निर्वाचनले ल्याएको माहोल

शनिबार, ३१ भदौ २०७४, ०१ : ३३ शुक्रवार , Kathmandu
निर्वाचनले ल्याएको माहोल

प्रदेश नं २ यतिखेर स्थानीय तह निर्वाचनमा होमिएको छ । सहर, गाउँ, देहात सर्वत्र चुनावी माहौल रंगिएको छ मधेस । तेस्रो चरणमा सम्पन्न हुन लागेको निर्वाचनको पृष्ठमूमिमा मधेस आन्दोलनका घाउँहरू छन्, संविधान जारी भएपछिको नाकाबन्दी राजनीति, कूटनीतिका विम्वहरु छन् र असफल संविधान संशोधनको पेचिलो राजनीति छ । प्रदेश नं २ मा हुन लागेको यो चुनाव तेस्रो चरणको स्थानीय तह निर्वाचन हो । लामो समयदेखि आन्दोलनमा होमिएको, संविधानप्रति विरोधी स्वर घनिभूत गरेको मधेसमा चुनाव हुनुले महŒवपूर्ण अर्थ राख्छ । प्रदेश नं २ को निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको सम्पूर्ण निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तह भनेको स्थानीय सत्ता हो, नागरिकको नजिकको सरकार हो । यो निर्वाचनपछि जनताले आफ्नो घरदैलामा जनप्रतिनिधि प्राप्त गर्नेछन् । अहिलेसम्म कर्मचारीको तजबिजमा चलेको स्थानीय सत्तामा अब जनताका मान्छे आउने छन् । स्थानीय तह हाम्रो संविधानमा व्यवस्थित राजनीतिक प्रणालीको आधारशीला हो । यो आधारशीला जति बलियो र प्रभावकारी बन्छ, त्यत्तिकै लोकतान्त्रिक गणतन्त्रले स्थायित्व पाउने सम्भावना हुन्छ ।
समग्र चुनावी परिणाम कस्तो होला ? सप्तरीदेखि पर्सासम्मका तराई/मधेसका ८ जिल्लामा हुन् लागेको यो निर्वाचनमा राष्ट्रिय जनता पार्टी जो मधेसवादी पार्टीहरू आपसमा एकीकरण भएर बनेको पार्टी हो । उसले कस्तो हैसियत प्राप्त गर्ने हो ? सत्ताधारी कांग्रेस, माओवादी केन्द्रको वर्चस्व कस्तो रहने हो, मधेसी मैदानमा तीव्र आलोचना खेपिरहेको एमालेको हैसियत के हुने हो ? यस्ता कैयन प्रश्नहरूका उत्तर आगामी सातादेखि प्राप्त हुन थाल्नेछन् । चुनाव भनेको राजनीतिक पार्टी, व्यक्तिहरूप्रति जनताको विश्वास हो । लोकतन्त्रमा जनताको मतको उच्च महत्व हुन्छ । जनताले मतमार्फत आफ्नो मन दिन्छन् । जनताको मनको समग्र रूप राजनीतिक दलको हैसियत हो । खासमा अहिले मधेसी मैदानमा राजनीतिक दल हैसियत प्राप्तिको युद्धमा भिडिरहेका छन् ।
लोकतन्त्रमा जनताको मन जित्न राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारका योजना हुनुपर्छ, स्थानीय तहबारे आफ्ना स्पष्ट धारणा हुनुपर्छ । स्थानीय तहको घोषणाहरू हुनुपर्छ र जनताको नजरमा राम्रो काम गर्नसक्ने छवि आर्जन गरेको हुनुपर्छ । यी भए लोकतन्त्रका सैद्धान्तिक पक्ष । व्यवहारमा हामीकहाँ कस्तो राजनीतिक संस्कार बसालिएको  छ र जनताको अभिमत प्राप्त गर्न कस्ता–कस्ता हथकण्डा प्रयोग गरिन्छ ? त्यसको विवेचना आवश्यक छ । कारण आसन्न २ नम्बर प्रदेशमा मात्र होइन, यसअघि सम्पन्न भएका प्रत्येक चुनावमा अधिक बल प्रयोग गरिएका छन् । भन्ने गरिन्छ हामीकहाँ ‘मनि, मसल र माफिया’ को प्रयोग गरिन्छ जनताको मत लिनका लागि । पैसा, पावर प्रयोग गरेर, दबाब र प्रभावको भरमा जनताको विश्वास लिने उद्यम अहिले मधेसका जिल्लाहरू निरन्तरता पाउँदै छ । शुक्रबारले तराईको सिरहा र पर्साबाट प्राप्त गरेका जानकारीहरूलाई आधार मान्दा मधेसको चुनावमा बल प्रयोग, हिंसाको प्रयोग भयावह छ । सिरहामा जनतालाई भयभित बनाएर उनीहरूको मत तान्ने प्रपञ्चहरू हुन थालेका छन् । उता पर्सामा बलबाहु प्रयोग गरेर ठेक्कापट्टामा प्रयोग हुने स्थानीय ‘लइका’हरूको प्रयोग बढ्दो छ । नेपाली समाज राजनीतिक हिसाबले विभाजित छ, यस अर्थमा प्रत्येक राजनीतिक दलमा सबै खाले मानिस आबद्ध छन् । त्यहाँ भद्र पनि छन्, विद्वान पनि छन् र गुण्डा नाइकेहरू पनि छन् । चुनावमा भाग लिन पाउनु सबैखाले मानिसको अधिकार हो तर बल प्रयोग गरेर अरुको मत प्रभावित पार्ने काम भने राजनीति होइन । जे हुनु नपर्ने, त्यही दोहोरिइरहेको छ नेपालको राजनीतिमा । मधेसवादी राजनीतिक आन्दोलनहरूका कारण लामो समयसम्म राजनीतिक सामाजिक तरलताबाट गुज्रिएको मधेसमा आपराधिक क्रियाकलाप र हिंसा पनि मुलुकका अन्य क्षेत्रमा भन्दा अधिक रहेको सुरक्षाविज्ञहरू बताउँछन् । त्यसबाहेक छिमेकी भारतका विहारसँग खुला सिमानाले छुट्एिको नेपाली समाजमा पारिका विकृति सहजै आयात भैरहेको हामी पाउँछौँ । मधेसको चुनावमा साना हतियार खतरा छ र गुण्डाहरूको प्रयोगले प्रोत्साहन पाएको सुनिदैछ । राजनीति गर्नेहरू चुनावमा प्रयोजनका निम्ति गुण्डाहरू भाडामा लिएर परिचालन गर्ने गरेको पनि पाइन्छ । जसबाट धेरै पैसा पायो, त्यसकै झण्डा उचाल्ने त्यस्ता मौसमी कार्यकर्ताहरूको प्रयोग राजनीतिक दलका निम्ति प्रत्युपादक हुनसक्छन् । कारण मौसमी कार्यकर्ताको उपयोगले जनतामा राम्रो प्रभाव पार्दैन । उता पार्टीमा लामो समयदेखि आबद्ध कार्यकर्ताहरू निरुत्साहित हुने स्थिति बन्दछ ।
चुनाव भनेको भयरहित, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । यस्तो वातावरण बनाउने काम सरकार, निर्वाचन आयोगको मात्र होइन । पार्टी वा उम्मेदवारमा चुनावलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता आवश्यक छ । राजनीति गर्नेहरूले क्षणिक लाभ लिन जस्तोसुकै हतकण्डा प्रयोग गर्ने भन्दा जनताको विश्वास जित्ने योजना तथा कार्यक्रम जनसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ । यस्तो राजनीति मात्र  दिगो बन्छ । 

Leave A Comment