र्यापर निर्णय श्रेष्ठ एनपिस अवार्डमा

सोमबार, २६ भदौ २०७४, ०९ : १८ शुक्रवार , Kathmandu
र्यापर निर्णय श्रेष्ठ एनपिस अवार्डमा

कलाकारितासँगै समाजसेवालाई सधैँ आफ्नो कर्म ठान्ने निर्णय श्रेष्ठ ‘एनपीस अवार्ड–२०१६’ का लागि मनोनयनमा परेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठ भूकम्प तथा बाढीपीडितहरुलाई सहयोग गरेकाले मनोनित भएको जनाइएको छ ।
एनपिस अवार्ड सन् २०११ यता प्रदान गरिँदैआएको छ । एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तीकरणमा उच्च योगदान गरेबापत व्यक्तिलाई सो अवार्ड प्रदान गर्ने गरिएको छ । जम्मा तीन विधामा प्रदान गरिने सो अवार्डमा श्रेष्ठ भने ‘क्याम्पेनिङ फर एक्सन’ विधामा मनोनित भएका हुन् ।
श्रेष्ठ सो विधामा मनोनित हुने एक्लो नेपाली भने होइनन् । श्रेष्ठसँगै नेपालबाट मनोनित हुनेमा किसम गुरुङ, मदन मगराती, माया थापा, लाक्पा लामा, महमद सेर बगवान, सुरेश कुमार, कुमारी शाह र ज्ञान महर्जन पनि छन् ।
मनोनयनको हिसाबले एनपिस अवार्डले नेपाल, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इन्डोनेसिया र फिलिपिन्स गरी ६ वटा मुलुकलाई समेट्दै आएको छ ।  

सन् १९९९ बाट संगीत क्षेत्रमा आबद्ध श्रेष्ठ संगीत क्षेत्रका विविध अवार्डबाट सम्मानित भइसकेका छन् ।
श्रेष्ठले ‘शिक्षा नै जीवनको जग हो’ भन्ने उद्देश्यका साथ सन् २००६ बाट ‘निर्णय एनएसके टुर फर एजुकेसन’ अभियानसमेत चलाएका थिए । उनले सहरी क्षेत्रका स्कुलहरुमा शान्ति, वातावरण र एचआइभीसँग सरोकार राख्ने कार्यक्रम पनि गर्दैआएका छन् ।
 
मनोनितहरुलाई भोटिङ गर्न सकिने व्यवस्थासमेत रहेको छ । त्यसका लागि अवार्डको आधिकारिक लिङ्क पेजमा गएर भोट गर्न सकिने छ । अगस्ट १८ देखि भोटिङ खुला रहेको र आउँदो सेप्टेम्बर ३० सम्म भोटिङ खुला रहने छ ।
अवार्ड विजेताको घोषणा भने अक्टोबर २४ मा गरिनेछ । गत वर्ष अवार्ड वितरण समारोह अमेरिकाको न्युयोर्कमा भएकामा यसपटक थाइल्यान्डको बैंककमा हुने भएको छ ।

Leave A Comment