नबज्ने पियानो

सोमबार, २६ भदौ २०७४, ०९ : १४ शुक्रवार
नबज्ने पियानो

प्रकाशजंग थापा

सन् १९७५ जनवरी २४ को दिन एउटी १७ वर्षे जर्मन महिला असिनपसिन देखिन्थिन् । भेरा ब्रान्डेस नाउँ गरेकी ती युवतीले अमेरिकाका ख्यातिप्राप्त पियानोवादकको पियानो कन्सर्ट आयोजनाको जिम्मा लिएकी थिइन् । किथ जेरेटको नाउँले नै कार्यक्रम हाउसफुल भएको थियो । चौध सय बढी मानिस कन्सर्टमा उपस्थित हुनेवाला थिए । त्यो दिन भेराको जीवनकै विशेष दिन थियो । उनी जर्मनीकै सबैभन्दा कम उमेरकी कन्सर्ट प्रोमोटर थिइन् । कन्र्सटको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । भेरा ब्रान्डेश अमेरिकी ज्याज र क्लासिकल संगीतकार किथ जेरेटलाई स्वागत गर्न आतुर थिइन् ।
किथ अघिल्लो दिन मात्र स्विट्जरल्यान्डमा यस्तै पियानो कन्सर्ट गरेर जर्मनी आइपुगेका थिए । उनी अघिल्लो रातको कार्यक्रम र यात्राले थकित थिए । कन्सर्ट हुनुभन्दा केहीअघि किथ ओपेरा हाउस पुगे । लामो यात्राका कारण उनी थकित त थिए नै उनलाई ढाड दुख्ने समस्याले पनि उत्तिकै सताएको थियो । यस्तोमा उनी आराम गर्न चाहन्थे । यद्यपि कन्र्सट सुरु हुनुपूर्व पियानो परीक्षण गरौँ भन्ने चाहे । पियानो देखेपछि भने किथले दिक्क माने किनभने उनले मगाएको पियानो त्यहाँ थिएन । उनको रोजाई बोसेन्डोर्फर २९० इम्पेरियल कन्सर्ट ग्रान्ड पियानो थियो तर ओपेरा हाउसका स्टाफले रिर्हसलका लागि राखिएको अर्कै पियानो उपलब्ध गराएका थिए । पियानो सानो थियो । अपर रेजिस्टर पातलो र दबिएको थियो भने बास रेजिस्टर कमजोर । पेडलले राम्रोसँग काम गरिरहेको थिएन । पियानो घण्टौँ लगाएर मर्मत गर्नुपर्ने  देखिन्थ्यो । पियानो बज्न त बज्थ्यो तर किथले सोचेजस्तो काम हुन सक्ने देखिएन । त्यसैले किथले भेरालाई भने, ‘हेर भेरा, तिम्रो पियानो ठीक छैन । यस्तो बिग्रेको, कमसल र रद्दी पियानोबाट म कन्सर्ट दिन सक्तिनँ ।’
भेराका लागि जेरेटको यो भनाइ आतंकित पार्ने किसिमको थियो । हाउसफुल भइसकेको सो पनि गर्न सक्तिनँ भन्ने टिप्पणीपछि भेराले त केही सोच्नै सकिनन् । किथले भने, ‘मैले भनेकै पियानो ल्याऊ, त्यतिञ्जेल म आराम गर्छु ।’ किथ ओपेरा हाउसबाहिर आफ्नो गाडीमा आराम गर्न गए ।
भेरा त विचलित नै भइन् । कन्र्सट सुरु हुन केही घण्टा मात्रै बाँकी थियो । उनी दबाबमा परिन् । कन्र्सट नै रद्द हुने अवस्था सिर्जना भएकाले उनी चिन्तित भइन् । उनले वैकल्पिक पियानो पनि हेरिन् तर चित्त बुझेन । प्रयासहरु असफल भएपछि उनी निराश हुँदै किथकहाँ पुगिन् । उनले भनिन्, ‘मैले तपाईंले भनेजस्तो पियानो खोज्न सकिनँ । तपाईंले त्यही पुरानै पियानोलाई बजाउनु पर्ने भयो ।’ किथले भने, ‘हेर नानी, म त्यो पत्रु चिज बजाउन सक्तिनँ । तिमीले गर्नुपर्ने व्यवस्था गरेनौ, यसको दोष मलाई नदेऊ ।’
किथको असहजताका लागि भेराले माफी मागिन्, बिन्तीभाउ गरिन्, दुई हात जोडिन् । कुनै पनि अवस्थामा कन्सर्ट सफल बनाउन अनुरोध गरिन् । अन्त्यमा केही नलाग्ने भएपछि भेराले भनिन्, ‘सुन्नुस् सर, मान्छेले पियानो बजाउने होइन, पियानो जस्तोसुकै भए पनि मानिसको कलाले त्यो बज्ने हो । तपाईंमा कला छैन भने जस्तोसुकै राम्रो पियानोबाट पनि ढंगको आवाज निस्कदैन । बेढंगको पियानोबाट एउटा साँचो कलाकारले साँच्चिकै राम्रो कला देखाउन सक्छ । मैले गर्नुपर्ने प्रयास गरेँ, मेरो नियतमा खोट छैन । अब यो कन्सर्ट रद्द हुँदैन । तपाईं वास्तविक कलाकार हो कि होइन, यो कन्सर्टले बताउँछ ।’
यसपछि एउटी फुच्चीको चुनौती किथले स्वीकारे । उनले भेराको आँखामा आँखा जुधाएर भने, ‘यो क्षण कहिल्यै नभुल्नू । आजको प्रस्तुति केवल तिम्रा लागि गर्नेछु ।’
केही घण्टापछि हल भरियो । कन्र्सट सुरु हुने कौतुहल सबैमा थियो । ज्यारेट स्टेजमा आए । गुञ्जायमान ताली बज्यो । उही गुणस्तरहीन पियानो अगाडि बसे । यसपछि त उनका औँलाहरु पियानोका किबोर्डमा नाच्न थाले । क्षण भरमै दर्शकहरुले उनको चमत्कारी प्रस्तुतिको सङ्केत पाइहाले । त्यस खाले ध्वनि पियानोका पारखीहरुले कहिल्यै सुन्ने मौका पाएका थिएनन् । उनीहरुका लागि यो नौलो थियो । त्यस प्रस्तुतिमा ज्यारेटले पियानोको अपर रेजिस्टरलाई बेवास्ता गरिदिए । पियानोको मध्य भागमा मात्र आफ्नो ध्यान केन्द्र्रित गरे । इम्प्रोभाइज गरिएको संगीत पस्के । जसकारण कहिले शान्त र मिठो आवाज आउँथ्यो त कहिले पूर्ण ऊर्जाको अनुभूत गराउँथ्यो । किथ कहिले उभिएर किबोर्ड चलाउथेँ त कहिले बसेर । कन्र्सट अवधि भर सांगीतिक ऊर्जा कम हुन दिएनन् ।
यो कन्सर्टको रेकर्ड बजारमा आउँदा पनि इतिहासकै बेस्ट सेलिङ पियानो एल्बम र बेस्ट सेलिङ एकल ज्याज एल्बमका रुपमा दरियो ।
कन्सर्टअघि किथले थोत्रो पियानोको अनावश्यक झन्झट र फ्लप भइने जोखिम लिन चाहेका थिएनन् । हुन पनि नराम्रो टुल्सबाट कोही पनि राम्रो काम गर्न चाहदैनन् । तर पछि उनले सोच परिवर्तन गरे । उनलाई चुनौती दिइएको थियो, त्यसलाई स्वीकारे र आफ्नो क्षमता प्रदर्शन गरे । त्यसैले आइपरेका सानातिना चुनौतीलाई पन्छाउने होइन, त्यससँग भिड्नुपर्छ ।
कग्निटिभ साइकोलजीमा गरिएका विविध अध्ययनले पुष्टि गरेका छन्, बाधा र झमेलाका बेला गरिएका कामले पनि केही नवीनता ल्याउन सक्छ । कुनै चिज बिग्रिएको छ भन्नुको अर्थ त्यसले काम नै गर्दैन भन्ने होइन । प्रयोगमा ल्याउन सक्ने खुबी हामीमा हुनुपर्छ । सधैँ सजिलो नखोजौँ । भने जस्तो नहुन सक्छ । चुनौतीसँग भिडौँ ।
नबज्ने पियानो बजाउन तपाईं कत्तिको इच्छुक हुनुहुन्छ ?

 

Leave A Comment