प्रदेश नं. २ लाई तपाईंहरुले कसरी लिइराख्नु भएको छ ?

शनिबार, ३१ भदौ २०७४, ०१ : ५८ शुक्रवार
प्रदेश नं. २ लाई तपाईंहरुले कसरी लिइराख्नु भएको छ ?

परिवर्तन तर्फ अग्रसरता हुन्छ
जंगबहादुर सिंह,
अधिकारकर्मी
यो स्थानीय तह चुनावपछि सबै थोक एकै चोटि बदलिनै हाल्छन् भने हैन । यद्यपि परिवर्तनतर्फ अग्रसरता भने पक्कै पनि हुन्छ । दुई दसकपछि स्थानीय चुनाव हुन लागेको हो । लामो समयदेखिको जनप्रतिनिधिविहीनताले अस्तव्यस्त स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाउने हो । जसले स्थानीय तहको विकासीय गतिविधिलाई गतिशीलता दिनुका साथै सेवासुविधालाई प्रभावकारी बनाउने छन् भनी सबैको अपेक्षा छ । निर्वाचित जनप्रतिनिधिहरुको सकारात्मक अग्रसरताले स्थानीय तहको सेवा सुविधालाई प्रभावकारी बनाउनुका साथै स्थानीय तहमा देखिएको भ्रष्टाचार, अनियमितता, अपारदर्शी खर्च लगायतका लागि नियन्त्रण गर्न सकिन्छ । सेवा सुविधालाई सर्वसुलभ र पारदर्शी बनाउन सकिन्छ ।

राजनीतिक तिक्तता र रिक्तता दुवैको अन्त्य हुन्छ
सुमनकुमार मिश्र

अधिवक्ता
पछिल्लो लामो समयदेखि स्थानीय तहमा चुनाव नहुँदा स्थानीय स्तरमा नेतृत्वका लागि देखिएको राजनीतिक रिक्तता यस चुनावले अन्त्य हुन्छ । स्थानीय तह सञ्चालन गर्न स्थायी नेतृत्व आइसकेपछि विभिन्न विकासका गतिविधिले उपभोक्ता समितिसम्म बनाउन दलका स्थानीय नेता कार्यकर्ताहरुबीच देखिएको तिक्तताको समेत अन्त्य हुन्छजस्तो लाग्छ । अर्को कुरा चुनावपछि स्थानीय तहको विकासमा निकै सकारात्मक राजनीतिक परिवर्तन आउँछन् भन्नेतर्फ हामी आशावादी छौँ । यद्यपि राष्ट्रिय स्तरमा ठूला राजनीतिक दलहरुबीच देखिएको आपसी मनमुटाव र राजनैतिक द्वन्द्व समाधान नभएसम्म मधेस र मुलुकले स्थायित्व पाउने छैन ।

मधेशवादीले लचकता देखाए, अब ठूला दलहरुको पालो
संजीव उपाध्याय

राजविराज नगरपालिका–७
यो चुनावको सबभन्दा सकारात्मक पक्ष के हो भने आन्दोलनरत राजपा सहितका मधेसवादी दलहरु आफ्नो अडानभन्दा पछि हटेर लचकता देखाउँदै चुनावमा सहभागी भएका हुन् । मुलुकको वर्तमान राजनीतिक द्वन्द्व समाधानका लागि यस अवसरलाई सदुपयोग गर्न सकिन्छ । जसरी मधेसवादीहरुले आफ्नो अडान छाड्दै चुनावमा सहभागी भए, राजनीतिक लचकता देखाए अब मधेसवादीका मुद्दा समाधानका लागि कांग्रेस, एमाले, माओवादी सहितका ठूला दलहरुले पनि लचकता देखाउन सक्नुपर्छ । चुनावपछि मधेससहित समग्र देशकै स्थानीय तहहरुको विकासमा सकारात्मक परिवर्तन देख्न सकिन्छ यद्यपि जति ठूल्ठूला कुराहरु गरिँदैछ । त्यस्ता आशा र अपेक्षा एक्कैचोटि स्थानीय चुनावले पूरा गर्न सक्ला भन्न सकिन्न ।

मधेसमा समृद्धि र विकास आउँछ
विद्यानन्द राम

दुई दसकदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहले स्थायी नेतृत्व पाएपछि यसले स्थानीय तहको विकासमा ठूलो परिवर्तन ल्याउने अपेक्षा छ । स्थानीय तहमा देखिएका अनियमितता र भ्रष्टाचारजस्ता समस्याहरु न्यूनीकरण हुन्छ । मधेसका स्थानीय तहहरुमा विकास हुँदै गर्दा मधेसमा विस्तारै समृद्धि बढ्नेछ । जसले तराई मधेसको राजनीतिक अजेन्डालाई पनि बल पु¥याउँछ । यद्यपि स्थानीय तह निर्वाचनले मात्रै तराई मधेसका सबै समस्या समाधान हुने हैनन् । मुलुकमा देखिएको राजनीतिक तिक्तताको अन्त्य, संविधान संशोधन लगायतका कार्यहरु नभएसम्म मधेस र समग्र मुलुकमा स्थायित्व आउन सक्दैन ।

रक्षा चौधरी
युवा पत्रकार
मधेसको विकासका लागि यो चुनाव निकै आवश्यक थियो । चुनावपछि यहाँको विकासमा निकै ठूलो परिवर्तन आउने अपेक्षा लिएको छु । मधेसका जिल्लाहरुमा स्थानीय स्तरमा जुन राजनीतिक खिचातानी अन्त्यका लागि पनि यो चुनाव निकै सहायकसिद्ध हुनेछ भन्न सकिन्छ । यद्यपि मधेसका जुन राष्ट्रिय मुद्दा, पहिचान लगायतका राजनीतिक समस्याहरु समाधानतर्फ प्रमुख दलले अग्रसरता र लचकता नदेखाएसम्म मधेसमा स्थायी स्थिरता आउने हैन । भौतिक तथा मानवीय विकास, बाढी डुबानको समस्या, राजनीतिक द्वन्द्व लगायतका समस्याले ग्रसित तराई मधेसका लागि यो चुनावले एउटा मार्गचित्र प्रदान गरे पनि यसको पूर्णता भने मधेसका मुद्दाहरुलाई राज्यले कसरी सम्बोधन गर्ने हो, त्यसमाथि नै निर्भर गर्छ ।

Leave A Comment