सुन्ने होइन, हेर्ने गीत

सोमबार, २६ भदौ २०७४, ०९ : ३२ मनोज घर्तीमगर
सुन्ने होइन, हेर्ने गीत

अहिले गीतभन्दा धेरै म्युजिक भिडियो चल्छ । गीत सुन्नेमात्रै भन्दा पनि हेर्दै सुनेर रमाउने र मज्जा लिनेहरु बढेका छन् । त्यसैले अहिले जस्तोसुकै गीतको पनि म्युजिक भिडियो बनाउने चलन बढेको छ । गीत चल्ने वा नचल्ने भनेर निक्र्योल गर्न म्युजिक भिडियोको महत्वपूर्ण भूमिका छ । अहिले गायकगायिका दर्शक–स्रोतालाई बाँध्न गीतसँगै म्युजिक भिडियो पनि राम्रो बनाउनुपर्ने बाध्यतामा छन् । पोखरामा अचेल महिनामा करिब २० देखि २५ वटा म्युजिक भिडियोहरु निर्माण हुन्छन् । काठमाडौंबाट म्युजिक भिडियो छायाङ्कन गर्न आउनेलाई पनि जोड्ने हो भने यसको संख्या अझ बढी हुन्छ ।
यहा“का स्थानीय प्रोडक्सन हाउसहरुले पनि म्युजिक भिडियोहरु बनाइरहेका छन् । ‘गीत मात्रै राम्रो बनाएर मख्ख पर्ने जमाना गइसकेको छ,’ पोखराका व्यस्त म्युजिक भिडियो निर्देशक शिव भुर्तेल भन्छन्, ‘अहिले दर्शक अनि स्रोता दुवैलाई एकै पटक मनोरञ्जन दिने गीतको उत्तम उपाय नै म्युजिक भिडियो बन्न पुगेको छ ।’

कहिले गाउ“का गीत, कहिले पप रक गीत, कहिले फिल्मका गीत त कहिले लोकदोहोरीका गीत ! कहिले आधुनिक गीत अनि कहिले र्याप गीतहरुको म्युजिक भिडियो बन्ने क्रम पोखरामा बाक्लिएको छ । आखिर किन यति धेरै म्युजिक भिडियो बन्छन् पोखरामा ? ‘सुन्ने गीतको जमाना गइसकेको छ, म्युजिक भिडियो नबनाए गीत चल्दैनन्,’ लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष एवं गायक शंकर विरही गुरुङ भन्छन्, ‘मान्छेलाई सुन्ने र हेर्ने गीत चाहिएको छ । त्यसैले हरेक गीतको म्युजिक भिडियो बनाउनैपर्ने बाध्यता भएको छ ।’

हप्तैपिच्छे यहाँ नयाँ–नयाँ एल्बम रिलिज भइरहेका छन् । तीनका म्युजिक भिडियो पनि बनेकै छन् । म्युजिक भिडियो नबनाइएपछि गीतको प्रचारप्रसार कम हुने र चल्न पनि गाह्रो हुने धेरै गायक–गायिकाको अनुमान छ । सायद त्यसैले होला, पोखरामा हप्ता बिराएर म्युजिक भिडियो बन्ने गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र धराशायी हुँदै गए पनि गीत रेकर्ड गराउने र म्युजिक भिडियो बनाउनेहरुको संख्या भने बढेर गएको छ । गीत राम्रो भए पनि स्रोतामाझ पुग्न गाह्रो हुने भएकाले म्युजिक भिडियो बनाउनै पर्ने बाध्यता रहेको चर्चित गीतकार राजकुमार बगरेको स्वीकारोक्ति छ । ‘प्रविधिको विकासले स्रोता र दर्शकले एकै पटक सुन्ने अनि हेरेर गीतको मजा लिन चाहन्छन्,’ गीतकार बगर भन्छन्, ‘टिभीमा सबैको पहँुच पुगेकाले म्युजिक भिडियो नबनाइएका गीत खासै चल्दैनन् । सुन्ने र हेर्ने गीत बनाउनु स्रष्टाको बाध्यता हो ।’

पछिल्लो समय म्युजिक भिडियो नबनाएर पनि अडियो मात्रै भएका गीतहरु नचलेका पनि होइनन् तर भिडियोको तुलानामा ती गीतहरु ओझेलमै पर्छन् । टेलिभिजनहरुमा प्रमोसन गर्न फोटो मात्रै राखेर पनि काम चलाउने गायकगायिका थुप्रै छन् । तैपनि यस्ता गीत ओझेलमै पर्ने गरेको नवगायक छवि मगरको अनुभव छ । ‘मेरो पहिलो गीत कौरा सञ्जोगैले भेट भो तनहुँमा म्युजिक भिडियो बनाएको छैन । अडियो मात्रै हाल्दा देशविदेशबाट गीतको म्युजिक भिडियो किन युट्युबमा नहालेको भनेर हैरान बनाउँछन्,’ गायक छवि भन्छन्, ‘त्यो कौरा गीतको म्युजिक भिडियो बनाउने बाध्यता नै भयो । त्यसैले भर्खरै रेकर्ड भएको सालैजो गीतको अडियो र भिडियोसँगै लञ्च गर्ने सोच छ । भिडियो नबनाए गीतै हराउने दिन आइसक्यो ।’

म्युजिक भिडियो नबनाएकै कारण गीत राम्रा भए पनि टेलिभिजन च्यानलमा बज्ने र बाहिर चर्चा नभएपछि थकथकी मान्ने सर्जक थुप्रै छन् । पछिल्लो समय म्युजिक भिडियो नबनाइएका गीत दर्शकलाई सम्झनै आउन नसक्ने भइसकेका छन् । त्यसो त जताततै टेलिभिजनको पहुँच सहज भएकाले म्युजिक भिडियो बन्ने क्रम बढेको हो । यसबाहेक टेलिभिजनमा देखिएका गीतहरु एकपटक सुन्ने र हेर्नेबित्तिकै त्यसको गहिरो छाप दर्शकमा पर्ने भएकाले हरेक गीतका म्युजिक भिडियो बन्ने गरेको चर्चित म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट बताउँछन् । ‘अहिले म्युजिक भिडियो नबनाइएका गीत दर्शकको नजरमा पर्नै छाडिसके,’ महिनामा २०/२५ वटासम्म भिडियो निर्देशन गर्ने प्रकाश भन्छन्, ‘गायकगायिकाले पनि व्यापारिक फाइदा लिन सजिलो हुने भएकाले म्युजिक भिडियोलाई नै जोड दिन्छन् ।’

पोखराबाट बनेका थुप्रै म्युजिक भिडियो राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमा भने आक्कलझुक्कल मात्रै देखिन्छन् । त्यसो त यहा“कै केबुल च्यानलहरुमा ती गीत धेरै बज्दैनन् । पोखराबाटै हप्ता बिराएर बनेका म्युजिक भिडियो कहाँ जान्छन् कसैलाई पत्तो हुँदैन । बरु युट्युबमा त्यस्ता गीतहरु बढी हेरिन्छन् । राष्ट्रियस्तरका टिभीमा भिडियो बजाउन पोखराबाट काठमाडौँ नै पुग्नुपर्ने बाध्यताले पनि यहा“ बन्ने भिडियो स्थानीय च्यानलमै सीमित बन्न पुगेको पोखरेली निर्देशकको भनाइ छ । ‘म्युजिक भिडियो बन्छन् तर प्रचारप्रसार अभावमा निर्देशकदेखि कलाकारसम्म पोखरामै सीमित भइरहेका छन्,’ म्युजिक भिडियो निर्देशक गोविन्द पुनमगर भन्छन्, ‘काठमाडौंका टिभीमा बज्न सोर्सफोर्स र चिनेको मान्छे हुनुपर्छ । हाम्रा मान्छे छैनन्, बरु युट्युबमै घन्किन्छन् ।’

Leave A Comment