किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

बिहिबार, २९ भदौ २०७४, ११ : ५५ शुक्रवार , Kathmandu
किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
सोमबार नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि गर्ने पल्सर स्पोटर्स अवार्डमा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणले ब्याड्मिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथ्लेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठलाई पछि पार्दै पुरस्कार जिते । व्यावसायिक फुटबलका लागि माल्दिभ्समा रहेकाले किरण सोमबार अवार्ड कार्यक्रममा उपस्थित थिएनन् । उनको अवार्ड उनकी आमाले लिएकी थिइन् ।
महिलातर्फ रत्नजितकी दिदी नङ्सलले आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी कान्छीमाया कोजु, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सकी सरस्वती भट्टराईलाई पछि पारिन् ।
अवार्ड जितेपछि नङ्सलले उपलब्धि प्रशिक्षक र परिवारलाई समर्पण गरिन् ।
वर्ष २०७३ को प्रदर्शनका आधारमा विभिन्न ९ विधामा उत्कृष्टलाई पुरस्कृत गरिएको अवार्डको युवा विधामा जुडोकी मनिता श्रेष्ठ प्रधानले बाजी मार्दा प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा विजयी भए ।
‘निरन्तर मिहिनेत गर्दै अघि बढे अवश्य सफलता हात पर्छ भन्ने पुष्टि भएको छ । मेरो कामको उचित कदर भएको छ । खेलाडीले सफलता हात नपारेको भए म यो अवार्डको हकदार हुने थिइनँ । त्यसैले खेलाडीलाई धन्यवाद दिन चाहन्छु,’ उत्कृष्ट प्रशिक्षक घोषित भएपछि ओझाले भने ।
यसै गरी खेलप्रेमीको एसएमएस तथा फेसबुक लाइकका आधारमा निर्णय गरिने पिपुल्स च्वाइस विधामा अवार्ड जित्दै कान्छीमायाले महिला विधाको निराशा मेटाइन् । कुल ९५ हजार ७ सय ५० एसएमसमा कान्छीमायाले ६६ हजार ८ सय मत प्राप्त गरिन् ।
 यसै गरी गल्फका घनश्याम थापाले लाइफटाइम एचिभमेन्ट अवार्ड पाउँदा आमा–बाबु जेलमा भएका बालबालिकाहरूको सहयोगका लागि स्थापित बन्दी सहायता नियोग (पाम) ले विशेष पुरस्कार पायो भने क्रिकेटका पदम बडेला पारा एथलिट अफ दी इयरबाट सम्मानित भए । यसै वर्ष राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको पुरुष टोली टिम अफ दी इयर घोषित भई सम्मानको हकदार बन्यो ।
मञ्चले उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधामा पाँच/पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरेको थियो । त्यसमध्ये पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउँदा वर्ष टोलीबाहेक अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

पल्सर स्पोर्ट्स अवार्ड २०७३
उत्कृष्ट पुरुष :किरणकुमार लिम्बु
उत्कृष्ट महिला : नङ्सल तामाङ
उत्कृष्ट प्रशिक्षक :पुष्पराज ओझा
पिपुल्स च्वाइस : कान्छीमाया कोजु
उत्कृष्ट युवा : मनिता श्रेष्ठ प्रधान
लाइफ टाइम अभिचमेन्ट : घनश्याम थापा
विशेष : बन्दी सहायता नियोग (पाम)
उत्कृष्ट पारा एथलेट :पदम बडेला
उत्कृष्ट टोली : भलिबल

 

Leave A Comment