असार मसान्त

आइतबार, २६ असार २०७३, १२ : ०७ ईश्वर दाहाल , Kathmandu
असार मसान्त

‘रिसर्चको काम आको छ, गर्ने हो ?’ मित्रले फोनमा सोधे ।
‘कस्तो रिसर्च हो ?’
‘फलानु जिल्लाको, पाँचवटा गाविसमा पुगेर, त्यहाँका अल्पसंख्यक र सीमान्तकृतहरूको डाटासँगसँगै आर्थिक, सामाजिक र सांस्कृतिक वस्तुस्थितिबारे अध्ययन गर्ने हो ।’ मित्रले विवरण बताए ।
‘हुन्छ, गरौँला । अनि, पारिश्रमिक चाहिँ के कस्तो छ नि ?’
‘चिन्तै नलिनुस् । तपाईंले सोचेभन्दा राम्रो छ ।’ मित्रले खितखिताएर हाँस्दै भने, ‘रिसर्च चाहिँ १० दिनमा सक्नुपर्छ नि ।’
‘त्यति छिटो कहाँ रिसर्च हुन्छ ? त्यो पनि विकट गाउँमा ।’ मैले भनेँ ।
‘असार मसान्त आउन लाग्यो भन्ने तपार्इंलाई थाहा छैन,’ उनले भने, ‘एकजना काका पर्ने मन्त्रालयमा थिए । काकाको शाखामा बजेट बाँकी भएछ । अल्पसंख्यक र सीमान्तकृतहरूलाई छुट्याएको बजेट फ्रिज गर्नु महापाप हुन्थ्यो । त्यसैले काकाले १५ दिनमा सबै काम सक्ने गरी मेरो कम्पनीलाई जिम्मा दिनुभयो । अब त कुरा बुझ्नुभयो ।’
मेरो दिमागी पांग्रो घुम्दै घुमेन । पछि फोन गर्छु भनेँ ।
महिनौँ लगाएर तुर्न सकिने काम १० दिनमा सक्नुपर्ने जोखिम छ । अर्काेतर्फ राम्रै अर्थोपार्जनको सुगम अवस्था छ । पल्ला दुइटै भारी छन् । म तराजु बनेर ढलपल गरिरहेँ । निकै बेर सोचेपछि ब्रह्मचेत आए जस्तो भयो । हालसालका दुईतीन स्मृति मस्तिष्कको दैलोमा झुल्किए । पल्लो घरमा बस्ने भाइ कम्प्युटर सप्लायर्स र मेन्टिनेन्सको काम गथ्र्याे । उसको दौडधूप उल्कै थियो । ‘के गर्ने दाइ, असार मसान्त आउन लागेको छ । पानी खाने फुर्सद समेत छैन,’ ऊ भन्थ्यो । असारे चटारो त किसानलाई हुनुपर्ने हो । कम्प्युटरबाजलाई केको असार नि ? ‘असार लागेपछि सम्पूर्ण सरकारी कार्यलयका कम्प्युटर बिग्रन्छन्,’ उसले रहस्य खोल्यो, ‘कतिपय कार्यालयमा त नयाँ कम्प्युटर नै किन्नुपर्ने हुन्छ । अधिकांशमा मेन्टिनेन्स गर्नैपर्ने हुन्छ ।’ कम्प्युटर असारमै किन बिग्रिँदो रहेछ ? ‘कम्प्युटर बिग्रने भनेको असारमै त हो नि,’ उसले ङिच्च हाँसेर भन्यो, ‘असार लागेपछि बाटो बिग्रिएर बनाउनुपर्छ । ढल थुनिएर खोल्नुपर्छ । अनि, कम्प्युटर बिग्रिएको चाहिँ बनाउनुपर्दैन त ?’ भाइका कुरा मैले बुझेँ ।
छिमेकी काकासँग प्रायः हरेक बिहान चियापसलमा भेट हुन्थ्यो । जिल्ला विकासका सुब्बा काका एक डेढ हप्तादेखि चिया पसलबाट हराएका थिए । एक साँझ अकस्मात् उनीसँग भेट भयो । ‘काका कता लापता ?’ मैले सोधेँ । ‘के गर्नु बाबु असार मसान्त लाग्यो,’ काकाले गाँठो फुकाए, ‘बिहान सात बजेदेखि साँझ सात बजेसम्म अफिसमा काम गर्नुपर्छ ।’ काकालाई अरू महिना १२ बजे पनि अफिसको कुर्सीमा भेट्न मुस्किल पथ्र्याे ।
आखिर सबैलाई असार मसान्त लागेको छ । वर्षाैं नसकिएका काम एक डेढ हप्तामा सक्न सबै दत्तचित्त भएर लागेका छन् भने मैले चाहिँ १० दिनमा कसो रिसर्च नसकौँला त ? मित्रलाई फोन गरेँ, ‘म रिसर्चमा जान तयार छु ।’
डेढ दिनको बस यात्रा र एक बिहानको पैदाल यात्रापछि रिसर्च भूमिमा पुगियो । गाउँ छिरेपछिकोे नजारा बडो भव्य थियो । विकास निर्माणका कामले गाउँमा भ्याइ–नभ्याइ थियो । असार मसान्तले मलाई गाउँ पु¥याएको थियो भने गाउँलाई पनि असार मसान्तले बेफुर्सदी बनाएको थियो । विशेष गरी हरेक गाविसमा सडक निर्माणको काम तीव्र देखिन्थ्यो । वडावडामा डोजरहरू काम गरिरहेका देखिन्थे । दृश्य देख्दा यस्तो लाग्थ्यो, हाम्रो देशले पनि मलेसिया र सिंगापुर बन्न धेरै समय कुर्नुपर्दैन । राजनीतिक दलका नेता र कार्यकर्ता विकास निर्माणमा व्यस्त थिए भने गाविसका कर्मचारीहरू हिसाबकिताबमा बेफुर्सद थिए । मेरो रिसर्च पनि गाउँ टोलमा पुगेर पूर्ण हुँदैनथ्यो । तिनै गाविसका कर्मचारी र डोजरको पछिपछि कुदिरहेको नेता कार्यकर्तालाई भेटेर रिसर्चले परिपाक पाउँथ्यो ।
एकजना गाविस स्तरीय नेता डोजरचालकलाई सडक निर्माणको खाका बुझाउँदै थिए । भन्दै थिए ‘यो कुइनेटाबाट उ त्याँ पु¥याउने । अनि ठूलाघरेको बारीको पाटाबाट उकालो लाउने ।’ डोजर चालक पनि नेताको सुझावअनुसार बाटो खनिरहेको थियो । ‘बाटो खन्न त इन्जिनियरले नक्शा बनाउनुपर्ने होइन र ?’ मैले रिसर्चभन्दा बाहिरको विषय नेतालाई सोधेँ । ‘हामी आफैँ इन्जिनियर । हामी भइसकेपछि केलाई इन्जिनियर चाहियो,’ नेताले जवाफ दिए । नेताका कुराले मेरो मन् झन् गद्गद् भयो । यसरी टालेटोलमा इन्जिनियर भएपछि विकास निर्माणलाई चाहिने जनशक्तिको अभाव नहुने भयो । म जताजता पुगेँ, असारे इन्जिनियर र ओभरसियरहरूलाई भेटेँ । उनीहरूकै सोच र चाहनाअनुसार बाटो खनिँदै थियो ।
चार दिनको रिसर्च घुमघामपछि मित्रले फोन गरेर राजधानी फर्किन उर्दी जारी ग¥यो । ‘जे जति ग¥यौ, ग¥यौ । अरू ढिलो गर्दा रिपोर्ट बुझाउन भ्याइँदैन । गाउँगाउँका फोटो त खिचेका छौ होला, लिएर आऊ,’ मित्रै असारे हतारोमा थियो ।
म केही बोलिनँ । उसको आज्ञाअनुसार राजधानी फर्कने तयारीमा लागेँ ।

Leave A Comment