अफ्रिका फिल्म फेस्टिबलमा १४ देशका ९ फिल्म

बिहिबार, २९ भदौ २०७४, ११ : ४४ शुक्रवार
अफ्रिका फिल्म फेस्टिबलमा १४ देशका ९ फिल्म

आगामी असोज २ गतेबाट राजधानीमा आयोजना हुन लागेको तीन दिने ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’को सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल र अफ्रिकाबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने सेतूका रुपमा आयोजना गर्न लागिएको फेस्टिबलको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् ।
आयोजक कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनकी प्रिन्सिपल एवं फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले फेस्टिबलमा सहभागिता जनाउन अफ्रिकी महाद्विप र युरोपबाट विभिन्न १५ जना फिल्मकर्मी आउन लागेको जानकारी दिइन् । ‘फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको छ । फेस्टिबलमा १४ देशका ९ फिल्म छानिएका छन्,’उनले भनिन्, ‘अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ भनेर हामीले ६ वर्ष अघिबाट यो फेस्टिबल सुरु  गरेका हौं ।’ जन्जिबार फिल्म फेस्टिबलसँगको सहकार्यमा हुँदै आएको यो फेस्टिबलले नेपाल र अफ्रिकी मुलुकको सम्बन्ध अब सरकारी क्षेत्रबाट पनि विस्तार हुनुपर्नेमा मिश्रले जोड दिइन् ।
फेस्टिबलमा इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल–तान्जानिया–भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’, युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, संयुक्त राज्य अमेरिका–चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशित ‘सिलिकोन भ्याली’, मोरोक्को–फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र ‘सेनेगलको ‘ह्वेनास’, युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ प्रदर्शन गरिनेछ । फेस्टिबलमा नेपालबाट रोशनी केसी निर्मित फिल्म ‘डा...खाते’ देखाइनेछ ।
फेस्टिबल संयोजक आलोक तिवारीले फेस्टिबलका लागि प्राप्त ६० भन्दा बढी फिल्मबाट ९ फिल्म चयन भएको बताए । फिल्म छनौंट समितिका निर्णायक डब्बु क्षत्रीले फेस्टिबल युवाहरुलाई लक्षित गरिएको जनाउँदै फेस्टिबलका लागि मुलधार भन्दा फरक र कलात्मक फिल्म यस पटक चयन गरिएको जानकारी गराए ।

 

Leave A Comment