आमा छोरी गायनमा

शनिबार, ३१ भदौ २०७४, ०२ : ०२ शुक्रवार
आमा छोरी गायनमा

भारती बस्याल १४ वर्षकी हुँदा पहिलो एल्बम ‘मृगतृष्णा’ बजारमा ल्याइन् । भारत, आसामकी उनले २०५४ सालमै सो एल्बम निकालेकी थिइन् । संगीतमा ठूलै फड्को मार्ने उनको लक्ष्य थियो । त्यहाँ रहँदा विभिन्न भाषामा करिब १ सय वटा गीत गाइसकेकी थिइन् तर जब उनको बुबाको गाडी दुर्घटना परी निधन भयो, त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो ।  

आमा, दुई भाइ र एक बहिनीसहित उनको परिवार आसाम छाडेर काठमाडौँ आयो । ‘बुबाको गाडी दुर्घटना नभएर जानीजानी चालकले हानेको कुरा थियो, उहाँको निधनपछि दुई वर्ष त म डिप्रेसनमा थिएँ,’ भावकु हुँदै भारतीले भनिन्, ‘त्यसपछि नेपाल आइयो, बिहे भयो, अनि घरायसी काम र बच्चाबच्ची हेर्दाहेर्दै १२ वर्ष ग्याप भयो । १२ वर्षको ग्यापपछि पुनः म संगीतमा फर्किएकी छु ।’

बाल्यकालदेखि नै भारतीको संगीतमा जुन हुटहुटी थियो त्यो बीचमा रोकिए पनि अब सुरु भएको छ । उनले अहिले आफू मात्र नभएर आफ्नी १० वर्षीया छोरी समृद्धिलाई पनि संगीतमा सँगसँगै लिएर अघि बढ्दै छिन् । छोरीले हालै दुइटा गीत बजारमा ल्याइसकेकी छन् । ‘मेरो प्यारो साथी थियो’ बोलको गीतमा आमा भारतीकै शब्द र संगीत छ । अर्को गीत भने आमालाई समर्पित गर्दै समृद्धिले ‘आइ गट लाइफ फ्रम माई मम’ भन्ने गीत अंग्रेजीमा गाएकी छन् ।

छोरीसँग भएको कला प्रष्फुटन होस् भनेर संगीत लाग्न प्रेरित गरेको भारती बताउँछिन् । ‘म्युजिकमा लागेर उदास भएका मान्छेहरु देख्दा मेरो छोरी पनि त्यस्तै होला कि भन्ने डरले उहाँको बुबा छोरीले गायनमा करिअर बनाओस् भन्ने चाहनुहुन्न,’ भारतीले भनिन्, ‘मलाई भने ऊ संगीत पनि लागोस् भन्ने छ तर पढाइ पनि नबिगारोस् ।’

भारतीको बाआमा दुवै असममा शिक्षक हुनुहुन्थ्यो । भारती र उनकी आमा दुवै अल इन्डिया रेडियो गुहाटीकी ‘एप्रुभ्ट राइटर’ थिए, गीत लेख्ने गर्थे । भारतीले भारतको लखनउ भातखण्डेबाट शास्त्रीय संगीतमा स्नात्तक पनि गरेकी छन् । भन्छिन्, ‘सानैदेखि मेरो परिवारमा सांगीतिक माहोल थियो । एउटी बहिनी पनि गाउँथी, अर्को भाइ तबला बजाउँथ्यो । अहिले दुवै अमेरिकामा छन् । एउटा भाइ यतै छ ।’ उनले असममै सप्तसुर संगीत निकेतन स्कुल पनि खोलेकी छन्, जुन अझै सञ्चालनमा छ । ‘म त्यहाँ संगीत पढाउँथे, अब त्यो स्कुल यता खोल्ने विचार गर्दैछु,’ उनले सुनाइन् ।

भारती उनको परिवारसहित २०६१ सालमा काठमाडौं आएकी थिइन् । पुख्र्यौली घर ताप्लेजुङ भएकाले त्यसअघि पनि नेपाल आउजाउ भइरहन्थ्यो । २०६३ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरिन् भने २०६४ सालमा बिहे भयो । ‘बिहेपछि मैले रेडियो नेपालमा ‘हे देवी भगवती माता’ बोलको भजन पनि रेकर्ड गरेको थिएँ,’ उनले सुनाइन् ।

जसरी अहिले छोरीले भारतीको सम्झनामा गीत गाएकी छन्, त्यसैगरी उनले पनि बुबाको मृत्यपछि उनको सम्झनामा ‘तिम्रो याद आउँदा’ बोलको गीत गाएकी छन् । ‘मैले गाएकोमध्ये मलाई मनपर्ने गीत हो यो,’ उनले भनिन् ।

भारतीले संगीतमा कमब्याक भएपछि ‘च्याङ्बा ओइ च्याङ्बा’ बोलको तामाङ सेलो गीत गाएकी छन् । ‘त्यो डाँडापारि’ बोलको अर्को म्युजिक भिडियो पनि छ । ‘म सन्देशमूलक र मनोरञ्जनात्मक गीत गाउन रुचाउँछु, शब्द अर्थपूर्ण हुनुपर्छ,’ उनी भन्छिन्, ‘म फास्टफुड जस्तो नभएर स्लो पोइजनजसरी अघि बढ्न चाहन्छु । एकैदिनमा भाइरल भएर हराउन चाहन्नँ, बरु ढिलो होस् तर स्रोताको मनमस्तिष्कमा बसिरहन पाऊँ ।’

भारतीले टाइम्स एफएफममा ‘संघर्ष जिन्दगी’को कार्यक्रम पनि चलाउँछिन् । उनलाई लाग्छ– हरेक मान्छेको जिन्दगीमा संघर्ष हुन्छ । भन्छिन्, ‘म नयाँ र पुराना कलाकारलाई ल्याएर उसको त्यही संघर्षलाई खोतल्न खोज्छु । म मेरा नयाँ गीतमा सधैँ नयाँ कलाकारलाई स्थान दिन्छु ।’ उनले ‘ओ च्याङ्बा’ गीतमा श्रवणकुमार नेपाललाई गाउन दिएकी छन् । श्रवण उनकै कार्यक्रममा अतिथिका रुपमा आएका थिए । ‘उहाँले भाडा माझेर संगीत सिक्नुभएको रहेछ, उहाँको संघर्षको कथाले मलाई छोयो अनि मैले मेरो गीतमा उहाँलाई नै गाउने अवसर दिएँ,’ उनले सुनाइन् ।

Leave A Comment