कर्म नै भाग्य हो

शनिबार, ३१ भदौ २०७४, ०१ : ३९ शुक्रवार , Kathmandu
कर्म नै भाग्य हो

व्यवसाय सुरु गर्ने मनोकांक्षी लिएर झापाबाट राजधानी आएका सञ्जय रौनियारको काठमाडौं स्थापित भैसकेका छन् । सानो लगानीबाट व्यापार सुरु गरेका रौनियारले काठमाडौँमा व्यावसायिक यात्राले उचाइ लिँदैछ । साझेदारीमा सानो लगानीमा व्यवसाय सुरु गरेका रौनियारले करोडौं लगानीमा फेसन सेन्टरका दुई वटा आउटलेट सञ्चालन गरेका छन् । नयाँ–नयाँ डिजाइनमा साडी, लेहेँगा लगायतका कपडा तयार गरेर विदेशसमेत निर्यात गर्दै आएका फेसन सेन्टरका प्रबन्ध निर्देशक रौनियारसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँले के सेवा दिनुहुन्छ ?
बजारमा उपभोक्ताको रुचिअनुसार विभिन्न प्रकारका साडी, लेहेँगा, कुर्ता सलवार लगायत नेपाली पोशाक उपलब्ध गराउँछौँ । नयाँ–नयाँ डिजाइनमा तयार गरेर बिक्री गर्दै आएका छौं । नेपाली कपडालाई परिमार्जन गरेर ग्राहकलाई सन्तुष्टि प्रदान गरेका छौँ । हरेक व्यक्तिले फरक डिजाइनका कपडा लगाउन चाहने भएकाले उनीहरुको मागलाई परिपूर्ति गरेका छौँ ।
कस्ता डिजाइनलाई प्राथमिकता दिनु भएको छ ?
डिजाइन उपभोक्ताको रुचिअनुसार हुन्छ । साडी लगाउने प्रचलन बढ्दै गएको छ । स्वदेशी मात्र नभएर विदेशीले पनि लगाउन थालेका छन् । सबैजना व्यस्त छन् । चाहेको बेलामा आवश्यक हुने भएकाले रेडिमेट उपलब्ध गराउँछौँ । प्लेन साडी आउँछ । त्यसमा रि–डिजाइन गर्ने काम गर्छौं । नयाँ अवधारणा दिएर नयाँ स्वरुप तयार गर्छौं । रोजी–रोजी प्रयोग गर्न पाउने गरी तयार गरेकाले सबैले मन पराएका छन् । अहिले महिलाका लागि प्राथमिकता दिएका छौं । अब पुरुषको लागि पनि बनाउने योजना छ । अर्डर अनुसार पनि तयार हुन्छ ।
कहिलेदेखि यो व्यवसायमा आबद्ध हुनुहुन्छ ?
कपडा व्यापार हाम्रो पुस्तैनी पेसा हो । झापामा बुबाआमाले गरेको पसलबाट व्यवसाय सिकेको हुँ । आफैँले काठमाडौँ आएपछि फरक गर्नुपर्छ भनेर नयाँ सृजनात्मक डिजाइनमा प्रयोगकर्तालाई सेवा दिन करिब डेढ दसकअघिदेखि यो व्यवसायमा सक्रिय छु ।
फेसन सेन्टरले तयार गरेका कपडा किन प्रयोग गर्ने ?
सबै प्रयोगकर्ता खुसी भएर आउँछन् । म आफैँले भन्नुभन्दा पनि प्रयोगकर्ताले अनुभव गरेका छन् । त्यसैले हामीले तयार गरेका कपडा खोज्दै आउँछन् । किनभने उपभोक्ताको चाहनालाई ध्यान दिए नयाँ डिजाइन, गुणस्तरीय कपडा उचित मूल्यमा दिने भएकाले सबैको रोजाइनमा परेका हौँ ।
बजार कस्तो छ ?
बजार विस्तार हुँदै गएको छ । माग र बिक्री बढिरहेको छ । प्रतिस्पर्धा पनि छ । एउटाले लगाएको लुगा अर्कोले नलगाओस् भन्ने चाहना हुन्छ । त्यसका लागि थरीथरीका डिजाइन दिन सक्नुप¥यो । उपभोक्ताको रुचि अनुसारका सामान उपलब्ध गराएकाले बजारमा राम्रो हिस्सा जमाउन सफल भएका छौँ । स्थानीय बजारसहित अमेरिका, अस्टेलिया, क्यानडा लगायतका मुलुकमा पनि निर्यात गरिरहेका छौं ।
कसरी यो अवधारणा आयो ?
मलाई केही नयाँ गरौँ भन्ने पहिलेदेखि नै सोच थियो । हरेक व्यक्ति स्मार्ट र ब्युटी बन्न चाहन्छ । त्यसका लागि नयाँ नयाँ डिजाइनका कपडा चाहिन्छ । यसको बजार राम्रो छ भन्ने लागेर आफैँ डिजाइन गर्न थालेँ । त्यसलाई प्रयोगकर्ताले मन पराए ।
यहाँले तयार गरेका कपडा कहाँ खपत हुन्छ ?
स्वदेशी बजारसहित अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा बिक्री गर्छु ।
व्यवसाय सञ्चालन मुख्य समस्या के छन् ?
समयमा भुक्तानी हुँदैन । त्यही नै हाम्रो लागि ठूलो समस्या हो । अस्थिर बजार छ । सामान आयात गर्न झन्झट छ ।
व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ?
केही नयाँ काम गरौँ भनेर आएको हुँ । सफलतातर्फ उन्मुख भएको आफैँलाई लागि रहेको छ । हुन त सन्तुष्टि भन्ने आफैँले अनुभव गर्ने विषय हो । सँगैका साथी डाक्टर, इन्जिनियर भए पनि म मेरो व्यवसायबाट सन्तुष्ट छु । अहिले २५ जनालाई रोजगारी पनि दिएको छु ।
व्यवसाय गर्दा के कुरामा ध्यान दिनुपर्छ ?    
बजारको अनुसन्धान गर्नुपर्छ । आफ्नो मिहिनेत र लगानी । उपभोक्ताको चाहनालाई ध्यान दिएर अघि बढ्नु पर्छ । प्रयोगकर्ताले खोजेको कुरा दिनसक्नु पर्छ । सधैँ नयाँ क्रिएसन हुनुपर्छ ।
सफलताका लागि के चाहिन्छ ?
तन, मन, धन हुनुप¥यो । आफ्नो कर्म नै भाग्य हो भन्ने ठान्नुपर्छ । धेरैले भाग्य हुनुपर्छ भन्छन् । आफू मेहेनत नगर्ने अनि भाग्यले साथ दिएन भन्नु बेकार छ ।

 

Leave A Comment