेजिनमा मात्रै आफ्नो कार्टुन छपाउन सफल भएका थिए । यसले उनको आत्मविश्वास मर्न दिएन ।
बब आफूलाई योग्य साबित गर्न चाहन्थे । केही अलग काम गर्ने मुडमा थिए । यसर्थ उनी न्युयोर्क पब्लिक लाइबे्ररी गए । सन् १९२५ अगाडि दि न्यु योर्कर म्यागेजिनमा कस्ता कार्टुन छापिँदारहेछन् भनेर अध्ययन गरे । उनले ठीकठीकै खाले कार्टुन पनि छापिएको पाए । उनको आशाको बेलुनमा हावा भरियो । महŒवपुर्ण पक्ष त उनले सम्पूर्ण कार्टुन हेरेपछि केही कुरामा समानता पाए । एक, प्रत्येक कार्टुनले केही सोच्न बाध्य तुल्याउँथ्यो । दुई, हरेक कार्टुनिस्टमा मौलिकपन थियो । आफ्नो व्यक्तिगत स्टाइल थियो ।
त्यसपछि बबको आत्मबल बढ्यो । मानिसलाई सोच्न बाध्य पार्ने र आफ्नो निजत्व भएको कार्टुन स्केच गर्न सक्ने दक्षता थियो । उनले धेरै स्टाइलमा कार्टुन बनाए तर अन्तिममा डट स्टाइल रोजे ।
बब सन् १९७४ देखि १९७७ बीच २००० पटक दि न्यु योर्कर म्यागेजिनबाट अस्वीकृत भएका थिए । उनले हार मानेनन् । सन् १९७७ जुन २० का दिन उनले आफ्नै निजत्व र शैली भएको कार्टुन पठाए । अन्ततः त्यो छापियो । त्यसपछि उनले क्रमशः १९७८, १९७९ र १९८० मा १३, २५ र २७ वटा कार्टुन म्यागेजिनमा छपाउन सफल भए । सन् १९८१ मा बबलाई कन्ट्र्याक्ट कार्टुनिस्टका रुपमा काम गर्न अफर गरियो । जुन उनले सहर्ष स्वीकारे । बब सन् १९९७ देखि २०१७ अप्रिल २९ सम्म दि न्युयोर्कर म्यागेजिनको कार्टुन सम्पादक भएर काम गरे । उनी युवा कार्टुनिस्टलाई यस्तो सुझाव दिन्छन्, ‘एक पटकमा १० ओटा कार्टुन बनाउनू किनभने जीवनमा जस्तै कार्टुन बनाउने काममा पनि १० मध्ये ९ वटा काम नलाग्ने खालका हुन्छन् ।’

Leave A Comment