गुरु दक्षिणाः घरबाट रेडियो नेपाल ल्याउने–लैजाने

मङ्गलबार, २७ भदौ २०७४, ०२ : १५ शुक्रवार
गुरु दक्षिणाः घरबाट रेडियो नेपाल ल्याउने–लैजाने

सुरज खड्का
श्याम नेपाली नेपालका लोकप्रिय सारंगीवादकका रुपमा चिनिन्छन् । उनको सारंगीवादनमा नझुम्ने कमै होलान् । उनको सारंगीवादनको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत निकै हुने गर्छ । सारंगीको मीठो धुन सुनाउन उनी विश्वका धेरै देश पुगिसकेका छन् । सारंगीवादनमा मात्रै होइन, धेरै भाषामा धाराप्रवाह रुपमा बोल्नसमेत पोख्त छन् । नेपालीबाहेक नेवारी, अंग्रेजी, हिन्दी, इटालियन, जापानी, फ्रेञ्च लगायतका भाषा उनी राम्रैसँग बोल्न सक्छन् ।
प्रेमध्वज प्रधानको सुमधुर स्वरमा गुञ्जिएका गीतहरुमा जति मिठास छ, त्यसविपरीत उनले सांगीतिक यात्रा सुरु गर्दा भने त्यति सहज थिएन । सम्पन्न पारिवारिक पृष्ठभूमि भए पनि आमा र बाबु छुट्टिएर बसेका कारण आमासँग बसेका प्रेमध्वजलाई आर्थिक अभाव धेरै थियो । त्यसैले उनले उस्ताद गणेशलालसँग संगीत सिक्दा शुल्क बुझाउन सकेनन् । त्यसको बदलामा उनले १६ महिनासम्म आँखा नदेख्ने आफ्ना गुरु उस्ताद गणेशलाललाई उनको घरबाट रेडियो नेपाल ल्याउने र पु¥याउने काम गरेका थिए ।
चलचित्र ‘माइतीघर’का नायक तथा गायक सिपी लोहनी महिला र पुरुष दुवैको स्वरमा गीत गाउन खप्पिस थिए । कतिपय कार्यक्रममा गायिकाको अभाव हुँदा उनी आफैँ गायिकाको स्वरमा समेत गाइदिने गर्थे ।  २०२२ सालमा उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा महिला र पुरुषको स्वरमा एक्लैले गीत गाएर राजा महेन्द्रको हातबाट स्वर्ण पदक नै हात पारेका थिए । ‘काला कुर्तैले’ लोहनीको चर्चित गीत हो ।
पहिलो श्रीमती गौरीको निधन भएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले दोस्रो विवाह गरे । दोस्रो विवाहको २० औँ वर्ष पुगेको रात कान्छी पत्नी महाकालीले आफ्नै देहान्त भएको सपना देखिन् । भोलिपल्ट बिहान कविवर घिमिरेलाई पत्नी महाकालीले मृत्युसपना बताएपछि घिमिरे निकै चिन्तित भए । त्यस रात श्रीमतीको सपनाको अनुभवलाई शब्दमा उतार्दै उनले ‘आजै र राति के देखेँ सपना, मै मरी गएको’ लेखे । यस गीतलाई पछि नारायण गोपालले संगीत र स्वर दिएका थिए । यो गीत नेपाली गीतमध्येको कालजयी गीत मानिन्छ ।   
एक दिनमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायकको कीर्तिमान राजेश पायल राईको नाममा छ । एक दसकअघि उनले एकै दिनमा ९ गीत आफ्नो स्वरमा रेकर्ड गराउँदै यो कीर्तिमान बनाएका हुन् । कन्सर्टका लागि बिराटनगर पुगेका राजेशपायलले काठमाडौँ फर्कन हतार भएपछि जसरी पनि आफ्नालागि तयार पारिएका गीत गाएर सकाउनै पर्ने बाध्यतामा एकै दिनमा ९ गीत गाएका थिए । हतार–हतारमा गरिएको राजेश पायलको यही क्रियाकलाप नेपाली संगीत क्षेत्रमा कीर्तिमान बन्न पुग्यो । विराटनगरमा रेकर्ड गरिएका ती अधिकांश गीत उनले ‘जदौ २’ गीतिसंग्रहमा समावेश गरेका थिए ।

मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी कसरी बन्यो धेरैलाई थाहा नहुन सक्छ ! २०३६ सालमा राष्ट्र बैंकमा गाईजात्रा कार्यक्रममा छुट्टाछुट्टै प्रस्तुति दिन पुगेका मदनकृष्ण र हरिवंशले समय अभाव भएपछि मिलेर कार्यक्रम गर्नुपरेको थियो । कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, बिपी कोइराला, मनमोहन अधिकारी लगायतका विशिष्ट अतिथि उपस्थित थिए । समय बचाउन मिलेर गरेको उनीहरुको प्रस्तुतिले निकै चर्चा पायो । बिपी कोइरालाले कार्यक्रम सकिएपछि गरेको प्रशंसा महले अहिले पनि भुलेका छैनन् । अपर्झट गरिएको संयुक्त प्रस्तुतिपश्चात् दुवैको जोडी बाँधिन पुग्यो । जोडी बाँधिएपछि उनीहरुले एकसे एक प्रस्तुति, गीत र टेलिश्रृंखलाहरु दर्शकसामु ल्याए ।

Leave A Comment